ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शर्मा एन्ड कम्पनी र आईएमई ग्रूपको साझेदारी : ५ अर्बभन्दा बढी लगानीमा पाल्पामा केबलकार र होटेल

Aug 4, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar हिमा वि.क.

काठमाडौं । केवलकारमा नाम कमाएको आईएमई ग्रूप र पूर्वाधार निर्माणमा नाम कमाएको शर्मा एन्ड कम्पनी प्रालिको रू. ५ अर्बभन्दा बढीको संयुक्त लगानीमा प्रदेश नं. ५ पाल्पाको वसन्तपुरमा केबलकार र पाँचतारे होटेल निर्माण हुने भएको छ । ५०/५० प्रतिशत लगानी साझेदारी गर्ने यी दुई कम्पनीले पहिलो चरणमा केबलकार सञ्चालनमा ल्याएपछि वसन्तपुरमा होटेल तथा रेस्टुराँ निर्माण गर्नेछन् । साढे तीन किलोमीटर लामो उक्त केबलकार बुटवलको बमघाट (चिडियाखोला) बाट शुरू भएर पाल्पाको वसन्तपुर डाँडामा पुग्नेछ ।

शर्मा एन्ड कम्पनीका प्रमुख प्रबन्धक रमेशप्रसाद सुवेदीले आर्थिक अभियानसँग कुरा गर्दै आगामी दशैंपछि केबलकार निर्माण शुरू गर्ने जानकारी दिए । २ वर्षभित्र केबलकार निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने उनले बताए । उनका अनुसार उक्त केवलकारमा २२ भन्दा बढी डिब्बा हुनेछन् । 

केवलकारको पूर्वाधार निर्माणको काम शर्मा एन्ड कम्पनीले गर्नेछ । लगानीकर्ताहरूका अनुसार बुटवल र भैरहवाको उच्च तापक्रमबाट राहत पाउन बुटवलबाट केही किलोमीटरको दूरीमा रहेको वसन्तपुर डाँडा निकै उपयुक्त हुनेछ । केबलकार निर्माण भएपछि यो ठाउँ आन्तरिक र बाह्य पर्यटकको रोजाइ बन्न सक्ने उनीहरूको विश्वास छ ।

केबलकार सञ्चालनपछि, दोस्रो चरणमा त्यस क्षेत्रमा पाँचतारे स्तरका होटेल तथा लजहरू बनाउने, साथै सभा सम्मेलन गर्न सक्ने गरी हल र रेस्टुराँहरू समेत निर्माण गर्ने  लक्ष्य लगानीकर्ताले राखेका छन् । त्यसका लागि करीब ३० रोपनी जग्गा खरीद भइसकेको छ भने बाँकी ३० रोपनी जग्गा थप्ने योजना छ । 

यो प्रोजेक्टसँगै शर्मा एन्ड कम्पनीले पहिलो पटक केबलकार र होटेल क्षेत्रमा लगानी गर्न लागेको हो । आईएमई ग्रूपले भने काठमाडौंको चन्द्रागिरिमा केबलकार र रेस्टुराँ सञ्चालन गरिरहेको छ । काठमाडौंको सफलतालाई आईएमई ग्रूपले बुटवलमा पनि यो प्रोजेक्ट मार्फत दोहोर्‍याउन चाहेको छ ।

प्रोजेक्टका सञ्चालक समेत रहेका सुवेदीले भने, ‘यो प्रोजेक्ट त्यहाँ बनाउनुको मुख्य उद्देश्य नै पर्यटन विकास हो । पोखरा र भैरहवा विमानस्थलमा आउने पर्यटकका साथै आन्तरिक पर्यटकलाई लक्षित गरेर प्रोजेक्ट अघि बढाएका छौं ।’ 

‘माइस पर्यटन’ र ‘हिल स्टेशन’को विकास गर्नका लागि पनि अहिले यस्ता पर्यटन पूर्वाधार निर्माण हुन आवश्यक रहेको सुवेदी बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)