साउन १४, काठमाडौं । नेपाल सरकारले मलेशिया सरकारसँग गरेको श्रम सम्झौता कार्यान्वयन नभएपछि म्यानपावर व्यवासायी आन्दोलित भएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमा उनीहरुले मंगलवार बबरमहलस्थित वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण धर्ना पनि दिएका छन् ।
सरकारले वि.सं. २०७५ जेठ २ गते मलेशिया रोजगारीमा अन्तिम श्रम स्विकृति दिन रोक लगाएको थियो । त्यसपछि सरकारले गत कार्तिक १२ गते मलेशिया सरकारसँग श्रम सम्झौता गर्यो । उक्त श्रम सम्झौतामा मलेशियाले नेपाली कामदार निःशुल्क रुपमा लैजाने व्यवस्था छ । तर, उक्त श्रम सम्झौताअनुसार अझै नेपाली कामदार त्यहाँ पुग्न सकेका छैनन् ।
साथै, म्यानपावर व्यवसायीको व्यवसाय पनि धरापमा परेको छ । आफ्नो व्यवसाय नै धरापमा परेपछि व्यवसायीहरूले सरकारलाई यथाशिघ्र मलेशियाको लागि अन्तिम श्रम स्वीकृति खोल्न आग्रह गरेका हुन् । एक व्यवसायीले भने, ‘कि सरकारले नेपाली कामदारलाई मलेशिया पठाउन सक्दैनौ भनेर लिखित रूपमा नै कारण देखाउन पर्यो, होइन भने नेपालीको रोजीरोटीसँग जोडिएको मलेशिया रोजगारीलाई रोक लगाउन हुँदैन ।’ सरकारले म्यानपावर व्यवसायलाई पनि प्रोत्साहन गर्न चाहदैन भने लाइसेन्स सरकारलाई नै जिम्मा लगाउने उनको भनाइ छ ।
संघका अध्यक्ष रोहन गुरूङले म्यानपावर व्यवसायीको मागप्रति सरकार संवेदनशील नभएको बताए । ‘म्यानपावर व्यवसायीले सरकारले दिएको सबै मापदण्ड पूरा गरे छन्, सरकारले धरौटीको सीमा न्यूनतम २ करोड पुर्याउँदा पनि हामीले स्वीकार गरेका छौं,’ उनले भने, ‘तर, सरकारले म्यानपावर व्यवसायीको कुनै पनि माग सुन्न चाहेको देखिदैन ।’
साथै, व्यवसायीहरूले धरौटीमा राखेको पैसाको पनि ब्याज पाउनुपर्ने उनको भनाइ छ । ‘बीमा कम्पनी र शैक्षिक संस्थाले धरौटीमा राखेको पैसाको ब्याज पाउँछन्, हामीले किन नपाउने ?’ उनले भने, ‘२५ प्रतिशत रकम सरकारले लैजान्छ भने ७५ प्रतिशत धरौटीको ब्याज पाउनुपर्छ ।’
यस्तै, संघका प्रथम उपाध्यक्ष रामप्रसाद भन्तनाले मलेशिया रोजगारीका लागि श्रम स्वीकृति बन्द भएपछि व्यवसायीहरु संकटमा परेको बताए । तत्काल श्रम स्वीकृति खुला नगरे निकट भविष्यमा यस थप समस्या निम्त्याउने उनको भनाइ छ । उनले भने, ‘१४ महीनादेखि अघोषित रूपमा कार्यालय बन्द गरेर बस्नु परेको छ । मलेशिया रोजगारी खुल्दैन भने हामीलाई अर्काे क्षेत्रमा जाने समय दिनुस् ।’
धर्नापछि व्यवसायीहरूसँगको छलफलमा बैदिशिक रोजगार बिभागका महानिर्देशक भिष्मकुमार भुसालले मलेशियाको रोजगारी बन्द नहुने आश्वासन दिए । ‘मलेशिया रोजगार खुलाउने प्रक्रिया अगाडि बढेको छ । तर, यसै दिन खुल्छ भनेर भन्न सकिने अवस्था छैन,’ उनले भने, ‘यस विषयमा अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा छलफल भइरहेको छ । व्यवसायीहरुले यस विषयमा मन्त्रालयसँग बुझ्दा थप जानकारी पाउन सक्नुहुनेछ ।’
मलेशियासँगको श्रम सम्झौताको कार्यान्वयन सम्बन्ध्मा उनले आर्थिक अभियानसँग भने, ‘अहिले मन्त्रालयले मेडिकल इन्स्टिच्युट छनोट गर्ने काम भइरहेको छ । त्यसपछि प्राविधिक समितिको बैठक भएपछि निर्णायक तहमा पुगिन्छ ।’