ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निगमलाई पर्यटनमन्त्रीको निर्देशन : ‘प्रतिफल आउने गरी कार्ययोजना अगाडि बढाउनोस्’ 

Aug 6, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमलाई राज्यले गरेको लगानीको प्रतिफल आउने गरी कार्ययोजना अगाडि बढाउन निर्देशन दिएका छन् । उनले निगमले आफूसँग भएका जहाज पूर्ण उपयोग गरी कमाई बढाउन र जनशक्तिको पूर्ण सदुपयोग गर्न निगम नेतृत्वलाई आग्रह गरे । 

निगमका उच्च पदाधिकारीहरूसँग सोमवार भएको छलफलमा मन्त्री भट्टराईले विमान सञ्चालन गर्ने संस्थाले विमान थप्दै जानु आवश्यक भए पनि विमान खरीद प्रक्रियालाई पूर्ण पारदर्शी बनाउन आवश्यक भएको बताए । ‘विमान सञ्चालन गर्ने संस्थाले विमान थप्दै जानु आवश्यक छ । तर बाहिर कुरा काट्ने स्थिति नआउने वातावरण बनाउनु पर्दछ । यसको लागि खरीद प्रक्रिया पारदर्शी हुन आवश्यक छ,’ मन्त्री भट्टराईले भने । 

 उनले विगतमा निगमले दुर्गम क्षेत्रमा पुर्‍याएको सेवा उल्लेखनीय रहेको बताउँदै अबका दिनमा दुर्गम क्षेत्रमा समयसापेक्ष स्तरीय सेवा विस्तार गर्ने गरी कार्ययोजना बनाउनुपर्ने बताए । ‘विमानस्थलहरूको संख्या थपिँदै गएको छ । यस सन्दर्भमा निगमले सबैतिर आफ्नो सेवा पुर्‍याउन आवश्यक छ । निगमलाई आन्तरिक समझदारीको जगमा सुदृढ बनाउन र योग्यलाई उचित काम सुम्पेर प्रतिफल लिनेतर्फ क्रियाशील हुन आवश्यक छ,’ मन्त्री भट्टराईले भने । 

उनले भैरहवाको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखराको विमानस्थल निर्माणको अन्तिम चरणमा पुगेको र यी विमानस्थललाई समयमै सम्पन गरिने र आगामी मंसिरमा निजगढ विमानस्थलको शिलान्यास गरिने जानकारी बताए । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव सुरेश आचार्यले निगमको ऋण र पूँजीमा सन्तुलन मिलाउनु पर्ने धारणा राखे । उनले निगमको सुदृढीकरणमा सरकारको सकारात्मक सहयोग रहने तर त्यसको लागि स्पष्ट व्यावसायिक योजना प्रस्तुत गर्न आवश्यक भएको बताए । 

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले निगमले सेवाको स्तर वृद्धि गर्नुका साथै सुरक्षालाई उच्च प्राथमिकतामा राखी अगाडि बढेको जानकारी दिँदै पूँजी र ऋणबीच सन्तुलनकै लागि निगमले सरकारबाट रू. २० अर्बको लगानी खोजेको बताए । अध्यक्ष खरेलले निगम घाटामा गएको नभई जहाज किन्दाको ऋण भएकोले ऋण भुक्तानीको सहजीकरणको लागि सरकारसँग रकम माग गरिएको जानकारी गराए । 

निगमको ६१औं वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले ठोस योजनाविना यथास्थितिमै निगमलाई रकम सहयोग गर्न नसकिने बताउनु भएको थियो । निगमलाई नाफामा लैजाने ठोस योजना ल्याउन निगम नेतृत्वलाई निर्देशन समेत दिनुभएको थियो । अध्यक्ष खरेलले निगमले अघिल्लो वर्ष ६ लाख ५० हजार यात्रु बोकेर अन्तरराष्ट्रिय उडानमा सबैभन्दा बढी यात्रु बोक्न सफलता पाएको र ८६ प्रतिशत सीट क्षमतामा उडान गरिएको जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)