ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वाणिज्य बैंकले धितोपत्र कारोबार गर्न ब्रोकर अनुमति पाउने

Aug 2, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ममता थापा

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएका वाणिज्य बैंकले आफ्नो सहायक कम्पनीमार्फत धितोपत्र कारोबार (खरीद विक्री) गर्ने गरी ब्रोकर अनुमतिपत्र पाउने भएका छन् । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले बिहीवार ‘नेपाल स्टक एक्सचेञ्ज लिमिटेड वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र सदस्य दलाल व्यवसायी अनुमतिका लागि सिफारिश कार्यविधि, २०७६’ बनाई लागू गरेको हो । यसले अब वाणिज्य बैंकलाई धितोपत्र कारोबार गर्न बाटो खुलेको छ ।

उक्त कार्यविधिसँगै अब धितोपत्र खरीदविक्री गर्ने उद्देश्यले केन्द्रीय बैंकबाट स्वीकृति पाएका वाणिज्य बैंकले नेपाल धितोपत्र बोर्डमा अनुमति लिन सक्ने नेप्सेले बताएको छ । नेपालको पूँजीबजारको विस्तार तथा लगानीकर्ताको पहुँचमा अभिवृद्धि गर्न उक्त कार्यविधि लागू गरिएको नेप्सेका उपप्रबन्धक प्रविन पन्दाकको भनाइ छ ।  

शुरूमा वार्षिक साधारणसभामार्फत यस सम्बन्धी प्रबन्धपत्र र नियमावली संशोधन गरी नेपाल राष्ट्र बैंकमार्फत स्वीकृति लिएका बैंकहरूले ब्रोकर लाइसेन्सका लागि नेप्सेमा निवेदन दिन सक्नेछन् । नेप्सेका अनुसार हालसम्म राष्ट्र बैंकबाट पहिलो चरणको सैद्धान्तिक सहमति पाएका प्रभु, सानिमा र एनआईसी एशिया बैंकले ब्रोकर लाइसेन्सका लागि नेप्सेमा निवेदन दिइसकेका छन् । 

राष्ट्र बैंकको स्वीकृतिपछि सहायक कम्पनीको रूपमा एनआईसी एशिया बैंकले एनआईसी एशिया सेक्यूरिटिज, सानिमा बैंकले सानिमा सेक्यूरिटिज र प्रभु बैंकले प्रभु स्टक मार्केट दर्ता गरिसकेका छन् । सिटिजन्स बैंकले सीबीआईएल सेक्यूरिटिज सहायक कम्पनीको रूपमा दर्ता गरिसके पनि हालसम्म नेप्सेमा लाइसेन्स लिने प्रक्रिया अघि बढाएको छैन । 

नेपाल धितोपत्र बोर्डले साउन २ गते नेप्सेलाई तोकिएको मापदण्ड पूरा गरी वाणिज्य बैंकहरूलाई सहायक कम्पनीमार्फत शेयर खरीद विक्री गर्न पाउने गरी लाइसेन्सका लागि सिफारिश गर्न निर्देशन दिएको थियो । 

बोर्डको निर्देशनबमोजिम नेप्सेले संघीय संरचनाअनुसार विभिन्न प्रदेशमा आर्थिक रूपमा सक्रिय उपत्यका बाहेकका स्थानीय स्तरमा ब्रोकर कारोबारका लागि अनुमति प्रदानको सिफारिश गर्ने प्रक्रिया अघि बढाउन लागेको हो । यसका लागि नेप्सेले मापदण्ड पूरा गरेका अन्य बैंकहरूलाई समेत लाइसेन्सको निवेदनका लागि आह्वान गर्ने जानकारी दिएको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)