ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१३ जीवन बीमा कम्पनीको बोनसदर सार्वजनिक

बीमितले रू. २० देखि रू. ८७ सम्म बोनस पाउन सक्ने, गुराँस लाइफको सबैभन्दा बढी 

Jul 30, 2019  
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मिलन विश्वकर्मा

काठमाडौं । १९ जीवन बीमा कम्पनीमध्ये १३ ओटा कम्पनीले आप्mना ग्राहक (बीमित) लाई दिने बोनसदर सार्वजनिक गरेका छन् । कम्पनीहरूले आर्थिक वर्ष (आव) २०७४/७५ का लागि बीमा समितिबाट स्वीकृत बोनसदर सार्वजनिक गरेका हुन् । बोनसदर सार्वजनिक गर्ने कम्पनीमध्ये सात नयाँ कम्पनी छन् । जीवन बीमा बजारमा नयाँ कम्पनी १० ओटा छन् । त्यसमध्ये महालक्ष्मी लाइफ इन्स्योरेन्स हालैमात्र सञ्चालनमा आएकाले बोनसदर सार्वजनिक गर्ने समय आएको छैन । बोनसदर सार्वजनिक गर्न बाँकी कम्पनीहरूमा युनियन, रिलायवल, प्राइम, एशियन र राष्ट्रिय बीमा संस्थान छन् । 

मुनाफा, बीमालेखको संख्या, पोलिसी ल्याप्स, सम्भावित जोखीम लगायतका आधारमा कम्पनीहरूले बीमांकीय मूल्यांकन अमार्फत प्रत्येक वर्ष बोनसदर निर्धारण गर्नुपर्छ । बोनसदर हरेक वर्ष परिवर्तन भएको पाइन्छ । यो प्रतिहजारमा गणना हुन्छ । कम्पनीको पोलिसी र बीमा अवधिको आधारमा विभिन्न बीमालेखको बोनसदर फरक फरक हुनसक्छ । बोनसदर कायम गर्दा भने बीमितले तिरेको बीमाशुल्कले कुनै प्रभाव पार्दैन । बीमितको बीमांकको आधारमा नै प्रत्येक वर्ष तोकिएको बोनस रकम पाउन सक्छन् । बीमा अवधि सकिएपछि बीमितले बीमांकसहित प्रत्येक वर्ष आर्जित बोनस रकम एकमुष्ट पाउँछन् ।

कम्पनीहरूले बीमालेखको प्रकार र बीमा अवधिका आधारमा छुट्टाछुट्टै बोनसदर सार्वजनिक गरेका छन् । उनीहरूले न्यूनतम रू. २० देखि अधिकतम ८७ रुपैयाँसम्मको (प्रतिहजारमा) रेन्जमा बोनसदर सार्वजनिक गरेको देखिन्छ । नयाँ कम्पनीहरूले भने न्यूनतम रू. २० देखि अधिकतम ७० रुपैयाँसम्मको रेन्जमा बोनसदर सार्वजनिक गरेको समितिको तथ्यांकले देखाउँछ । 

घोषित बोनसदरमध्ये सबैभन्दा बढी गुराँस लाइफ इस्योरेन्सको छ । गुराँस लाइफले प्रतिहजार ८७ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ । गुराँसले २५ वर्ष वा सोभन्दा बढी अवधि भएको बीमालेखमा उक्त रकम बराबरको बोनस दिनेछ । यसअघि नेपाल लाइफ, एशियन लाइफ र एलआईसी नेपालले सर्वाधिक बोनसदर घोषणा गरेका थिए । यसपटक गुराँस ती कम्पनीलाई पछि पार्दै बीमाबजारकै सर्वाधिक बोनसदर घोषणा गर्न सफल भएको छ । कम्पनीहरूले २५ वर्षभन्दा बढी बीमाअवधि भएका बीमालेखहरूमा उच्च बोनस दर तोकेका छन् । लामो बीमाअवधिको बीमालेखबाट कम्पनीलाई बढी फाइदा हुने कारण बोनस पनि बढी दिने गरेको कम्पनीहरूको भनाइ छ । 

धेरैजसो ग्राहकले भने १५ देखि २० वर्ष अवधिका बीमालेख बढी खरीद गर्र्ने गरेका छन् । कम्पनीहरूले आफ्नो अधिकतम बोनसदरलाई मात्र प्राथमिकतामा राखेर प्रचार गर्दा ग्राहकमा भ्रम सृजना भएको विज्ञहरू बताउँछन् । कम्पनीहरूले मिडिया मार्फत यसको प्रचार गर्दा विस्तृत रूपमा जानकारी दिनुपर्ने बीमा विज्ञ भोजराज शर्माको भनाइ छ ।  

बढ्दै छ बोनसदर 
बीमा व्यवसाय र कम्पनीहरूको मुनाफा बढेसँगै बोनसदर पनि बढ्दै गएको छ । आव २०६८/६९ मा सीमित कम्पनीबाहेक अधिकांश कम्पनीले प्रतिहजार रू. ५० सम्म मात्र बोनस घोषणा गरेका थिए । तर, आव २०७४÷७५ सम्म आउँदा सबै कम्पनीको अधिकतम बोनसदर रू. ७० भन्दा माथि पुगेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)