ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आयस्रोत नखुल्दा रोकियो रू. १७ करोड विदेशी लगानी

Aug 5, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ममता थापा

काठमाडौं । विदेशी लगानी भित्र्याउन चाहने २६ कम्पनीलाई लगानीको स्रोत नखुलेको भन्दै नेपाल राष्ट्र बैंकले स्वीकृति रोक्का गरेको छ । उनीहरूले लगानीको स्रोत खुल्ने कागजात पेश नगरेका कारण १७ करोड २० लाख रूपैयाँ बराबरको विदेशी लगानी भित्रिन रोक लगाउनु परेको केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले बताएको छ । 

होटल, कृषि, प्रविधि, निर्माण लगायतमा विदेशी लगानी भित्र्याउने भन्दै निवेदन पेश गरेका २६ कम्पनीहरू पछिल्लो समय सम्पर्कमै नआएको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । बैंकले ती कम्पनीहलाई भदौ ५ गतेसम्ममा नपुग कागजात पेश गर्न निर्देशन दिएको छ । 

सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीको प्रभावकारी रूपमा नियन्त्रण गर्ने उद्देश्यले केन्द्रीय बैंकले नेपालमा आउने विदेशी लगानीमा आयस्रोत खुल्ने कागजात पेश गर्न कडाइ गर्दै आएको छ । 

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार नेपालमा जुन देशबाट लगानी ल्याइने हो, त्यो देशको बैंकिङ प्रणालीमा रहेको रकमलाई मात्र केन्द्रीय बैंकले मान्यता दिन्छ । ‘विदेशी लगानी भित्र्याउन स्वीकृति लिन आउनेले आआफ्नोे देशको बैंक स्टेटमेन्ट बुझाउनुपर्छ । यो बैंक ब्यालेन्सको प्रमाण हो । साथै यो वैधानिक आयस्रोत देखाउने माध्यम हो । तर, अधिकांशले यस्तो बैंक स्टेटमेन्ट नदिएकोले हामीले आयस्रोत खुल्न नसकेको भन्दै स्वीकृति नदिएका हौं,’ निरौलाले बताए । 

निरौलाका अनुसार, उद्योग विभागले लगानीकर्ताको बैंकको खाता मात्र माग्छ, तर राष्ट्र बैंकले भने लगानीकर्ताको बैंक खाताकोे स्टेटमेन्टका साथै कारोबारको अवस्था समेत अध्ययन गरेर उनीहरूको कारोबार पारदर्शी भए नभएको निक्र्योल गर्छ । ‘यसले सम्पत्ति शुद्धीकरण तथा आतंककारी गतिविधिका रकमलाई रोक लगाउन सहयोग गर्छ,’ उनले बताए । 

सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरलाई रोक्न ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (दोस्रो संशोधन) ऐन, २०७०’ समेत जारी भएको छ । सम्पत्ति शुद्धीकरणको विषयमा अनुगमन, छानविन तथा कारबाही गर्नैपर्ने बाध्यात्मक अवस्था नेपाल सरकारसामु भएकाले पनि केन्द्रीय बैंकले पछिल्लो समय नेपालमा गरिने वैदेशिक लगानीको स्रोतबारे विस्तृतमा बुझ्ने गरेको छ ।

यसै व्यवस्था अनुसार राष्ट्र बैंकले पछिल्लो समय गायिका आनी छोइङ डोल्माले विदेशबाट ल्याएको रू. ४० करोड रोक्का गरेको छ । राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी एकाइका अनुसार आनी छोइङको उक्त रकम मेगा बैंकमा आएपछि बैंकले सो रकमबारे आशंका व्यक्त गर्दै केन्द्रीय बैंकमा रिपोर्ट गरेको थियो । सो विषयलाई केन्द्रीय बैंकले अनुसन्धान गर्न करीब ३/४ महीनाअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाएको ईकाइको भनाइ छ । 

वर्तमान कानूनी व्यवस्था अनुसार रू. ६ अर्बमाथिको विदेशी लगानीका लागि शुरूको स्वीकृति लगानी बोर्डबाट तथा रू. ६ अर्बभन्दा कमको लगानीका लागि उद्योग विभागबाट स्वीकृति लिनुपर्छ । यसपछि कम्पनी रजिस्ट्रारको कार्यालय र आन्तरिक राजस्व कार्यालयमा दर्ता गरी स्थायी लेखा नम्बर (पान) नम्बर लिनुपर्छ । त्यसपछि मात्र विदेशी रकम भित्र्याउन केन्द्रीय बैंकबाट अनुमति लिन पाइने व्यवस्था छ । 

विदेशी मुद्रा भित्र्याइसकेपछि पनि नियमित रूपमा लेखांकन अद्यावधिक गर्नुपर्छ र मुनाफा वा लगानी फिर्ता लैजान राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्छ । यसैबीच, विदेशी लगानी भित्र्याएका तर त्यसको नियमित लेखांकन नगराएका ५५ कम्पनी सम्पर्कमा नआएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)