ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्ग : निर्धारित समयमा निर्माण नहुने

Aug 9, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । एक दशकअघि निर्माण शुरू भएका मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गहरू निर्धारित समयमा पूरा नहुने भएका छन् । महŒवाकांक्षी यी आयोजनाको निर्माण अवधि सकिन सालाखाला ३ वर्ष मात्र बाँकी रहँदा यिनको आधा काम पनि हुन सकेको छैन । सडक विभागको प्रगति प्रतिवेदन अनुसार मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गमा १ दशकमा भएको समग्र काम क्रमशः ४८ र ४४ प्रतिशत मात्रै छ ।

आव २०६४/६५ मा शुरू भएको मध्यपहाडी लोकमार्गको निर्माण २०७८/७९ सम्ममा पूरा भइसक्नुपर्ने हो । पाँचथरको चियाभन्ज्याङबाट शुरू भएर बैतडीको झूलाघाटसम्म पुग्ने यस सडकको कुल लम्बाइ १ हजार ८७९ किलोमीटर छ । तर, हालसम्म ८०२ किलोमीटरमा मात्र कालोपत्र गरिएको छ । लोकमार्गमा पर्ने १२९ पुलमध्ये अहिलेसम्म ६७ पुल मात्र बनेका छन् । यस आयोजनाको कुल लागत रू. ८४ अर्ब ३३ करोड रहेको छ भने हालसम्म रू. ३९ अर्ब ९१ करोड खर्च भइसकेको छ ।  

आयोजना अन्तर्गत ४९२ किलोमीटर सडक निर्माणका लागि अहिलेसम्म जग्गा अधिग्रहण नै हुन सकेको छैन । आयोजना प्रमुख दीपक केसीका अनुसार लोकमार्गको केही खण्ड पूर्वमा सुनकोशी र पश्चिममा बूढीगण्डकी जलविद्युत् आयोजनाको जलाशयमा पर्ने भएकाले ती ठाउँमा सडक कसरी बनाउने भन्ने अन्योल कायम छ । ‘अन्य आयोजनाको तुलनामा यसमा ढिलाइ भएको छैन,’ उनले भने, ‘गत आवमा यसले ९७ प्रतिशत लक्ष्य प्राप्त गरेको छ । हामी ४ वर्षभित्र लोकमार्गको निर्माण सम्पन्न गर्ने गरी लागिपरेका छौं ।’

राजनीतिक रूपमा चर्चामा आइरहने हुलाकी राजमार्ग आव २०६६/६७ मा शुरू भएको हो । यसको निर्माण आव २०७९/८० मा पूरा भइसक्नुपर्ने हो । तर, कुल लम्बाइ १ हजार ७९२ किमी रहेको यस राजमार्गमा आजसम्म २७० किमी मात्र कालोपत्र भएको छ भने २१९ पुल बनाइनुपर्नेमा ८१ पुल मात्र बनेका छन् । शुरूको अनुमानित लागत रू. ४७ अर्ब २४ करोडबाट बढेर यसको संशोधित लागत अहिले रू. ६५ अर्ब २० करोड पुगेको छ भने हालसम्म रू. २७ अर्ब ५३ करोड खर्च भएको छ । आयोजनालाई रू. ५ अर्ब भारतीय अनुदान सहयोग हुने भनिएकोमा हालसम्म रू. ४ अर्ब ३५ करोड अनुदान प्राप्त भइसकेको छ । 

यस आयोजनामा ठेकेदारहरूले समयमै र गुणस्तरीय काम नगर्दा पुल निर्माण तथा ठेक्का नै विवादमा पर्दै आएको छ ।

गत आवमा भने यसको प्रगति राम्रो रहेको सडक विभागले बताएको छ । विभागका अनुसार सो आवमा १०० किमी सडक कालोपत्र गर्ने लक्ष्य राखिएकोमा १७० किमी सडक कालोपत्रे भएको छ । 

प्राथमिकता प्राप्त आयोजना
गत आवमा सडक विभाग अन्तर्गतका राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरूको काम सन्तोषजनक पाइएको छ । उत्तर–दक्षिण राजमार्ग अन्तर्गत कालिगण्डकी, कर्णाली र कोशी कोरिडोरमा कालोपत्र, ग्राभेल र ट्र्याक गरी कुल १९८ किमी सडक निर्माण तथा स्तरोन्नति गर्ने लक्ष्य राखिएकोमा ११६ किमी सडक बनेको छ । मदन भण्डारी राजमार्गमा  १३१ किमी सडक कालोपत्रे भएको छ भने ९० किमी ग्राभेल भएको छ । 

राजमार्गमा पर्ने प्रभावितहरूको पुनर्वास र विद्युत् प्राधिकरणबाट पोल सार्ने कार्यमा भएको ढिलाइले आयोजनाहरूको प्रगतिमा नकारात्मक असार परेको सडक विभागले बताएको छ । विभागका अनुसार, १४ ओटा सडक डिभिजन कार्यालय प्रदेशमा हस्तान्तरण हुँदा र कर्मचारी समायोजनका कारण पर्याप्त जनशक्ति कार्यक्षेत्रमा खट्न नसक्दा पनि काममा समस्या भएको हो । 

यसैगरी पुल निर्माणमा पर्याप्त बजेट नहुँदा र सडकहरूको जिम्मेवारी संघ, प्रदेश र स्थानीय तहमा हुनेगरी जिम्मेवारी बाँडफाँटमा अन्योल हुँदा पनि लक्ष्य अनुसार प्रगति प्राप्त गर्न समस्या भएको बताइएको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)