ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घट्यो नेपाल इन्फ्रास्ट्रक्चर बैंकको कर्जा सीमा

सहवित्तीयकरणमा समेत जाने योजनामा निफ्रा

Aug 7, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ममता थापा

काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकाससँग सम्बन्धित आयोेजनामा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले प्रवाह गर्ने कर्जाको सीमा घटाएको छ । यसअघि कर्जाको सीमा न्यूनतम रू. ५० करोड रहेकोमा अहिले त्यो सीमा रू. ३० करोड कायम गरिएको छ । नयाँ व्यवस्थाअनुसार अब निफ्राले रू. ३० करोडसम्मका आयोजनालाई कर्जा दिन पाउने भएको छ । 

तर, निफ्राले जारी गरेको मुद्दती निक्षेप रसिदको धितोमा रू. ३० करोडभन्दा कम रकमको कर्जा प्रदान गर्न पाइने पनि राष्ट्र बैंकले व्यवस्था गरेको छ । आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिले गरेको व्यवस्थालाई अब पूर्वाधार विकास बैंकले कर्जाको सीमा कम्तीमा ३० करोड रुपैयाँ दिन केन्द्रीय बैंकले निर्देशनमार्फत बाटो खुला गरिएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । 

न्यूनतम कर्जा सीमा धेरै भएकाले कर्जाको माग कम भएको उल्लेख गर्दै निफ्राले यसलाई घटाउन माग गरेको थियो । पूर्वाधार जस्ता ठूला परियोजनामा न्यूनतम कर्जा सीमा १० करोड रुपैयाँमा झार्न अनुरोध गरिए पनि हाल कायम गरीएको सीमा स्वागतयोग्य रहेको निफ्राका नायब प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले बताए । 

‘उपत्यकाभन्दा बाहिर, विशेष गरेर होटल, कृषि क्षेत्रका आयोेजनामा कर्जाको माग धेरै छ । तर, ती आयोजनाको माग राष्ट्र बैंकले तोकेको रू. ५० करोडभन्दा कम भएकाले हामीले कम्तीमा १० करोडसम्म कर्जा सीमा राख्न अनुरोध गरेका थियौं । अहिले हामीले कर्णालीमा तीनतारे होटलमा कर्जा प्रवाह गरेका छौं । यो परियोजना ३० करोडसम्ममा सम्पन्न हुन्छ । राष्ट्र बैंकको यो व्यवस्थाले अब सहज बनाएको छ,’ उनले भने ।

अन्य बैंक तथा वित्तीय संस्थाले जस्तै पूर्वाधार विकास बैंकलाई पनि राष्ट्र बैंकले प्रत्येक आर्थिक वर्षका लागि निक्षेप दायित्व तथा कर्जा सापट हितको वार्षिक कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई साउन मसान्तभित्र पेश गर्न निर्देशन दिएको छ । साथै त्रैमासिक प्रतिवेदनसमेत त्रैमासको १५ दिनभित्र बुझाउन निर्देशन दिएको छ । 

केन्द्रीय बैंकको निर्देशनअनुसार कार्ययोजना र प्रतिवेदन पेश गर्ने तयारी भइरहेको समेत पूर्वाधार बैंकले जानकारी दिएको छ । रू. २० अर्ब चुक्ता पूँजी भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड २०७५ फागुन २७ गतेदेखि सञ्चालनमा आएको हो । 

अब नेफ्राले पनि आफ्नो नेतृत्वमा वा अरूको नेतृत्वमा सहवित्तीयकरणबाट समेत विभिन्न आयोजनामा ऋण प्रवाह गर्ने बताएको छ । नायब सीईओ पाण्डेका अनुसार तत्कालै होटल, हाइड्रोपावर, केबलकार जस्ता आयोजनामा सहवित्तीयकरणमा जाने योजना बैंकको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)