साउन १३, धनगढी। सुदूरपश्चिम प्रदेशको प्रमुख भन्सार नाका कैलाली भन्सारबाट विभिन्न सामग्रीको आयात वर्षेनि बढ्दो छ । निर्यात घट्दो क्रममा देखिएका बेला आयात भने वर्षेनि दोब्बरले बढ्दै गएको पाइएको हो ।
यो नाकाबाट आयात सामाग्री अर्ब रुपियाँमा छ भने निर्यात करोडमा रहेको छ । आर्थिक वर्ष २०७४/ ०७५ मा रू.१६ अर्ब ३८ करोड ६८ लाख ६० हजार बराबरका विभिन्न वस्तु आयात हुँदा निर्यात रू.६२ करोड ७३ लाख ८५ हजार बरावरको रहेको कैलाली भन्सार कार्यालय धनगढीको तथ्यांकले देखाएको छ ।
कार्यालयका अनुसार आयातको तुलनामा निर्यात निकै न्यून हो । कैलाली भन्सार कार्यालयका सुचना अधिकारी गोपीकृष्ण उप्रेतीले भने, ‘आयात अर्ब देखिन्छ भने निर्यात करोडमा छ ।’ निर्यातको तुलनामा आयात वर्षेनि करीब दोब्बरले बढेको पाइएको उनले बताए । आर्थिक वर्ष २०७५/ ०७६ मा विभिन्न मालवस्तु गरी रू.२१ अर्व ६३ करोडको आयात हुँदा निर्यात भने रू.७८ करोड ७२ लाख वरावरको मात्रै भएको छ ।
आयातको तुलनामा निर्यात भने घट्दो क्रममा देखिएको कार्यालयको भनाइ छ । अघिल्लो आवमा रू.३ अर्व ९७ करोड ३४ लाख ६६ हजार राजस्व संकलन गरेको भन्सार कार्यालय कैलालीले गत आवमा रू.५ अर्व १९ करोड ७५ लाख १९ हजार संकलन गरेको छ ।
यो नाकाबाट सवैभन्दा बढि पेट्रोलियम पदार्थ आयात हुने गरेको छ । कुल आयातको झण्डै ४५ प्रतिशत आयात पेट्रोलियम पदार्थ रहेको कार्यालयको तथ्यांक छ । कैलाली र कञ्चनपुरको गड्डाचौकी नाकाबाट तरकारी आयात पनि वर्षेनि बढ्दै गएकाले तरकारीमा पनि भारतकै भर पर्नुपर्ने स्थिति रहेको अधिकारीहरु बताउँछन् ।
कैलाली भन्सार नाकाबाट मात्रै आव २०७५/ ०७६ मा ६५ हजार ३३६ मेट्रिकटन टन तरकारी तथा ७४ हजार ५०२ मेट्रिकटन फलफूल आयात भएको तथ्यांक छ ।