ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुनको मूल्य बढ्ने क्रम जारी, प्रतितोला ७१ हजार

Aug 14, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौ । गत शुक्रवारदेखि स्थिर रहेको सुनचाँदीको मूल्य मंगलवार पुनः बढेको छ । मंगलवारसम्म आउँदा सुनको मूल्य रू. ७१ हजार र चाँदीको मूल्य रू. ८३५ पुगेको छ ।

पछिल्लो समय निरन्तर रूपमा बढ्दै गएको सुनको मूल्य गत शुक्रवारदेखि रू. ७० हजारमा स्थिर थियो । तर, मंगलवार भने रू. १ हजारले बढेर सुनको मूल्यले नयाँ कीर्तिमान नै कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउनमा मात्र सुनको मूल्य तोलामा रू. ६ हजार ५ सयले बढेको छ । गत असार मसान्तमा एक तोला सुनको मूल्य रू. ६४ हजार ५ सय थियो । 

सुनको मूल्य बढ्दै गए पनिसुनको कारोबार भने अत्यन्तै न्यून भएको छ । तीज, दशैं लगायतका ठूला चाडपर्वहरू नजीकिँदै जाँदा पनि सुनका गरगहना बनाउन ग्राहकहरूमा उत्साह देखिएको छैन । बाध्यात्मक परिस्थितिमा कतिपय मानिसले पुराना गरगहनामार्फन नै नयाँ गरगहना गराउने गरेको महासंघका निवर्तमान अध्यक्ष तेजरत्न शाक्य बताउँछन् ।

कारोबार नै घटेपछि यतिखेर अधिकांश पसलहरूमा नयाँ सुन किनी गहना बनाउनेभन्दा पनि गरगहना फिर्ता गर्ने प्रवृत्ति बढेको छ । साथै, गरगहना बनाउने काम नै नभएपछि कालीगढ (कामदार) हरू लामो छुट्टी लिएर घर फर्किन थालेका सुनचाँदी व्यवसायीहरू बताउँछन् । नेपालमा अधिकांश कालीगढहरू भारतका नागरिक छन् । महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले भने, ‘पसल खोल्यो भने गरगहना फिर्ता गर्ने ग्राहकले तनाव दिने गर्छन् । अब पसल नै बन्द गरेर वैकल्पिक पेशा शुरू गर्ने मनस्थितिमा छौं ।’ 

नेपालमा सुनको मूल्य बढ्नु कुनै अस्वाभाविक नभएको महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्य बताउँछन् । उनले भने, ‘अन्तरराष्ट्रिय बजारको पछिल्लो घटना क्रमलाई हेर्दा सुनको मूल्य घट्ने संकेत छैन, जसअनुसार अझै पनि सुनको कारोबारलाई रेड सिग्नल नै छ भन्दा हुन्छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)