साउन १९, धनगढी । सुदूरपश्चिम प्रदेशका ८२ ओटा स्थानीय तहमा बैंक शाखा विस्तार भएको नेपाल राष्ट्र बैंक धनगढीले बताएको छ । प्रदेशभित्र कुल ८८ स्थानीय तहमध्ये ८२ स्थानीय तहमा विभिन्न बैंकका शाखा विस्तार भएर कारोबारसमेत शुरु भइसकेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
बाजुरा, बझाङ र डोटीका गरी छ स्थानीय तहमा मात्रै शाखा विस्तार हुन बाँकी छ । ती स्थानहरुमा केहि समयभित्रै शाखा सञ्चालनमा ल्याउने गरी विभिन्न बैंकहरुले आन्तरिक तयारी गरिरहेको बुझिएको राष्ट्र बैङ्कले बताएको छ । यो प्रदेशका नौ ओटै जिल्लामा गरी हालसम्म बैंक तथा वित्तीय संस्थाहरुको संख्या ६०५ पुगेको छ ।
क श्रेणीका वाणिज्य बैंकहरुको शाखा संख्या मात्रै २५१ पुगेको राष्ट्र बैंकको तथ्यांक छ । पहाडी जिल्लाको तुलनामा सवैभन्दा बढि कैलाली र त्यसपछि कञ्चनपुरका विभिन्न बजार क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति धेरै रहेको छ । लगानी र निक्षेप संकलनका हिसाबले सुदूरपश्चिम प्रदेश अन्य प्रदेशको तुलनामा पछाडी पर्न गएको बैंकर्स क्लब धनगढी अध्यक्ष टेकराज भट्टले बताए ।
यो प्रदेशको कुल निक्षेपमा १ दशमलव ९८५ र कर्जामा २ दशमलव ८७५ प्रपितशत मात्र योगदान रहेको पाइएको उनले बताए । कैलाली, कञ्चनपुरमा मात्रै बैंक तथा वित्तीय संस्थाहरु केन्द्रित हुँदा ग्रामीण समुदायको अर्थतन्त्र चलायमान हुन नसकेको बैंक अधिकारीहरु नै बताउँछन् ।
प्रदेशभित्र सञ्चालित बैंक तथा वित्तीय संस्थाहरुले २०७५ पौष मसान्तसम्म रू.५९ अर्ब ८३ करोड निक्षेप संलन गरेका थिए भने रू.७९ अर्ब २२ करोड ऋण लगानी गरेको तथ्यांक राष्ट्र बैंक धनगढीको छ । विगतमा निक्षेप संकलनको अनुपात बढि देखिन्थ्यो भने पछिल्लो समय निक्षेपको तुलनामा कर्जा प्रवाह बढ्न थालेको बैंकरहरु बताउँछन् । थोरै भए पनि पछिल्लो समय साना तथा केहि ठुला उद्योग होटल लगायतका व्यावसायिक प्रतिष्ठानहरु खुल्न थालेपछि बैंक तथा वित्तीय संस्थाहरुको लगानी बढ्न थालेको राष्ट्र बैंक धनगढीका किरण पण्डित बताउँछन् ।
आर्थिक गणना २०७५ को प्रारम्भिक नजिताअनुसार यो प्रदेशभित्र ६२ हजार ९७० आर्थिक प्रतिष्ठान रहेका छन् । आव २०७४/ ०७५ सम्ममा मात्रै यो प्रदेशभित्र १०७ उद्योग स्थापना भएका छन्, यसले पनि बैंक तथा वित्तीय संस्थाहरुलाई लगानी बढाउन सहज बनाएको पण्डितले बताए । वित्तीय पहुँचको हिसाबले यो प्रदेश अझै पनि पछाडी परेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
११ हजार १२४ जनसंख्या बराबर एक शाखा भागमा पर्छ भने समग्र नेपालको हकमा ६ हजार ८५८ जनसंख्या बरावर प्रतिशाखा भागमा पर्न आउँछ । जनसाँख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार आफ्नो नाममा रहेको खाता प्रयोग गर्ने पुरुष ३७ दशमलव १ तथा महिला ३३ दशमलव ७ प्रतिशत रहेको छ ।