ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुनको मूल्यमा नयाँ किर्तिमान : तोलाको रू.७० हजार

Aug 8, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

साउन २३, काठमाडौं  । बिहीवार पनि सुनको मूल्यले नयाँ किर्तिमान कायम गरेको छ । सुनको मूल्यले नेपालमा गत शुक्रबारदेखि नै प्रत्येकदिन नयाँ किर्तिमान कायम गर्दै आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीवारका लागि छापावाला सुनको मूल्य प्रतितोला रू.७० हजार तोकेको छ । साथै, तेजावी सुनको प्रतितोला मूल्य रू. ६९ हजार ७०० तोकेको छ, जुन हालसम्मकै सबैभन्दा महंगो हो । यसैगरि चाँदीको मूल्य प्रतितोला रू.८२५ तोकिएको महासंघको भनाइ छ ।

गत असार महीनामा सुनको मूल्य प्रतितोला रू.६५ हजार ५०० पुगेको थियो । त्यसपछि गत शुक्रबार सुनको मूल्य प्रतितोला रू. ६५ हजार ८०० पुग्यो, त्यो दिनको हकमा पनि उक्त मूल्य इतिहासकै सबैभन्दा बढी थियो । त्यसयतादेखि सुनको मूल्यले निरन्तर नयाँ कीर्तिमान राख्दै आएको छ ।

त्यसभन्दा पहिले नेपाली बजारमा सुनको मूल्य प्रतितोला रू.६३ हजार ३०० सम्म पुगेको इतिहास छ । नेपाली बजारमा सुनको मूल्य अन्तरराष्ट्रिय बजारअनुसार नै निर्धारण हुन्छ ।

एक वर्ष अघिदेखि नै शुरू भएको अमेरिका र चीनबीचको व्यापार युद्ध अझै साम्य भएको छैन । गत बुधवार र बिहीवार अमेरिका र चीनका प्रतिनिधिबीच चीनमा भएको छलफल पनि विनानिष्कर्ष टुंगिएको छ । त्यसपछि अमेरिकी सरकारले चीनबाट आयात हुने ३ खर्ब रुपैयाँ बराबरको सामानमा अतिरिक्त रूपमा १० प्रतिशत भन्सार लगाउने निर्णय गरेको छ, जसले गर्दा उनीहरू बीचको विवाद अझै साम्य हुने अवस्थामा छैन ।

साथै, फेडरल रिजर्भ बैंक अफ अमेरिकाले निक्षेपको ब्याजदर शून्य दशमलव २५ प्रतिशतले घटाएको छ भने चीनको केन्द्रीय बैंकले डलर कमजोर हुने डरले डलरको सट्टा सुन सञ्चय गर्न शुरू गरेको छ । यसैगरी, जर्मनीको अर्थतन्त्र कमजोर हुनु, पारमाणविक सम्झौताको विषयमा अमेरिका र इरानबीचको विवाद लगायतका कारणले गर्दा विश्व अर्थतन्त्र तथा शेयर बजारमा ह्रास आइरहेको छ । 

त्यसपछि लगानीकर्ताहरूले आफ्नो लगानी सुरक्षित गर्न सुन किनेर सञ्चय गर्ने गरेका छन्, जसका कारणले विश्व बजारमा नै सुनको मूल्य बढेको छ । त्यसको प्रभावले नेपालमा पनि सुनको मूल्य आकाशिएको महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यको भनाइ छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)