ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हवाई सुरक्षा प्रतिवेदन–२०१९ : नेपाल आइकाओको औसत मापदण्डभन्दा माथि

Aug 16, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । यूरोपेली संघ (ईयू) को कालोसूचीमा रहेको कारण यूरोपेली आकाशमा उडान अनुमति नपाएको नेपाल हवाई सुरक्षामा अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को औसत मापदण्डभन्दा माथि देखिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार सार्वजनिक गरेको हवाई सुरक्षा प्रतिवेदन–२०१९ अनुसार आइकाओका विभिन्न आठओटा मापदण्डमा नेपालको औसत अवस्था ६६ दशमलव ७६ प्रतिशत रहेको छ । आइकाओको ग्लोबल एभिएशन सेफ्टी प्लान (जीएएसपी) मा औसत मापदण्ड ६० प्रतिशत छ । 

तर, विषयगत रूपमा केही क्षेत्रमा भने नेपालले उल्लेख्य सुधार गर्नुपर्ने प्रतिवेदनले देखाएको छ । आइकाओले आठ क्षेत्रहरू – हवाई कानून, नागरिक उड्डयनको संगठन, व्यक्तिगत इजाजत पत्र, वायुयान सञ्चालन, उडान योग्यता, वायुयान दुर्घटना र जाँच, एयर नेभिगेशन सेवा र विमानस्थल सञ्चालनको समग्र अडिट गरी सम्बद्ध मुलुकहरूको हवाई सुरक्षाको आकलन गर्ने गरेको छ । तीमध्ये संस्थागत संरचनाको सुधार र दुर्घटना तथा जाँचको विषय नेपाल मापदण्डभन्दा तल देखिएको छ । 

प्राधिकरणका अधिकारीका अनुसार यी दुई क्षेत्रमा पनि क्रमिक सुधार भइरहेको र ईयूले उठाउँदै आएका अधिकतम सुरक्षा चासोहरू सम्बोधन भइसकेको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए । 

आइकाओले सन् २००९ मा नेपालको हवाई सुरक्षा अडिट गरेको थियो । सो समयमा उसले सुधार गर्न विभिन्न सुझाव दिए पनि ती पूरा नहँुदा उसले नेपाललाई २०१३ मा गम्भीर सुरक्षा चासो (एसएससी) मा राखेको थियो । त्यसकै आधारमा ईयूले पनि नेपाललाई कालोसूचीमा राखी नेपाललाई उडान प्रतिबन्ध गर्दै आएको छ । यद्यपि आइकाओको (एसएससी) सूचीबाट भने नेपाल तीन वर्षअघि नै हटाइसकेको छ । साथै, नेपालले २०१७ मा आइकाओको (एसएससी) सूचीबाट हटेको प्रमाणपत्र पाएको थियो । 

हवाई दुर्घटनाको मुख्य कारण ‘सिफिट’
सन् २००९ देखि २०१८ सम्म १० वर्षको अवधिमा नेपालमा सबैभन्दा धेरै हवाई दुर्घटनाको कारण कन्ट्रोल्ड फ्लाइट इन्टु टेरान (सिफिट) भएको प्राधिकरणको प्रतिवेदनले औंल्याएको छ । 

पाइलटको कमान्डमा रहेको कुनै पनि विमान अन्जानवश बादलभित्र छिरेर दुर्घटनामा पर्नु नै ‘सिफिट’ हो । प्रतिवेदन अनुसार सिफिटका कारण ७४ प्रतिशत र लस अफ कन्ट्रोल इन फ्लाइटका कारण २६ प्रतिशत मानवीय क्षति हुने गरेको छ । दुर्घटनाको अर्को कारण रनवे एक्सकर्सन (आरई) रहे पनि यस प्रकारका दुर्घटनामा मानवीय क्षति भएको देखिएको छैन ।

त्यस्तै नेपालका विमानस्थलमध्ये लुक्लाको तेन्जिङ हिलारी विमानस्थल सबैभन्दा जोखीमयुक्त विमानस्थलको सूचीमा परेको छ । नेपालमा भएका हवाई घटना तथा दुर्घटनाको तथ्यांक विश्लेषण गर्दा आन्तरिक विमानस्थलमध्ये लुक्ला सबैभन्दा जोखिमयुक्त विमानस्थलका रूपमा देखिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका अनुसार लुक्लापछि दुर्घटना भई अत्यधिक मानवीय क्षति भएका पहाडी विमानस्थलमा जोमसोम, जुम्ला, सिमीकोट र डोल्पा छन् ।

नेपालको आन्तरिक रूटमा हेलिकोप्टरदेखि क्यानेडियन सिआरजे जेट विमानसम्म उडान गर्ने १९ ओटा वायुसेवा कम्पनी छन् । ५१ विमानस्थलमध्ये करीब ३० ओटा विमानस्थलमा नियमित उडान हुने गरेको प्राधिकरणका उपमहानिर्देशक नरबहादुर थापाले जानकारी दिए । 

कालोसूचीबाट हटाउन पहल जारी : मन्त्री 
पर्यटन मन्त्री योगेश भट्टराईले नेपालले ईयूको प्रतिबन्ध हटाउन कूटनीतिक तथा प्राविधिक पहल जारी राखेको बताएका छन् । उनले प्राविधिक रूपमा उडान सुरक्षाका विषय सुधार भइरहेको, नीतिगत रूपमा गर्नुपर्ने प्रयास जारी रहेको अवस्थामा कालोसूचीमा राखिरहनुको आधार नरहेको बताए ।

‘यूरोपेली संघले जुन आधारमा नेपालका सबै वायुसेवा कम्पनीलाई आफ्नो उडान सुरक्षा सूचीमा समावेश गरेको थियो, त्यो अवस्था नरहेपछि नेपालस्थित यूरोपेली संघका राजदूतहरूलाई बोलाएर यस विषयमा सोधिने छ । अब प्रश्न उनीहरूले होइन, हामीले गर्ने हो,’ मन्त्री भट्टराईले भने । 

यद्यसप हवाई सुरक्षाको विषय अन्तरराष्ट्रिय चासोको विषय भएकाले सबै निकायबीच समन्वयकारी भूमिका आवश्यक रहेको र अहिले प्राप्त उपलब्धिलाई जोगाउँदै थप उपलब्धिका लागि काम गर्नुपर्ने उनले बताए । प्रतिवेदन सार्वजनिक कार्यक्रममा निजीक्षेत्रका विमान सञ्चालकहरूले पनि ईयूको कालोसूचीबाट हटाउन पहल गर्न सरकारलाई आग्रह गरेका थिए ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)