ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उडान गन्तव्य विस्तारलाई तीव्रता दिँदै यती एयरलाइन्स

धनगढीमा पनि उडान गर्ने तयारी 

Jul 29, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं  । नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गर्दै निजीक्षेत्रको वायुसेवा कम्पनी यती एयरलाइन्सले गन्तव्य विस्तारलाई तीव्रता दिएको छ । हालै पोखरालाई ‘बेस’ बनाएर तीनओटा गन्तव्यमा उडान गर्ने घोषणा गरेको उक्त कम्पनीले धनगढीमा पनि उडान गर्ने योजना अघि सारेको छ । 

कम्पनीका वरिष्ठ प्रवन्धक तथा प्रवक्ता भीमराज राईले आगामी २÷३ महीनाभित्र धनगढीमा उडान गर्ने तयारी भएको जानकारी दिएका हुन् । उनका अनुसार केही वर्षको ‘ग्याप’लाई अन्त्य गर्दै यतीले पुनः धनगढीमा उडान गर्ने भएको हो । यतीले केही वर्षदेखि काठमाडौं–धनगढीको उडान बन्द गरेको थियो । 

गत साता कम्पनीले पोखरा बेस बनाएर पोखरा–भैरहवा, पोखरा–भरतपुर र पोखरा–माउन्टेन फ्लाइट (अन्नपूर्ण हिमशृंखला)मा सिधा उडान गर्ने घोषणा गरेको थियो । उक्त कम्पनीले पोखरा–भैरहवा उडान साउन १६, पोखरा–भरतपुर भदौ १५ र पोखरा–माउन्टेन फ्लाइट (अन्नपूर्ण एक्सप्रेस) भदौ २९ गतेदेखि उडान गर्दै छ ।

गन्तव्य विस्तारलाई तीव्रता दिँदै आएको यतीले विमानको संख्या पनि बढाएको छ । शनिवार यतीले नयाँ एटीआर७२–५०० फ्लीटको जहाज थपेको छ । कल साइन ‘९एन–एएनजी’को उक्त जहाजको सीट क्षमता ७२ रहेको छ । यतीसँग अहिले बिएई (ब्रिटिश एरोस्पेश) जेटस्ट्रिम ४१ जहाज ६ ओटा र शनिवार थपिएको एटीआर ७२–५०० सहित एटीआर जहाजको संख्या पाँच पुगेसँगै कम्पनीमा जहाजको संख्या ११ पुगेको छ ।  

गन्तव्य विस्तार गर्दै जाँदा जहाज पनि थप गरिएको कम्पनीले उल्लेख गरेको छ । नेपाल भ्रमण वर्ष–२०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको घोषणालाई गन्तव्य विस्तार र जहाज थप गर्ने कार्यले सहयोग पुग्ने कम्पनीको भनाइ छ । हाल यतीले काठमाडौं, भैरहवा, पोखरा, जनकपुर, भरतपुर, नेपालगञ्ज, तुम्लिङटार, भद्रपुर, विराटनगरलगायतमा नियमित उडान गर्दै आएको छ ।

धवलागिरि र अन्नपूर्णलाई गन्तव्य बनाउँदै बुद्ध
हाल ट्रंक (सुगम) रूटमा उडान गर्दै आएको निजीक्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर प्रालिले स्टल (पहाडी) रूटमा उडान गर्ने भएको छ । कम्पनीले असोज १४ गते अर्थात् १ अक्टोबरदेखि माउन्टेन्ट फ्लाइट (अन्नपूर्ण र धवलागिरि) गर्ने भएको छ ।

कम्पनीका अनुसार ती दुई गन्तव्यको उडान पोखरा बेस भएर हुनेछ । फ्लाइटको समय साढे १ घण्टाको हुनेछ भने बिहान ६ बजेर ३० मिनेटमा त्यसतर्फ उडान हुनेछ । कम्पनीले अहिले आफूसँग भएका विचक्राफ्ट १९००डी मार्फत उडान गर्ने कम्पनीका मार्केटिङ म्यानेजर रूपेश जोशीले जानकारी दिए । उक्त जहाजको सीट क्षमता १९ रहेको छ भने कम्पनीसँग दुईओटा विचक्राफ्ट छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)