ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिमेन्टमा लगानी प्रतिबद्धता घटेर आधा

एकै वर्षमा ५० अर्बबाट झरेर २२ अर्बमा

Aug 2, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar हिमा वि.क.

काठमाडौं । पछिल्ला वर्षहरूमा सिमेन्ट उद्योगमा निरन्तर बढ्दै आएको लगानी प्रतिबद्धता गत आर्थिक वर्ष (आव) २०७५/७६ मा भने घटेर आधा भएको छ । लगानीकर्ताको आकर्षण बनेको सिमेन्ट क्षेत्रमा लगानी गत आवमा ५६ दशमलव ५२ प्रतिशत कम भएको हो ।  

उद्योग विभागको तथ्यांक अनुसार सिमेन्ट उद्योगमा गत आवमा कुल रू. २१ अर्ब ७६ करोड लगानी गर्ने गरी आठ उद्योग दर्ता भए । ती सबै उद्योगका लगानीकर्ता स्वदेशी नै थिए । गत आवमा सिमेन्ट उद्योगमा विदेशी लगानी नआएको उद्योग विभागको तथ्यांकले बताउँछ ।  

 अघिल्लो आव २०७४/७५ मा भने उद्योग विभागमा रू. ५० अर्ब ५ करोड लगानी गर्ने गरी १३ उद्योग दर्ता भएका थिए । सो वर्ष चीनको हुवासिन सिमेन्ट दर्ता भएको थियो, जसले धादिङमा उद्योग स्थापनाको काम शुरू गरिसकेको छ ।  

आव २०७५/७६ मा दर्ता भएका दुईले सिमेन्ट र क्लिंकर उत्पादन गर्ने र बाँकी ६ ले सिमेन्ट मात्रै उत्पादन गर्ने गरी उद्योग दर्ता गरेको उद्योग विभागले जनाएको छ ।  

विभागका अनुसार गत आवमा ए प्लस सिमेन्ट, आर्थव सिमेन्ट, सिनर्जी सिमेन्ट, मारूती सिमेन्ट (ब्रान्च युनिट–१), कावेली सिमेन्ट इन्डस्ट्रिज्, गरूड सिमेन्ट इन्डस्ट्रिज्, सहारा सिमेन्ट र पारस इन्डस्टिज् प्रालि नामक उद्योग दर्ता भएका छन् । यी उद्योगको कुल उत्पादन क्षमता ४५ लाख २७ हजार मेट्रिक टन रहेको छ ।

यीमध्ये सिनर्जी सिमेन्टले सबैभन्दा बढी रू. ९ अर्ब ७८ करोड लगानीको प्रतिबद्धता गरेको छ । सिनर्जीले कपिलवस्तुको शिवराज नगरपालिकामा ९ लाख ९० हजार मेट्रिक टन ओपीसी, पीपीसी र पीएससी सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखी उद्योग दर्ता गरेको छ ।

त्यसैगरी सबैभन्दा कम लगानीको प्रतिबद्धता ए प्लस सिमेन्ट प्रालिको छ, जसले रू. ४० करोड लगानीमा झापाको तोपगाछीमा उद्योग स्थापनाको प्रस्ताव गरेको छ । साथै उक्त उद्योगले ओपीसी, पीपीसी र पीएससी गरी १ लाख ८० हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेको छ । 

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले विगत वर्षमा सिमेन्टको माग उच्च हुँदा उद्योग दर्ताको क्रम बढे पनि अहिलेको अवस्था त्यस्तो नभएको बताए ।

‘माग र आपूर्तिका आधारमा उद्योगले उत्पादन गर्ने हो,’ थापाले भने, ‘हाल सञ्चालित उद्योगको उत्पादन र क्षमताले सिमेन्टको माग धानिरहेकोले अब सिमेन्टमा नयाँ उद्योग आउने क्रम घट्न सक्छ ।’ 

सिमेन्टको माग र आपूर्तिभन्दा बढी क्षमतामा हालका सिमेन्ट उद्योग रहेको हुँदा अब सिमेन्टमा लगानी सुरक्षित नहुने तर्क पनि सिमेन्ट उत्पादकहरूको छ । 

२०७२ सालको विनाशकारी भूकम्पपछि नेपालमा निर्माण सामग्रीका कम्पनीहरू दर्ता हुने तथा खुल्ने क्रम बढेको छ । तर, पछिल्लो समयमा निर्माण सामग्रीको उत्पादन बढी र खपत दर बढ्न नसक्दा लगानीकर्ता निराश पनि देखिन्छन् । सरकारले नीति तथा कार्यक्रममा सिमेन्टलाई ‘निर्यातयोग्य वस्तु’ भन्दै प्राथमिकतामा राखेपछि भने सिमेन्ट निर्यातका लागि बजारको खोजी पनि भइरहेको छ । 

हाल नेपालमा सञ्चालित उद्योगसँग वार्षिक १ करोड ५० लाख मेट्रिक टन (मेटन) उत्पादन क्षमता छ । सिमेन्टको खपत वार्षिक ९० लाख मेटन छ । हाल ७० लाख मेटन क्लिंकर उत्पादन हुन्छ । नेपाल सिमेन्ट र क्लिंकरमा आत्मनिर्भर देखिन्छ । 

स्वदेशी सिमेन्ट उद्योगबाट सिमेन्ट र क्लिंकर उत्पादन बढ्दै जाँदा भारतबाट हुने सिमेन्ट र क्लिंकर आयात ह्वात्तै घटेको छ । त्यस्तै, क्लिंकर उत्पादनमा आत्मनिर्भर हुँदै गर्दा सिमेन्ट उद्योगमा क्लिंकर आयात गत पुसदेखि ठप्प नै छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)