ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘जामको कारण आरोहीको मृत्यु भएको होइन’

Aug 15, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । सन् २०१९ को वसन्त ऋतुमा सगरमाथा आरोहणका क्रममा अत्यधिक जाम भएको र सोही कारण आरोहीहरूको मृत्यु भएको भनी राष्ट्रिय तथा अन्तरराष्ट्रिय सञ्चारमाध्यममा आएका समाचार निराधार भएको सरकारी प्रतिवेदनले बताएको छ । नेपालको पर्वतीय पर्यटनका क्षेत्रमा देखा परेका समस्याको समाधान गर्न गठित समितिले बुधवार प्रतिवेदन सार्वजनिक गर्दै त्यो जाम मौसम प्रतिकूलताका कारण मात्र भएको निष्कर्ष निकालेको हो । 

उक्त सिजनमा सगरमाथा सहित ८ हजार मीटर माथिका हिमाल आरोहण गर्ने क्रममा १५ जना आरोहीको मृत्यु भएको थियो भने दुई जना अझै बेपत्ता रहेका छन् । आरोहीको मृत्यु हुनुमा हाई अल्टिच्युड, कमजोर शारीरिक अवस्था, आकस्मिक मुर्छा आदि कारण रहेको प्रतिवेदनको निचोड छ । अध्ययन समितिका संयोजक तथा पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले आर्थिक अभियानसँग कुरा गर्दै भने, ‘सञ्चारमाध्यममा भनिए जसरी सगरमाथा आरोहणको अनुमति धेरै दिइएको, त्यसको कारण जाम भएको र सोही कारणले आरोहीको मृत्यु भएको विषय तथ्यले पुष्टि गर्न सक्ने देखिँदैन ।’ 

प्रतिवेदनका अनुसार बढी जाम भएको भनिएको मे २२ मा एक जना मात्र आरोहीको मृत्यु भएको थियो । त्यस दिन मौसम अनुकूल रहे पनि त्यसभन्दा अघि आएको फानी नामको आँधीले उक्त क्षेत्रमा हिमपात भई आरोहणका लागि शिखरसम्म डोरी टाँग्ने कार्य प्रभावित भएको, आरोही बस्नका लागि बनाइएका करीब १९ ओटा टेन्ट उडाएको र उक्त स्थानसम्म पुगेका आरोही बस्न नसकी आधार शिविर नै फर्कनु परेका कारण सो दिन सगरमाथा आरोहणमा धेरै जनाको लाम देखिएको प्रतिवेदनमा उल्लेख छ । 

पर्यटन विभागले सन् २०१९ को वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४४ दलमार्फत ३८१ जना आरोही र ६४२ जना सहयोगीलाई अनुमति प्रदान गरेकोमा २८० जना आरोही र ३६४ जना सहयोगीले सफल आरोहण गरेका थिए ।

अध्ययन समितिले हिमाल आरोहणमा नीतिगत, संरचनागत र कार्यविधिगत सुधार गर्न सुझाव दिएको छ । १ दिनको आरोहण योजना बनाउँदा आरोही संख्या १५० भन्दा बढी नगर्ने, आरोहणको मापदण्ड निश्चित हुनुपर्ने, विभिन्न उचाइका हिमालको अवस्था, संवेदनशीलता, जोखिम समेतलाई ख्याल गरी वैज्ञानिक मापदण्ड अवलम्बन गर्नुपर्ने समितिको सुझाव  रहेको छ । यस्तै ८ हजार मीटर माथिका हिमाल आरोहण व्यवस्थापनको जिम्मा निश्चित संख्यामा आरोहण अभियान सञ्चालन गरेको एजेन्सीलाई, वा एजेन्सी स्थापना भई आरोहणका कार्य व्यवस्थापन गर्न थालेको तेस्रो वर्षपछि मात्र गर्न दिने, त्यस्तो एजेन्सीलाई पर्यटकको खोजी, उद्धार र उपचार समेतको प्रबन्ध गर्न आवश्यक पर्ने निश्चित रकम बैंक ग्यारेन्टी राख्न लगाउने तथा सम्पर्क अधिकृतको भूमिका प्रभावकारी बनाउने सुझाव पनि समितिले दिएको छ ।

गत जेठ २४ को मन्त्रिपरिषद् निर्णयानुसार गठित कार्यदलले समितिको प्रतिवेदन बुधवार पर्यटन मन्त्री योगेश भट्टराइलाई बुझाएको हो । प्रतिवेदन ग्रहण गर्दै मन्त्री भट्टराईले कतिपय विषय ऐनमा, कतिपय नियमावलीमा र कतिपय विषय नयाँ नीतिगत व्यवस्था गरी कार्यान्वयनमा लगिने उल्लेख गरे । उनले यो प्रतिवेदनले नेपालमा हिमाल सुरक्षित छन् भन्ने तथ्य सार्वजनिक गरेको बताए । 

सम्पर्क अधिकृत समूहको आचारसंहिता र मापदण्ड बनाई लागू गरिने जानकारी दिँदै मन्त्री भट्टराईले यो पटक तोकिएको स्थानमा नगएका सम्पर्क अधिकृतलाई आगामी दिनमा सम्पर्कको काममा नखटाउने गरी अभिलेख राख्न मन्त्रालय र पर्यटन विभागलाई निर्देशन दिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)