ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारतीय बन्दरगाहबीच पूर्वाधार विस्तारको प्रतिस्पर्धा

Aug 2, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । नेपालको समुद्रपार व्यापारका लागि प्रयोगमा ल्याइएका भारतीय समुद्री बन्दरगाहरूमा पूर्वाधार विस्तारमा प्रतिस्पर्धा देखिएको छ । पश्चिम बंगालको कोलकाता र आन्ध्र प्रदेशमा पर्ने विशाखापत्तनम् बन्दरगाहले पछिल्लो समयमा बन्दरगाहको क्षेत्रफल विस्तारलाई तीव्र पारेका छन् । कन्टेनर लोडअनलोडका लागि आवश्यक उपकरणसमेत अद्यावधिक गरिएको कोलकाता पोर्ट ट्रस्टका अध्यक्ष विनीत कुमारले बताए ।

यी दुई बन्दरगाहले विस्तार गरेको पूर्वाधारले नेपाली आयातकर्ता लाभान्वित हुने बताइएको छ । बन्दरगाहबीच नेपालको कार्गो ह्यान्डलिङमा प्रतिस्पर्धा बढेको छ । सन् २०१७ मा नेपाली आयातका लागि विशाखापत्तनम् बन्दरगाहको विकल्प खुला भएपछि कोलकाताले पूर्वाधार अद्यावधिक गर्ने कामलाई गति दिएको हो । नेपाली आयातका लागि उडिसाको धाम्रा र गुजरातको मुन्द्रा बन्दरगाह प्रयोगको प्रक्रियासमेत अघि बढेको छ ।

कोलकाता पोर्टले २ वर्षमा बन्दरगाहको क्षेत्रफललाई ३० हजार वर्गमीटर विस्तार गरेको छ । ‘पहिला ६ हजार ५०० कन्टेनर व्यवस्थापन गर्न सकिन्थ्यो । अब क्षेत्रफल बढाइएपछि १२ हजार कन्टेनर सजिलै ह्याडलिङ हुन सक्छ,’ अध्यक्ष विनीत कुमारले भने । यसअघि आयातकर्ताले कोलकातामा साँघुरो संरचनाका कारण जामको समस्या भोग्नु परेकोमा अब त्यो अवस्था नरहेको पनि उनले बताए । 

निजीक्षेत्रले सञ्चालन गरिरहेको विशाखापत्तम् बन्दरगाहले पनि क्षेत्रफल विस्तार शुरू गरेको छ । यही २०१९ अप्रिल अन्तिमबाट १ लाख ४० हजार वर्गमीटर समुद्र पुरेर क्षेत्रफल बढाउन लागेको जनसम्पर्क अधिकृत एमएन रावले आर्थिक अभियानलाई बताए । २ वर्षमा क्षेत्रफल विस्तार भइसक्ने जानकारी पनि उनले दिए । विस्तारपछि यो बन्दरगाहको क्षेत्रफल ३ लाख वर्गमीटर पुग्नेछ । समुद्रसँग सीधै जोडिएको यो बन्दरगाहमा मदर भेसल्स (ठूला पानीजहाज) सोझै आउन सक्छन् । 

कोलकाता पोर्ट ट्रस्टले कन्टेनर फ्रेट स्टेशन (सीएफएस) मा कन्टेनर राख्दा आयातकर्ताले भारतीय रुपया (भारू) २० हजारसम्म तिर्नु परेको भन्दै बन्दरगाहमै प्रतिदिन भारू ३०० मा राख्न दिने व्यवस्था मिलाएको छ । कोलकातामा अहिले ३ ओटा बर्थ स्टेशन (पानीजहाजबाट कन्टेनर अनलोड गर्ने संरचना) रहेकोमा यही अगस्त १५ भित्र चौथो पनि सञ्चालनमा ल्याउन लागेको छ । 

साँघुरो पूर्वाधारका कारण एउटा रेलमा एकै पटक ९० ओटा कन्टेनर लोड गर्न नसकिने समस्या रहेकोमा क्षेत्रफल विस्तारपछि आउँदो अक्टोबरभित्रै पूरै र्‍याक लोड गर्न मिल्ने बनाइने विनीत कुमारले बताए । कोलकातामा पछिल्लो समयमा रेलमार्पmत हुने ढुवानीमा इलेक्टोनिक कार्गो ट्र्याकिङ सिस्टम (ईसीटीएस)मा आधारित टान्ससिपमेन्ट प्रणाली लागू भएको छ । 

यो प्रणालीले ढुवानी खर्च बढेको भन्दै आयातकर्ता दोब्बर दूरीको विशाखापत्तनम्तिर जान थालेपछि कोलकाता बन्दरगाह व्यवस्थापन चनाखो भएको छ । यता नेपाल सरकारले कोलकाता बन्दरगाहमा भाडामा लिएको जग्गामा नेपाली आयातकर्ताका लागि बैग्लै सीएफएस सञ्चालनमा ल्याउन लागेको छ । नेपालले भारत सरकारसँग सन् १९७३ मा लिएको ४ हजार ८७२ वर्गमीटर जग्गामा यो संरचना तयार भइसकेको कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले बताए । 

नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेड (एनटीडब्ल्यूसी)का कोलकातास्थित कार्यालय प्रमुख लक्ष्मण खड्काले निर्माणको करीब सबै काम सकिएको जानकारी दिए । डेढ महीनाभित्रै औपचारिक उद्घाटन हुने र यसबाट नेपाली आयातको लागत कम हुने खड्काले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)