ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निगम सुधारको लागि पूर्वसचिव घिमिरेको संयोजकत्वमा कार्यदल गठन, प्रतिवेदन बुझाउन १ महीनाको समयसीमा

Aug 7, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

साउन २२, काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमका समस्याहरू पहिचान गरी सुधारको लागि सुझाव दिन नेपाल वायुसेवा निगम सुधार सुझाव कार्यदल गठन गरेको छ । बुधवार मन्त्रीस्तरको निर्णयबाट पूर्वसचिव सुशिल घिमिरेको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरिएको हो । समितिका सदस्यहरूमा लेखा विज्ञ (चार्टर एकाउण्टेण्ट) प्रमोद कर्ण, व्यवस्थापन विज्ञ डिम प्रकाश पौडेल, क्याप्टेन सुधीर राई र सदस्य सचिवमा मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहका छन् ।

निगममा विभिन्न पक्षहरुको वर्तमान अवस्था, समस्याहरु र सुधारका उपाय समेत पहिचान गरी १ महीनाभित्र ठोस सुझावसहितको प्रतिवेदन तथा उक्त सुझावहरुको कार्यान्वयन कार्ययोजनासमेत पेश गर्न कार्यदललाई जिम्मेवारी दिइएको छ । निगमको व्यावसायिक क्षमतामा वृद्धि तथा आन्तरिक व्यवस्थापनका विभिन्न पक्षहरुमा तत्कालीन तथा दीर्घकालीन सुधारको लागि कार्यदल गठन गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिए । लामो समयदेखि विभिन्न किसिमका व्यवस्थापकीय समस्याबाट बाहिर निस्किन नसकेको निगमलाई अन्तरराष्ट्रिय स्तरमा निगमको साख बढाउँदै अगाडि बढाउन कार्यदलको सुझाव सहयोगी हुने मन्त्री भट्टराईले बताए ।

कार्यदललाई निगमको समग्र सुधारका लागि हालसम्म भएका विभिन्न अध्ययन प्रतिवेदनको विश्लेषण गर्ने, वर्तमान वित्तीय अवस्थाको अध्ययन गर्ने र निगमको कानूनी, संस्थागत, संगठनात्मक, व्यवस्थापकीय एवम् व्यावसायिक क्षमतामा रहेका समस्याहरु पहिचान तथा विश्लेषण गर्ने जिम्मेवारी दिइएको छ । यस्तै पक्षहरुमा गर्नुपर्ने तत्कालीन र दीर्घकालीन सुधारहरुको समयवद्ध ठोस कार्ययोजना पेश गर्ने र निगमको सुधारका लागि कार्यदलले उपयुक्त देखेका अन्य सुझावहरु दिन सक्ने जिम्मेवारी दिइएको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)