ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल भ्रमण वर्ष २०२० : भ्रमण वर्ष कार्यान्वयनको स्पष्ट खाका ल्याइँदै 

Aug 11, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं  ।  नेपाल भ्रमण वर्ष २०२० शुरू हुन पाँच महीना बाँकी रहँदा सरकार भ्रमण वर्ष कार्यान्वयनको खाका ल्याउने तयारीमा लागेको छ । पर्यटन वर्ष घोषणा गरे पनि तदनुरूप काम हुन नसकेको भन्दै सरकारको आलोचना भइरहेको बेला नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईले १५ दिनभित्रै भ्रमण वर्ष कार्यान्वयनको खाका ल्याइने बताएका छन् । 

पर्यटन क्षेत्रका सरोकारवाला पक्षसँग शुक्रवार भएको अन्तरक्रियामा मन्त्री भट्टराईले निजी क्षेत्रको सुझाव र भ्रमण वर्ष सचिवालयले गरेका काम र गर्न बाँकी कामहरूसहित १५ दिनभित्रै खाका सार्वजनिक गरिने बताए । उनले भ्रमण वर्ष सरकारको मात्र नभएर सबै नेपालीको भएकाले पर्यटनसँग सम्बन्धित निकायले आफूले गर्न सक्ने कामको सूची र भ्रमण वर्ष सफल बनाउन सरकारले गर्ने कामहरूको सुझाव तीन दिनभित्र उपलब्ध गराउन सरोकारवालाहरूलाई आग्रह गरे ।

‘पर्यटनमा पूर्वाधार विकासको विषय सरकारको होला तर व्यवसाय त निजी क्षेत्रले गर्ने हो । आ–आफ्नो क्षेत्रमा भ्रमण वर्ष सफल बनाउन के गर्न सकिन्छ र सरकारले के गरिदिनु पर्‍यो, तीन दिनभित्र भ्रमण वर्ष सचिवालयमा उपलब्ध गराउनु होला,’ मन्त्री भट्टराईले भने । मन्त्री भट्टराईले व्यवसायी र अन्य स्वतन्त्र ढंगबाट आएका सुझावकै आधारमा समय किटान गरेर भ्रमण वर्षको काम सकेर २०२० जनवरी १ मा सातै प्रदेशमा एकै समयमा भ्रमण वर्षको उद्घाटन गरिने बताए । 

यस्तै, उनले विदेशस्थित दूतावासको सहयोगमा जनवरी पहिलो हप्ता ती देशका राष्ट्र वा सरकार प्रमुखबाट भ्रमण वर्ष उद्घाटन गराउने गरी सोच र काम सँगसँगै अगाडि बढाइने पनि बताए । यस्तै, उनले त्यसअघि टुँडिखेलमा २०औं हजार व्यक्तिको उपस्थितिमा देशभरका पर्यटन व्यवसायीलाई भेला गराएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत साथमा राखी पर्यटन वर्ष सफल बनाउन शपथ खुवाउने जानकारी दिए ।

उनले भ्रमण वर्ष सफल बनाउन विदेशस्थित नेपाली दूतावास, गैरआवासीय नेपाली तथा विदेशमा अध्ययन र श्रम गर्न गएका नेपालीहरूलाई समेत सहभागी गराइने बताए । ‘राजदूतहरूलाई अवकाशप्राप्त जीवन छुट्टी मनाउन र छोराछोरीलाई पढाउन पठाएको होइन । नेपालको प्रतिनिधित्व गर्ने भएपछि उहाँहरूको पनि भूमिका खोजिन्छ,’ उनले भने । 

पर्यटनसचिव मोहनकृष्ण सापकोटाले सरकारले पूर्वाधार विकास तथा सहजीकरणमा सहयोग गर्ने उल्लेख गर्दै भ्रमण वर्ष कार्यान्वयनको जिम्मा निजीक्षेत्रकै भएको बताए । भ्रमण वर्षका संयोजक सुरज वैद्यले भ्रमण वर्ष नै ढिला घोषणा हुनु, समयमा बजेट पास नहुनु जस्ता समस्या हुँदाहुदै पनि सचिवालयले तीव्र तयारी गरिरहेको बताए । उनले अन्तरराष्ट्रिय क्षेत्रमा ट्रिप एड्भाइजर र सीट्रिसँग डिजिटल प्रचार प्रसारको सम्झौता तथा लोन्ली प्लानेटसँग नेपालको कला, संस्कृति र एडभेन्चरको बारेमा फरक–फरक तीनओटा पुस्तक प्रकाशनमा सहकार्य भएको जानकारी दिए । 

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन बोर्डले पर्यटन क्षेत्रका सरोकारवालासँग बसेर ‘ग्याप एनालिसिस’ भइरहेको जानकारी दिँदै यसले गर्नुपर्ने कामको स्पष्ट चित्र दिने बताए ।

पर्यटनमन्त्री र भ्रमण वर्षका सरकारी अधिकारीलाई कतिपय व्यवसायीहरूले पूर्वाधारको विकास र अन्य आवश्यक तयारी गर्न सकिँदैन भने भ्रमण वर्षलाई २०२१ मा सार्न सुझाव दिएका छन् । उनीहरूले भ्रमण वर्षका विषयमा निजीक्षेत्रसँग आवश्यक परामर्श नगरिएको गुनासो समेत गरे । 

उनीहरुले विना तयारी गरिएको कामले सकारात्मकभन्दा पनि नकारात्मक सन्देश जाने भन्दै त्यसमा सचेत रहन सरकारलाई आग्रह गरे । सरकारले सन् २०२० मा २० लाख पर्यटक ल्याउने लक्ष्य राखेको छ । सन् २०१८ मा ११ लाख ७३ हजार पर्यटक नेपाल आएका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)