ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धौबादी फलामको व्यावसायिक उत्पादन : सार्वजनिक–निजी साझेदारीमा छुट्टै कम्पनी निर्माण गरिने

Aug 11, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
नवलपरासीको धौबादीस्थित फलाम खानीबाट निकालिएको कच्चा पदार्थ । फाइल तस्वीर : आर्थिक अभियान
author avatar हिमा वि.क.

काठमाडौं । सरकारले नवलपरासीको धौबादी फलाम खानीमा रहेको फलामको व्यावसायिक उत्पादन सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा गर्ने भएको छ । त्यसका लागि फलाम खानीमा सरकारको ५५ प्रतिशत र निजीक्षेत्रको ४५ प्रतिशत स्वामित्व रहने गरी कम्पनी निर्माण गरिने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बताएका छन् । 

उद्योग मन्त्रालयका अनुसार कम्पनी स्थापना, सञ्चालन लगायत विषयको स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाइएको छ । उद्योग सचिव यामकुमारी खतिवडाले धौबादीको फलामको ‘डिपोजिट’लाई उपयोगमा ल्याउन सरकार र निजीक्षेत्रको साझेदारीमा छिट्टै कम्पनी दर्ता हुने जानकारी दिएकी छन् ।
 

‘३/४ महीनाभित्र नै कम्पनी स्थापना गर्ने तयारी छ,’ खतिवडाले भनिन्, ‘मन्त्रिपरिषद्मा पठाइएको प्रस्ताव स्वीकृत भएलगत्तै फलाम खानीको उपयोग, उत्खनन, टेन्डर, कारखाना स्थापना लगायतका विषयलाई हेर्ने गरी छुट्टै कम्पनी दर्ता गर्छाैं ।’ खानीमा फलामे छड बनाउन सकिने गुणस्तरको फलाम देखिएकाले व्यावसायिक उत्पादनका लागि प्रक्रिया छिटो–छिटो अघि बढाइएको उनले बताइन् । 

खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक रामप्रसाद घिमिरेका अनुसार विभागले आन्तरिक र बाह्य प्रयोगशालामा गरी हालसम्म उक्त खानीबाट निकालिएको फलामका ७०० नमूना परीक्षण गरिसकेको छ । ती परीक्षणबाट फलामको व्यावसायिक उत्पादन गर्न सकिने आधार देखिए पनि थप यकीन गर्न पाँच मेट्रिक टन कच्चा फलाम परीक्षणका लागि केही समयअघि विभागले चीन पठाएको छ । चिनियाँ प्रयोगशालाबाट ३ महीनापछि प्रतिवेदन आउने बताइएको छ ।

पूर्वी नवलपरासीको कावासोतीबाट उत्तरतर्पm हुप्सकोट गाउँपालिका ५ मा पर्ने धौबादीमा १० किलोमीटर लामो फलामखानी (फलामको मात्रा धेरै रहेको पहाड) रहेको छ । धौबादीको फलाम खानी १० किलोमीटर लम्बाइ, १५ देखि ३० मीटर चौडाइ र १०० मीटर गहिराइमा अवस्थित छ ।

देशको सबैभन्दा ठूलो उक्त फलाम खानीमा १० करोड मेट्रिक टन कच्चा फलाम रहेको अध्ययनबाट देखिएको छ । सामान्यतया तीन मेट्रिक टन ढुंगा पेल्दा एक मेट्रिक टन फलाम उत्पादन हुनुपर्ने भूगर्भविद् बताउँछन् । विभागका अनुसार उक्त खानीबाट औद्योगिक रूपमा फलाम उत्पादन गर्न सकिन्छ कि सकिँदैन, कति ढुंगा पेल्दा कति फलाम आउँछ भन्ने चिनियाँ प्रयोगशालाको परीक्षणपछि मात्र यकिन हुनेछ । त्यसपछि खानीमा भएको फलामको व्यावसायिक उत्पादनका लागि पुनः अध्ययन गरिनेछ र त्यसपश्चात् मात्रै उत्पादन शुरू हुनेछ ।

यी प्रक्रिया पूरा हुन करीब १ वर्ष लाग्ने देखिन्छ । सरकारले कम्पनी स्थापना गरेर यी सबै प्रक्रिया सोही कम्पनीमार्फत अघि बढाउने तयारी गरेको छ । धौबादीको फलाम खानीमा २०६७/६८ देखि नै अन्वेषण थालिएको हो । तर, २०७२/७३ देखि मात्रै यसमा नियमित काम शुरू भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)