ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आयातकर्ता फकाउँदै कोलकाता बन्दरगाह 

‘सिपिङ कम्पनीको मनोमानीले ढुवानी लागत महँगो’

Jul 31, 2019  
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । कोलकाता बन्दरगाहमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम (ईसीटीएस) लागू भएयता ढुवानी लागत झन् बढेको भन्दै आयातकर्ता प्रतिस्पर्धी बन्दरगाहतिर जान थालेपछि कोलकाता बन्दरगाह आयातकर्तालाई मनाउन लागिपरेको छ । मंगलवार कोलकाता पोर्ट ट्रस्टका अध्यक्ष विनीत कुमारले वीरगञ्जका व्यवसायीलाई भेटेर कोलकाता बन्दगाहमा देखिएका जटिलता चाँडै समाधान हुने बताए । सिपिङ कम्पनीबीच प्रतिस्पर्धा बढाएर ढुवानीको लागत घटाउने उपायमा लागेको अध्यक्ष विनीत कुमारले सुनाए । 

तेस्रो मुलुकसँगको व्यापारमा नेपाली आयातकर्ताले अधिक प्रयोगमा ल्याएको कोलकाता बन्दरगाहबाट पछिल्लो समय रेलवे ढुवानी असहज बनेको छ । कोलकाता बन्दरगाहको भन्सार प्रक्रिया र कस्टम हाउस एजेन्ट (सीएचए) को भूमिका हटाएर समय र लागत घटाउने उद्देश्यले लागू गरिएको ईसीटीएसले ढुवानी खर्च बढेको आयातकर्ताले बताएका छन् । 

गत फागुन ३ गतेदेखि शुरू भएको ईसीटीएस चैत १७ गतेदेखि रेलवे मार्फत हुने कन्टेनर ढुवानीमा अनिवार्य गरिएको थियो । तर, वस्तुको उत्पत्तिदेखि गन्तव्यसम्म ढुवानी दिने जिम्मा लिएका सिपिङ कम्पनीले भाडामा मनपरी गरेपछि ढुवानीको लागत प्रतिकन्टेनर ४० हजार रुपैयाँसम्म बढेको छ ।

कोलकाता भन्सारले लागू गरेको यो प्रणालीविरुद्ध कोलकाताको नेपाल कस्टम हाउस एजेन्ट एशोसिएशन अदालत पुगेको थियो । कोलकाता उच्च अदालतले रेलवे मार्फत हुने ढुवानीमा अनिवार्य गर्न नमिल्ने आदेश गरेपछि यो प्रणाली अहिले ऐच्छिक बनेको छ । तर, ईसीटीएसविनै कस्टम ट्रान्जिट डिक्लियरेन्स (सीटीडी)बाट पास हुने कन्टेनर ढुवानीमा बन्दरगाह प्रशासनले झमेला खडा गरेको आरोप आयातकर्ताको छ । 

कोलकाताबाट रेलमार्फत हुने ढुवानीको खर्च बढी पर्न थालेपछि आयातकर्ता वीरगञ्जबाट तुलनात्मक दोब्बर दूरीको भारत आन्ध्र प्रदेशस्थित विशाखापत्तनम् बन्दरगाहतिर जान थालेका छन् । ईसीटीएस लागू भएयता रेलबाट हुने कार्गो आवागमनको तथ्यांकले कोलकाताको ट्रान्जिट विशाखापत्तनम् बन्दरगाहमा केन्द्रित भएको देखिन्छ । वीरगञ्ज सुक्खा बन्दरगाहबाट कोलकाता ७ सय किलोमीटरको दूरीमा छ भने विशाखापत्तनम् १४ सय किलोमीटरमा पर्छ । 

ईसीटीएस लागू भएको सन् २०१९ फेब्रुअरी महीनामा कोलकाताबाट वीरगञ्जका लागि ३० ओटा र्‍याक कन्टेनर आएकोमा यो परिमाण जुन महीनामा १५ ओटामा झरेको छ । वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालक हिमालयन टर्मिनल प्रालिका अनुसार जुन महीनामा विशाखापत्तनम्बाट ३२ र्‍याक कन्टेनर आएका छन् । यो संख्या गत फेब्रुअरीमा १६ मात्र थियो । 

आयातकर्ताहरूसितको अन्तरक्रियामा अध्यक्ष विनीत कुमारले कोलकातामा ईसीटीएस लागू भएयता सिपिङ कम्पनीले पूर्वाधार बनाउन समय लागेकाले आयातकर्ता विशाखापत्तनम् तर्फ गएको दाबी गरे । ‘यो प्रणाली बसाउनै ३ महीनाभन्दा बढी समय लाग्यो । निकट भवष्यमा सहज हुनेबित्तिकै कोलकातामै फर्किन्छन्,’ उनले भने । 

कोलकातामा भन्सार प्रक्रिया हटाएर नेपालको वैदेशिक व्यापारका आयामलाई प्रभावकारी र पारदर्शी बनाउन ईसीटीएस लागू गरिएको भनाइ पोर्ट अधिकारीको छ । यसअघि कोलकातामा हुने भन्सार प्रक्रिया अब सीमावर्ती भारतीय रक्सौल भन्सारमा भइरहेको छ । तर, कोलकातामा एजेन्ट हटाए पनि सिपिङ कम्पनीका एजेन्ट कायमै रहेको र खर्च झन् बढेको आयातकर्ता प्रदीप केडियाले बताए ।

विश्वव्यापी रूपमा काम गरिरहेका सिपिङ कम्पनीको मनोमानीबाट भारतीय व्यापारी पनि पीडित भएको भन्दै अध्यक्ष विनीत कुमारले कोलकातामा भाडा घटाउनेबारेमा २ पटक छलफल भइसकेको बताए । ईसीटीएस कार्यान्वयनमा आएका बेला २ ओटा कम्पनीमात्र ढुवानीमा सहभागी भएकोमा अहिले यो संख्या ६ पुगिसकेकाले प्रतिस्पर्धा बढेपछि लागत कम हुने उनले बताए । 

पोर्ट टेस्टले टर्मिनल हेन्डेलिङ शुल्क भारतीय रुपैयाँ (भारू) ६ हजार लिने गरेकोमा सिपिङ कम्पनीले भारू १० देखि १२ हजारसम्म असुलेको बताउँदै आयातकर्ता पनि यसमा सचेत हुनुपर्ने बताए । भारतीय कन्टेनर निगम लिमिटेड (कोन्कर)ले कोलकातादेखि वीरगञ्जसम्मको प्रतिकन्टेनर भाडा भारू ५४ लिन्छ । तर, सिपिङ कम्पनीले भारू ७० देखि ८० हजारसम्म लिएको भेटिएको पनि उनले बताए । 

विशाखापत्तनम् बन्दरगाह प्रतिस्पर्धामा आएपछि कोलकाताले २ वर्षमै ३० हजार वर्गमीटर बन्दरगाह विस्तार गरेको छ । पहिला ६ हजार ५०० कन्टेनर व्यवस्थापन गर्न सकिनेमा अब १२ हजार कन्टेनरको क्षमता पुगेको छ । कन्टेनर फ्रेट स्टेशन (सीएफएस) मा कन्टेनर राख्दा आयातकर्ताले भारू २० हजारसम्म तिर्नु परेको थाहा पाएपछि बन्दरगाहमै प्रतिदिन भारू ३ सयमा राख्न दिइएको पनि उनले बताए ।

अहिलेसम्म कोलकातामा पूरा र्‍याक लोड गर्न नसकिनेमा आउँदो अक्टोबरपछि एकै पटक लोग गर्न सकिने गरी पूर्वाधार मिलाएको बताइएको छ । कोइला आयातमा हल्दिया बन्दरगाहमा ६ महीनासम्म निःशुल्क भण्डार गर्न दिएको छ । अहिले त्यहाँ २ लाख ५० हजार मेट्रिकटन कोइला रहेको बन्दरगाहले बताएको छ । 

अन्तरक्रियामा सहभागी नेपाल उद्योग वाणिज्य महासंघ यातायात तथा पारवहन समितिका अध्यक्ष अशोक टेमानीले कोलकाता बन्दरगाहले आयातकर्ताका समस्या समाधानमा सहजीकरण गर्नुपर्ने बताए । उनले कोलकाता पोर्ट ट्रस्टको नेतृत्व समस्याको निकासमा गम्भीर देखिएको उल्लेख गरे । 

वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोधकुमार गुप्ताले कोलकातामा लागू भएको ईसीटीएसपछि पनि ढुवानी खर्च न्यूनीकरण नभएर आयातकर्ता चिन्तित भएको बताए । उनले कोलकाताबाट आयातकर्ता विशाखापत्तनम्तिर जान थालेको भन्दै यो नेपालको समुद्रपार व्यापारका लागि सकारात्मक संकेत नभएको टिप्पणी पनि गरे ।

संघका पूर्व अध्यक्षसमेत रहेका केडियाले ढुवानी लागतमा भइरहेको वृद्धिका कारण नेपालको निर्यात नबढेको बताए । नेपालको उद्योग र व्यापारलाई प्रतिस्पर्धी बनाउन ढुवानीको खर्च घटाउनुपर्नेमा ईसीटीएसपछि झन् बढेको बताए । यसको निकासमा कोलकाता बन्दरगाहले सहजीकरण गर्नुपर्ने सुझाव केडियाले दिए । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)