पर्वत । जिल्लाको महाशिला गाउँपालिका–६, फलामखानीस्थित ठाडोपाखा सामुदायिक वनमा गरिएको चियाखेतीको परीक्षण सफल भएको हो । गाउँपालिकाको लगानीमा पहिलोपटक चियाखेती शुरू गरिएको हो । गतवर्ष परीक्षण थालिएकोमा बिरुवा राम्रोसँग हुर्किएको र उत्पादन सफल देखिएको गाउँपालिकाका अध्यक्ष राजु पौडेलले जानकारी दिए ।
‘पहिलो पटक गरेको परीक्षण सफल देखियो,’ उनले भने, ‘थप क्षेत्रमा विस्तार गर्न हौसला मिलेको छ ।’ उनका अनुसार ५ रोपनी क्षेत्रमा ३ हजार बिरुवा रोपिएको थियो । गाउँपालिकाले करीब रू. २ लाखको लगानीमा चियाखेतीको परीक्षण गरेको पौडेलले बताए । महाशिला गाउँपालिकाका सबै वडा समुद्री सतहदेखि २२ सय मिटर उचाइमा छन् । सबै वडामा खेती विस्तार गर्ने सम्भावना देखिएको अध्यक्ष पौडेलले बताए ।
चिसापानी लेक, डहरे लेक, पैयुँकोट, धाउखानीलगायतका स्थानमा समेत चियाखेतीको परीक्षण गर्न थालिएको छ । गत आवमा चियाखेतीका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिकाले यसपालि पनि उत्तिनै रकम छुट्याएको छ । गाउँपालिकाले सार्वजनिक जग्गा र निजी जमीनसमेत भाडामा लिएर नगदेबाली, फलफूल र तरकारी खेती गर्ने नीति तथा कार्यक्रम पारित गरेको छ । ‘बाँझिएका र खाली रहेका जग्गामा खेती गर्ने योजना छ,’ गाउँपालिकाका प्रवक्ता जीवन उचै ठकुरीले भने, ‘नीति तथा कार्यक्रमअनुसार चालू आवमा थप क्षेत्रमा चिया र अलैंची खेती विस्तार गर्छौं ।’
सकेसम्म निःशुल्क वा जग्गाको अवस्था हेरेर वार्षिक रूपमा भाडामा लिने योजना बनाइएको उनले बताए । भाडामा लिएको जमीनलाई व्यापारिक प्रतिष्ठान, सहकारी र स्थानीय कृषकका समूहलाई समेत भाडामा दिने तयारी छ । ‘कृषि, नापी, भूगर्भविद्लगायतका विज्ञ बोलाएर भू–उपयोग सम्बन्धी नीति बनाउँछौं,’ ठकुरीले भने, ‘सकेसम्म यसलाई स्थायी बनाउने लक्ष्य छ ।’
६ ओटा वडा रहेको महाशिलामा अधिकांश जमीन बाँझो छ । गाउँपालिकाको कृषि शाखाका अनुसार ४८ दशमलव ३८ वर्ग किमी क्षेत्रफलमध्ये २ हजार ६७० हेक्टर खेतीयोग्य जमीन छ । सिँचाइको सुविधा १४० हेक्टर जमीनमा मात्रै पुगेको छ । ‘बाँझो जमीनको तथ्यांक निकाल्ने काम अब शुरू गर्दै छौं,’ कृषि शाखा प्रमुख तेजप्रसाद शर्माले भने, ‘वर्गीकृत रूपमा तथ्यांक बनाउने हाम्रो लक्ष्य छ ।’ महाशिला चिया खेती गर्ने र जमीन भाडामा लिएर खेतीपाती गर्ने योजना पारित गर्ने जिल्लाको पहिलो गाउँपालिका हो ।