ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुदूरपश्चिम प्रदेश : जलविद्युत् सर्भेको अनुमति लिने बढ्दै

Aug 13, 2019  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा जलविद्युत् आयोजना निर्माणका लागि सर्भे अनुमति लिने कम्पनी बढ्दै गएको पाइएको छ । प्रदेशमा सरकारी स्वामित्वको ३० मेगावाट (मेवा)को चमेलिया जलविद्युत् आयोजना सम्पन्न भएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । यससँगै थप जलविद्युत् आयोजना निर्माणका लागि सर्भेको अनुमति लिने कम्पनीको संख्या बढेको हो ।

विद्युत् उत्पादनका लागि निजीक्षेत्रबाट सर्भेको अनुमति लिने कम्पनीको संख्या पछिल्लो समय बढ्दै गएको कालंगा हाइड्रो प्रालिका निर्देशक वीरेन्द्र मल्लले बताए । कम्पनीहरूले करीब २ सय मेवा विद्युत् उत्पादनका लागि प्रदेशका विभिन्न नदीको सर्भे र आयोजना निर्माणको अनुमति लिएका छन् । विद्युत् विकास विभागले सर्भेका लागि २ वर्ष र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए), विद्युत् खरीद सम्झौता (पीपीए) लगायत अन्य प्राविधिक मूल्यांकन ५ वर्षभित्र सम्पन्न गर्नुपर्ने शर्त राखेको निर्देशक मल्लले बताए ।

१ देखि ६५ मेवाका आयोजना
सुदूरपश्चिममा १ देखि २५ मेवासम्मका जलविद्युत् आयोजना सर्भेका लागि दर्जनौं खोलामा अनुमति दिइएको छ । १ मेवाभन्दा कमको थालीगाड जलविद्युत् आयोजना निर्माणका लागि दार्चुलाको महाकाली नगरपालिकाले सर्भे अनुमति पाएको छ । दार्चुलामा अपी हाइड्रोपावरले निर्माण गर्दै आएको ८ मेवाको अपर नौगाड आयोजना अन्तिम चरणमा पुगेको कम्पनीका निर्देशक महेन्द्र न्यौपानेले बताए ।

दार्चुलामै ४० मेवाको माथिल्लो चमेलिया निर्माण प्रक्रिया पनि अघि बढेको अपी हाइड्रोपावरले जानकारी दिएको छ । बझाङमा जेउलीगाड रंगुनखोला हाइड्रोपावरले १ मेवा क्षमताको आयोजना निर्माण गरिरहेको छ । बझाङमै कालंगागाड हाइड्रो प्रालिले ७२ मेवा क्षमताको कालंगागाड जलविद्युत् आयोजना बनाउँदै छ । बाजुरामा ५ मेवाको मध्य बुढीगंगा, बझाङमा ८ मेवाको लोयर कालंगा, दार्चुलामा १४ मेवाको छट्टीगाड, बझाङमा ११ मेवाको सुनीगाड, बझाङको चैनपुरमा २ मेवाको जेउली गाड, डोटी र कैलालीमा ९ मेवाको ठूलीगाड र बझाङमा ८ मेवाको अपर सुनीगाड जलविद्युत् आयोजना निर्माणका लागि विद्युत् विकास विभागले सर्भे अनुमति दिएको छ ।

आयोजनाहरूको कुल क्षमता १८ सय मेवा
जलविद्युत् उत्पादन तथा सर्भेका लागि विद्युत् विकास विभागले निजीक्षेत्रलाई अनुमति दिएका, विभागले अध्ययन गरी ‘बास्केट’मा राखेका, अध्ययन गरेका र उत्पादन शुरू गरेका आयोजनाबाट प्रदेशमा कुल १ हजार ८२९ दशमलव ६४ मेगावाट जलविद्युत् उत्पादन हुने उल्लेख छ । जलविद्युत् म्यापिङ, स्क्रिनिङ तथा पूर्वसम्भाव्यता अध्ययनअनुसार प्रदेशका ३० आयोजना निर्माण प्रक्रियामा छन् । १ हजार ६५५ मेवाका उक्त जलविद्युत् आयोजनामध्ये १०७ मेवाका ८ आयोजना पीपीए र वित्तीय व्यवस्थापन समेत भएर निर्माणाधीन रहेको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका जलस्रोत तथा ऊर्जा महाशाखाका इन्जिनीयर लोजाङडेन्डुप शेर्पाले बताए । नेपाल विद्युत् प्राधिकरण सुदूरपश्चिमका प्रमुख सतीशकुमार कर्णले प्रदेशमा धेरै आयोजना पाइपलाइनमा रहेको बताए । यद्यपि धेरै आयोजनाको सम्भाव्यता अध्ययन मात्र भइरहेको शेर्पाको भनाइ छ । ‘झोलामा खोला राखेर जलविद्युत्को विकास हुँदैन,’ उनले भने, ‘सर्भेको अनुमति लिने कम्पनीले समयमा काम गरे/नगरेको अनुगमन भए मात्रै सर्भे अनुमतिको औचित्य रहन्छ ।’

सौर्य ऊर्जाको सम्भावना २०५ मेवा
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आव २०७५/७६ मा गरेको ऊर्जासम्बन्धी अध्ययनमा बझाङमा ३५ दशमलव ४२, कैलालीमा ३२ दशमलव ८, दार्चुलामा २४ दशमलव १७, बाजुरामा २३ दशमलव ७५, डोटीमा २१ दशमलव ६७, अछाममा १८ दशमलव ३३, बैतडीमा १६ दशमलव २५, डँडेलधुरामा १६ दशमलव २५ र कञ्चनपुरमा १५ दशमलव ८३ गरी कुल २०५ चार मेगावाट सौर्य ऊर्जा उत्पादन गर्न सकिने देखाएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)