साउन ३२,पर्वत । पर्वत र बागलुङमा ८० ओटा नमूना कृषि फर्म तयार भएका छन् । कृषि ज्ञान केन्द्र पर्वतले वैदेशिक रोजगारीबाट फर्केका, एकल महिला, बेरोजगार, व्यावसायिक ज्ञान भएका युवालाई प्रोत्साहन गर्न गत आर्थिक वर्षदेखि नमूना फर्म कार्यक्रम शुरु गरेको हो ।
पर्वत र बागलुङ जिल्ला हेर्ने गरि पर्वतमा ज्ञान केन्द्र सञ्चालन भएपछि यो कार्यक्रम लागु भएको हो । एक वर्षको अवधिमा मोडल फर्म तयार गरि बाली लगाउन शुरु भएको छ । कृषिको व्यावसायिकरण, यान्त्रिकरण र आधुनिकिकरण गर्न भन्दै सरकारले शुरु गरेको नमूना फर्म कार्यक्रममा यूवाहरुको उत्साहजनक सहभागिता छ ।
कृषि ज्ञान केन्द्र प्रमुख बासुदेब रेग्मीका अनुसार व्यावसायिक फर्म सञ्चालनका लागि आवश्यक हाइटेक टनेल, सिंचाइ व्यवस्थापन, प्राविधिक उपकरण र अन्य पूर्वाधार निर्माणका लागि गत वर्ष अनुदान उपलब्ध गराइएको थियो ।
केन्द्रका अनुसार यसका लागि रू.३ करोड ४४ लाख खर्च भएको छ । कृषि प्राविधिकहरुले उत्पादनको संभावना हेरेर नमूना फर्म बनाउन किसानलाई सहयोग गरेका हुन् । कार्यालयले विभिन्न नौ ओटा बाली समेटेर नमूना फर्म सञ्चालन भएको जानकारी दिएको छ ।
त्यस अन्तर्गत मिश्रित बालीका ३२, तरकारीका २६, माहुरीका १०, सुन्तलाका पाँच, फलफूलका दुई, अलैंचीका दुई, अर्गानिक तरकारी, किवी खेती र च्याउका एक/ एक ओटा नमूना फर्म सञ्चालन गरिएको रेग्मीले बताए ।
‘धेरै पहिलादेखि यस्ता व्यावसायिक फर्मको परिकल्पना गरेका थियौं,’ रेग्मीले भने, ‘अपेक्षित बजेट अभावले सम्भव भएकै थिएन । अहिलेको उत्साह हेर्दा कार्यक्रम फलदायी हुने देखेका छौं ।’
नमूना फर्म कार्यक्रमका लागि किसानको माग संकलन गरि छनौट गरिएको थियो । व्यावसायिक खेती गर्ने सोच भएका र सीप भएका किसानलाई छनौट गरि अनुदान वितरण गरिएको ज्ञान केन्द्रले बताएको छ । एउटा फर्मका लागि रू.२ लाख ५० हजारदेखि ४ लाख ८५ हजारसम्म किसानले अनुदान पाएको रेग्मीले जानकारी दिए ।
नमूना फर्ममा कम्तीमा १ हजार जनाले प्रत्यक्ष रोजगारी पाएको अनुमान छ । सञ्चालन भएका कृषि फर्म मध्ये एउटा सामूहिक कृषि फर्म छ । त्यसबाहेक सबै व्यक्तिगत रूपमा सञ्चालन भएका छन् ।
ज्ञान केन्द्रले प्रांगारिक तरकारी खेती, पकेट र ब्लक विस्तार, कृषि वन प्रणाली, साना सिंचाइ, कृषि यान्त्रीकरण लगायतका कृषिमुखी कार्यक्रम पनि सञ्चालन गरिरहेको वाली संरक्षण अधिकृत सोनी रानाले बताइन् ।
व्यावसायिक फर्ममा छनोट भएर अनुदान सम्झौता गरेका किसानले प्रोत्साहनमुखी कार्यक्रमले हौसला जागेको बताएका छन् । ‘ हामीसँग अनुभव भए पनि लगानीको समस्या थियो,’ फलेवासका लक्ष्मीदत्त भुसालले भने,‘ व्यवसायिक बन्न चाहने तर लगानी नहुने मान्छेलाई यस्ता अनुदानले ठूलो राहत हुन्छ । उत्पादन बढाउन उत्प्रेरणा मिल्छ ।’
व्यावसायिक कृषिले विदेश जाने युवाहरुलाई यहीं रोक्ने र तरकारी, फलफूल, माछामासु र नगदेबालीको आयात रोक्ने किसानहरुको विश्वास छ ।