ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गौतम बुद्ध विमानस्थल सञ्चालन : म्युनिख एयरपोर्टको प्रस्तावबारे निर्णय गर्न समिति गठन

Aug 5, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल प्रारूप
author avatar टीपी भुसाल

काठमाडौं । भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि जर्मनीको म्युनिख इन्टरनेशनल एयरपोर्टले इच्छा देखाएपछि त्यसबारेमा निर्णय गर्न सरकारले समिति गठन गरेको छ । जर्मन सरकारको स्वामित्वको उक्त कम्पनीले विमानस्थल सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई औपचारिक प्रस्ताव पठाएको थियो । साथै, नेपालका लागि जर्मनीका राजदूतले पर्यटन मन्त्रालयका अधिकारीहरूसँग यस विषयमा छलफल गरेका थिए ।

मन्त्रालयका अनुसार, म्युनिख एयरपोर्टको प्रस्तावका बारेमा छलफल गरी निर्णयमा पुग्न पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा एक समिति गठन गरिएको छ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, अर्थ, परराष्ट्र र कानून मन्त्रालयका प्रतिनिधिहरू समेत रहने उक्त समितिले म्युनिख इन्टरनेशनल एयरपोर्टसँग विस्तृत प्रस्ताव माग्नुका साथै उसको वित्तीय अवस्था समेत अध्ययन गर्नेछ ।

सरकारले गत जेठ १६ गतेको मन्त्रिपरिषद् बैठकबाट गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलकोे सञ्चालन खुला प्रतिस्पर्धाबाट नभइ दुई सरकारबीचको सम्झौताबाट ‘जीटुजी’ मोडेलमा चयन गर्ने निर्णय गरेको थियो । म्युनिख इन्टरनेशनल एयरपोर्ट जर्मन सरकारको २६ प्रतिशत स्वामित्व रहेको विमानस्थल हो । 

उक्त प्रस्ताव नेपालस्थित जर्मन राजदूतावास मार्फत आएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले आर्थिक अभियानलाई जानकारी दिए । म्युनिख एयरपोर्टले गौतमबुद्ध विमानस्थल ५० वर्षका लागि सञ्चालनको जिम्मा दिन प्रस्ताव गरेको छ । ‘गौतम बुद्ध विमानस्थल सञ्चालनका लागि हालसम्म हामीलाई आएको प्रस्ताव म्युनिख इन्टरनेशनल एयरपोर्टबाट मात्रै हो,’ मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए । 

गौतम बुद्ध विमानस्थल आगामी डिसेम्बर महीनासम्ममा निर्माण सम्पन्न गरी सन् २०२० को जनवरीदेखि व्यावसायिक उडान गर्ने योजना छ । तर, हालसम्मको प्रगतिको आधारमा विमानस्थल पूर्णरूपमा सञ्चालनमा आउन भने केही ढिलाइ हुने देखिएको छ । सन् २०१९ को जुलाईसम्ममा निर्माण गरिसक्ने भनिए पनि काम ढिला हुँदा केही समयअघि मात्र डिसेम्बरसम्मका लागि समय थप गरिएको थियो । डिसेम्बरसम्ममा विमानस्थलको भौतिक पूर्वाधार निर्माणको काम सकिए नै पनि अन्य प्राविधिक तथा नीतिगत व्यवस्थाका लागि विमानस्थल सञ्चालन गर्न थप समय लाग्ने प्राधिकरणले जानकारी दिएको छ ।  

‘उडान कार्यविधि, अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को सहमति प्राप्ति तथा भैरहवाबाट विमान प्रवेश बिन्दुका लागि आइकाओको अनुमति, विमानस्थल प्रमाणित लगायत काम सकिएपछि मात्रै परीक्षण उडान र त्यसपछि मात्रै व्यावसायिक उडान शुरू गर्न सकिन्छ,’ महानिर्देशक पोखरेलले भने । यस प्रकार, निर्माण सम्पन्न भएको करीब ३ महीनापछि मात्रै व्यावसायिक रूपमा विमानस्थल सञ्चालनमा आउने उनले जानकारी दिए । भैरहवाबाट विमान प्रवेश बिन्दुका लागि आइकाओको अनुमतिका लागि नेपाल र भारतले संयुक्तरूपमा निवेदन दिइसकेका छन् । 

हाल विमानस्थल निर्माणको भौतिक प्रगति ७५ प्रतिशतभन्दा माथि छ । अहिलेसम्म पार्किङ एरियाको काम, ओभरहेड ट्याङ्की, प्रशासनिक भवन र धावनमार्गको काम सकिएको छ भने कन्ट्रोल टावर, अन्तरराष्ट्रिय टर्मिनल भवन लगायतको काम सकिनै लागेको छ । विमानस्थल निर्माण सन् २०१४ डिसेम्बर ३१ मा शुरू गरिएको हो ।

रू ६ अर्ब २२ करोड ५१ लाखमा चीनको सरकारी कम्पनी नर्थवेष्ट सिभील एभिएशन एयरपोर्ट कन्ट्रक्शन ग्रूपले ठेक्का लिएकोे विमानस्थल निर्माण डेढ वर्षअघि सन् २०१७ को डिसेम्बरमै सम्पन्न भइसक्नुपर्ने थियो । मधेश आन्दोलन, भारतको नाकाबन्दी, नदीजन्य निर्माण सामग्रीको अभाव लगायतका कारण देखाउँदै पटकपटक म्याद थप्दै अब निर्माण सम्पन्न गर्ने मिति आगामी डिसेम्बर पुर्‍याइएको छ । 

तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति स्व. सुशील कोइरालाद्वारा २०७१ माघ १ गते शिलान्यास गरिएको यस विमानस्थलमा चिनियाँ विमान कम्पनीलाई सेवा सञ्चालन गर्न दिन नेपाल सहमत भइसकेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)