ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटनमन्त्रीमा भट्टराई नियुक्त

निजगढ विमानस्थल आफ्नै कार्यकालमा निर्माण गर्ने दाबी

Aug 1, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई मन्त्रालयमा स्वागत गरिँदै । तस्वीर : रासस
author avatar टीपी भुसाल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टरार्ई नियुक्त भएका छन् । भट्टराईले बुधवार नै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथ लिए । गतवर्ष फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि उक्त मन्त्रालयको जिम्मेवारी स्वयम् प्रधानमन्त्रीले सम्हाल्नुभएको थियो । 

ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित भट्टराई विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । ताप्लेजुङको मौवाखोला गाउँपालिका–३ का स्थायी बासिन्दा भट्टराई २०४६ सालदेखि अनेरास्ववियु केन्द्रीय कमिटीमा काम शुरू गरेर संगठनको कार्यालय सचिव, प्रचार विभाग प्रमुख, सचिव र महासचिव हुँदै २०५१ देखि २०५६ सालसम्म अध्यक्ष बनेका थिए । २०६५ फागुनमा बुटवलमा सम्पन्न एमालेको आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित उनी नवौं महाधिवेशनबाट सचिव तथा नेकपा र माओवादी  पार्टी एकीकरण भएपछि नेकपाको केन्द्रीय सदस्य छन् ।

चुनौती धेरै
योगेश भट्टराई यस्तो समयमा मन्त्री नियुक्त भएका छन्, जति बेला पर्यटन क्षेत्रमा गर्नुपर्ने धेरै काम चाङ लागेर बसेका छन् । नेपाल भ्रमण वर्ष शुरू हुन केही महीना मात्र बाँकी छ । अर्कातर्फ पूर्वमन्त्री रवीन्द्र अधिकारीले शुरू गरेका तर सम्पन्न नभएका कामहरूलाई समयमै सम्पन्न गर्नु उनको मुख्य चुनौती रहेको छ । निर्वाचनअघि चुनावी सभामा ओलीले भट्टराईलाई जिताएर पठाएमा आफूले मन्त्री बनाएर पठाउने बताउनुभएको थियो । तर, भट्टराई ओलीको मन्त्रिमण्डलमा नपरेपछि मतदातालाई दिएको वचन पनि पूरा नगरेको भन्दै उहाँको आलोचना भएको थियो । अब प्रधानमन्त्रीले आफ्नो वाचा पूरा गरेकाले भट्टराई आफ्नो जिम्मेदारीमा कति खरो उत्रिन सक्छन् त्यो समेत उनको परीक्षाको विषय बन्नेछ । 

बुधवार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री भट्टराईले आफू रवीन्द्र अधिकारीको उत्तराधिकारीका रूपमा आएको प्रतिक्रिया दिएका छन् । उनले आफू फरक परिस्थितिले गर्दा अधिकारीको कुर्सीमा बस्न आइपुगेको भन्दै सबै अग्रजसँग रायसल्लाह लिएरै अगाडि बढ्ने बताए । रवीन्द्र र योगेश वाम राजनीतिका सहकर्मी थिए ।

‘यहाँ उहाँकै (रवीन्द्रकै) आवश्यकता थियो, तर प्रकृतिलाई जित्न सकेनौं । परिस्थितिले आज उहाँ बस्नुभएको कुर्सीमा म बसेको छु, उहाँको उत्तराधिकारीका रूपमा आएको छु,’ नवनियुक्त मन्त्री भट्टराईले भने । 

भट्टराई समक्ष सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउनु, नेपाल वायुसेवा निगमको सदृढीकरण, गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल तथा पोखरा क्षेत्रीय विमानस्थल सञ्चालन, प्रस्तावित निजगढ अन्तरराष्ट्रिय विमानस्थलको काम अगाडि बढाउनुपर्ने र नेपालको हवाई उडानमा यूरोपेली संघ (ईयू) को प्रतिबन्ध हटाउने जस्ता विषय मुख्य जिम्मेवारीका रूपमा अगाडि आएका छन् । 

यस बाहेक सरकारले हालै नेपाल नागरिक उड्डयन प्राधिकरण टुक्र्याउन अघि बढाएको नयाँ नीतिगत व्यवस्था तथा नयाँ पर्यटन ऐन तर्जुमा लगायतका कामलाई टुङ्गोमा पुर्‍याउनुपर्ने जिम्मेवारी छ । यस्तै, राष्ट्रिय गौरवका आयोजनामा परेका अन्य कतिपय परियोजना समेत यसै मन्त्रालय अन्तरगत रहेका छन् । 

शपथ ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री भट्टराईले आफूले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल पार्न, उडान सुरक्षा सुदृढीकरण गर्न, नेपाल वायुसेवा निगमको व्यवस्थापन सुधार गर्न तथा गौतमबुद्ध, पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा विशेष जोड दिने बताए । उनले निजगढमा निर्माणाधीन अन्तरराष्ट्रिय विमानस्थलको निर्माण आफ्नै कार्यकालमा सम्पन्न गर्ने उल्लेख गर्दै सबै अग्रज र सरोकारवालासँगको राय सल्लाहमै अगाडि बढ्ने बताए । ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)