ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

यूरोपमा वैदेशिक रोजगारी अझै अनिश्चित

टर्की बाहेकका यूरोपेली मुलुकसँग श्रम सम्झौता प्रक्रिया अन्योलमा

Jul 30, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । सरकारले वैदेशिक रोजगारीका नयाँ गन्तव्यका रूपमा यूरोपेली मुलुकमा नेपाली कामदार पठाउने बताउँदै आए पनि श्रम सम्झौता भने हुन सकेको छैन । सरकारले नयाँ गन्तव्यका रूपमा जर्मनी, पोर्चुगल, पोल्यान्ड, रोमानिया, टर्की, साइप्रस लगायत देशसँग श्रम सम्झौताका लागि कूटनीतिक नियोग मार्फत छलफल गरिरहेको बताए पनि ठोस परिणाम अझै आउन सकेको छैन ।  

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव उमेश ढुंगानाका अनुसार जर्मनी, पोर्चुगल, पोल्यान्ड, रोमानिया लगायत देशसँग सामान्य छलफल भए पनि टर्कीसँग मात्रै श्रम सम्झौताका लागि प्रक्रिया अघि बढ्ने क्रममा छ । टर्कीसँग श्रम सम्झौताका लागि नेपाली नियोग मार्फत ड्राफ्ट पठाउने अन्तिम तयारी भइरहेको उनले बताए । पानीजहाज, क्रुज लगायत क्षेत्रमा टर्की रोजगारका लागि आकर्षक मानिन्छ । २०७५ जेठमा यूरोप भ्रमणका क्रममा स्वीट्जरल्यान्डको जेनेभामा पुगेको बेला प्रधानमन्त्री केपी ओली, श्रममन्त्री गोकर्ण विष्ट सहितको टोलीले त्यहाँ स्थित राष्ट्रसंघीय भवनमा टर्कीका उपराष्ट्रपति फुआत ओक्तेसँग भेटवार्ता गरी श्रम सम्झौताका बारेमा छलफल गरेको थियो । सो भेटमा नेपाली कामदार लिन टर्की सकारात्मक बनेको श्रम मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

मन्त्रालयका अनुसार जर्मनी स्वास्थ्य क्षेत्रमा नेपाली कामदार लिन चाहन्छ । जर्मनीस्थित नेपाली दूतावासले त्यसबारेमा जर्मन सरकारसँग छलफल गर्न श्रम मन्त्रालयमा पत्राचार पनि गरेको थियो । तर, मन्त्रालयको टोली जर्मनी जान नसकेको मन्त्रालयका अधिकारीहरूले बताए । पोर्चुगलमा नेपाली कामदार पठाउनेबारे गतवर्ष त्यहाँका मन्त्रीसँग कुराकानी भएको थियो । त्यसबेला कामदार लिनेबारे छलफल गर्न पोर्चुगल तयार देखिए पनि कूटनीतिक नियोगबाट फलोअप नहुँदा त्यसपछि यसबारे कुनै छलफल नै हुन नसकेको मन्त्रालय स्रोत बताउँछ । 

श्रम मन्त्रालयका अनुसार साइप्रस, पोल्यान्ड लगायतका मुलुकले निर्माण तथा कृषिक्षेत्रमा नेपाली कामदार लिन इच्छा व्यक्त गरेका छन् तर त्यसबारे परिणाममुखी छलफल गर्न सरकारले पहलै गरेको छैन । यूरोपका यी मुलुकमा अहिले आधिकारिक रूपमा श्रम स्वीकृति लिई रोजगारीका लागि जाने नेपालीको संख्या अत्यन्त कम छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षमा जर्मनीका लागि ९३ जना, पोर्चुगलका लागि ४६१ जना, पोल्यान्डका लागि ११९५ जना, रोमानियाका लागि १२३९ जना र टर्कीका लागि १५३२ जनाले श्रम स्वीकृति लिएका थिए । 

वैदेशिक रोजगारीका लागि नेपाल अहिले खाडी मुलुकहरूमा निर्भर छ ।

उक्त निर्भरता तोड्न भन्दै सरकारले हाल मलेशियाका लागि नेपाली राजदूत उदयराज पाण्डेको संयोजकत्वमा गत वर्ष नयाँ गन्तव्य मुलुक पहिचान कार्यदल बनाएको थियो । 

पाण्डेको नेतृत्वमा गठित कार्यदलले यूरोपका मुलुकहरूमा पोर्चुगल, चेक गणतन्त्र, रोमानिया, पोल्यान्ड, स्वीडेन र डेनमार्क लगायत देश नेपालीका लागि नयाँ श्रम गन्तव्य हुन सक्ने सिफारिश गरेको थियो । यी देशमा सेवाक्षेत्र, कृषि तथा उत्पादन क्षेत्रमा श्रमिकको माग उच्च रहेकाले ती देश नेपाली श्रमिकका लागि उपयुक्त हुन सक्ने सुझाव कार्यदलको थियो । 

यूरोपेली देशको आर्थिक स्थिति तुलनात्मक रूपमा बलियो देखिएको भन्दै ती देश वैदेशिक रोजगारीका नयाँ गन्तव्य हुन सक्ने कार्यदलको निष्कर्ष रहे पनि कूटनीतिक पहलमा सरकार चुक्दा श्रम सम्झौतामा ढिलाइ भइरहेको वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङ बताउँछन् । ‘सरकारले आफ्ना नियोगहरू मार्फत यूरोपका देशहरूसँग श्रम सम्झौता गर्न कुनै कसर बाँकी नराखी प्रयत्न गर्नुपथ्र्याे, तर सरकारी तवरबाटै प्रयत्न भएको देखिँदैन,’ गुरुङले भने । सरकारी उदासीनताका कारण नेपालले ठूलो लाभ लिन सक्ने देशहरूसँगको सम्झौता टाढिँदै गएको उनको बुझाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)