ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुनको भाउ १ वर्षमा साढे १३ हजारले वृद्धि

Aug 8, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । नेपाली बजारमा छापावाला सुनको मूल्यले धमाधम आफ्नो रेकर्ड तोड्दै गएको छ । २०७५ को साउन २२ मा प्रतितोला सुनको मूल्य रू. ५६ हजार १ सय रहेकोमा बुधवारसम्म रू. ६९ हजार ५ सय पुगेको छ । एक वर्षको अवधिमा सुनको मूल्य रू. १३ हजार ४ सयले बढेको छ ।
गत असारमा मात्र प्रतितोला रू. ६५ हजार ५ सय पुगेर नयाँ कीर्तिमान बनाएको सुनको मूल्य बुधवार हालसम्मकै सबैभन्दा बढी भएको हो । गत शुक्रवार पनि सुनको मूल्य प्रतितोला रू. ६५ हजार ८ सय थियो । त्यो दिनको हकमा उक्त मूल्य पनि इतिहासकै सबैभन्दा बढी थियो । त्यसयतादेखि सुनको मूल्यले निरन्तर नयाँ कीर्तिमान राख्दै आएको छ ।

यसअघि नेपाली बजारमा सुनको मूल्य प्रतितोला रू. ६३ हजार ३ सयम्म पुगेको इतिहास छ । २०७० भदौ १२ र गत फागुन ८ गते सुनको मूल्य सो विन्दुमा पुगेको थियो । अन्य समयमा सुनको कारोबार प्रतितोला रू. ५० हजारदेखि रू. ६० हजारको बीचमा भएको पाइन्छ । २०७३ मा भने सुनको मूल्य प्रतितोला रू. ४७ हजार २ सयसम्म झरेको थियो ।

नेपाली बजारमा सुनको मूल्य अन्तरराष्ट्रिय बजारअनुसार नै निर्धारण हुन्छ । एक वर्ष अघिदेखि नै शुरू भएको अमेरिका र चीनबीचको व्यापार युद्ध अझै साम्य भएको छैन । गत बुधवार र बिहीवार अमेरिका र चीनका प्रतिनिधिबीच चीनमा भएको छलफल पनि विनानिष्कर्ष टुंगिएको छ । त्यसपछि अमेरिकी सरकारले चीनबाट आयात हुने ३ खर्ब रुपैयाँ बराबरको सामानमा अतिरिक्त रूपमा १० प्रतिशत भन्सार लगाउने निर्णय गरेको छ, जसले गर्दा उनीहरू बीचको विवाद हालै साम्य हुने अवस्था छैन ।

साथै, फेडरल रिजर्भ बैंक अफ अमेरिकाले निक्षेपको ब्याजदर शून्य दशमलव २५ प्रतिशतले घटाएको छ भने चीनको केन्द्रीय बैंकले डलर कमजोर हुने डरले डलरको सट्टा सुन सञ्चय गर्न शुरू गरेको छ । यसैगरी, जर्मनीको अर्थतन्त्र कमजोर हुनु, पारमाणविक सम्झौताको विषयमा अमेरिका र इरानबीचको विवाद लगायतका कारणले गर्दा विश्व अर्थतन्त्र तथा शेयर बजारमा ह्रास आइरहेको छ । 

त्यसपछि लगानीकर्ताहरूले आफ्नो लगानी सुरक्षित गर्न सुन किनेर होल्ड गर्ने गरेका छन्, जसका कारणले विश्व बजारमा नै सुनको मूल्य बढेको छ । त्यसको प्रभावले नेपालमा पनि सुनको मूल्य आकाशिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यको भनाइ छ । उनले भने, ‘पाकिस्तान र भारतबीचको द्वन्द्वले भारू कमजोर र डलर बलियो हुँदा पनि नेपालमा सुनको मूल्य बढेको छ  ।’

महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले हालै सुनको मूल्य घट्ने संकेत नभएको बताए । ‘अमेरिका र चीनबीचको व्यापार युद्ध झन् विकराल बनेको छ । विश्व अर्थतन्त्रमा भएका पछिल्ला गतिविधिलाई हेर्दा अहिले नै सुनको मूल्य घट्ने संकेत छैन,’ उनले भने ।

गरगहना किन्नेभन्दा विक्री गर्ने बढी, व्यवसायीलाई तनाव 
सुनको मूल्य बढेपछि गरगहना किन्नेभन्दा विक्री गर्ने ग्राहक बढ्दै गएका छन् । व्यवसाय नै नभएको बेला ग्राहकबाट गरगहना किन्नुपर्ने बाध्यता हुँदा व्यवसायीलाई मर्का परेको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । ‘गरगहना फिर्ता नलिँदा ग्राहक नै भड्किने डरले फिर्ता लिन बाध्य छौं,’ उनले भने, ‘अहिलेसम्म त ग्राहकले फिर्ता गरेको गहना किन्न सकेका छौं । सुनको मूल्य यही अनुसार बढ्ने हो भने त्यो अवस्था पनि आउँदैन ।’

बैंकबाट सुन किन्न छोड्यौं : व्यवसायी 
सुनको मूल्य बढेपछि कारोबार लगभग शून्य भएको महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्य बताउँछन् । साथै, कारोबार नै शून्य भए बैंकबाट सुन किन्न पनि छोडेको उनको भनाइ छ । ग्राहकबाट फिर्ता हुने गरगहनाले नै काम चलाउने गरेको उनले बताए ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)