ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

माथिल्लो चमेलिया जलविद्युतको पीपीए : लागत अनुमान रू.७ अर्ब २० करोड

Aug 18, 2019  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको फाइल फोटो ।
author avatar वीरेन्द्र भट्ट

भदौ १, धनगढी । दार्चुला जिल्लामा रहेको माथिल्लो चमेलिया जलविद्युत् आयोजना निर्माणका लागि पीपीए (विद्युत् खरीद–विक्री) सम्झौता भएको छ । 

दार्चुलाको गुल्जरमा ४० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र अपि हाइड्रो पावर कम्पनीका कार्यकारी सञ्चालक सञ्जीव न्यौपानेले पीपीएका लागि हस्ताक्षर गरेका हुन् । यो आयोजनाको लागत अनुमान रू.७ अर्ब २० करोड रहेको छ  ।  

जलविद्युतको पीपीएपछि निर्माणको प्रक्रिया अघि बढेको अपि हाइड्रो पावर कम्पनीले बताएको छ । ग्रीडलाइन जडानका लागि यसअघि नै प्राधिकरणसँग सम्झौता भइसकेकोमा पीपीएको काम पनि सम्पन्न भएपछि निर्माणले तीव्र गति लिने कम्पनीले बताएको छ । 

दार्चुलामै यसअघि उक्त कम्पनीले आठ मेगावाट क्षमताको नौगाड तोकिएकै समयमा निर्माण सम्पन्न भई राष्ट्रिय प्रशारण लाइनमा जोडिइसकेको छ । योसँगै थप आठ मेगावाटको अपर नौगाड दोस्रो जलविद्युत् आयोजनाको निर्माण पनि अन्तिम चरणमा पुगेको कम्पनीका कार्यकारी सञ्चालक न्यौपानेले बताए ।
 
अपर नौगाड जलविद्युत आयोजनाको निर्माण ९७ प्रतिशत भन्दा बढि भइसकेको छ । असोज/ कात्तिक महीनाभित्रै राष्ट्रिय प्रशारण लाइनमा जोडिसक्ने गरी काम भइरहेको कम्पनीले बताएको छ । ‘४० मेघावाटको माथिल्लो चमेलिया पनि दार्चुलामै निर्माण हुन लागेकाले हाम्रो यो जिल्लामा यो तेस्रो आयोजना हो, सञ्चालक न्यौपानेले भने । माथिल्लो चमेलिया निर्माणका लागि कानुनी प्रक्रियाहरु सम्पन्न भइसकेकोले अव लगानीका लागि बैंकहरुसँग छलफल शुरु  हुने अपि हाइड्रो पावर कम्पनीका निर्देशक महेन्द्र न्यौपानेले बताए ।

माथिल्लो चमेलिया जलविद्युत् आयोजनाबाट वार्षिक २६ दशमलव ४१ करोड युनिट विद्युत् उत्पादन हुने अपेक्षा छ । कम्पनीले दशैंपछि निर्माण शुरु गर्ने गरी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । आयोजनाको लागत प्रतिमेगावाट रू.१८ करोडको हिसाबले आयोजनाको कुल लागत रू.७ अर्ब २० करोड लाग्ने अनुमान कम्पनीको छ ।

विद्युत् प्राधिकरण आफैंले निर्माण गरेको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको निर्माण लागत प्रतिमेगावाट झन्डै रू.५३ करोड पुगेको थियो । माथिल्लो चमेलिया आयोजनाको निर्माणपछि सुदूरपश्चिम प्रदेशमा विद्युत् आपूर्ति बढ्ने र भारतबाट विद्युत् आयात अन्त्य हुने अपेक्षा स्थानीयले गरेका छन् ।

दार्चुलामै २० मेगावाटको तल्लो चमेलिया जलविद्युत् निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रीपरिषदबाट निर्णय गरेर उक्त निर्णय कार्यान्वयनका लागि संघीय सरकारसँग सहमतिका लागि पत्राचार गरेको मुख्यमन्त्री त्रिलोचन भट्टले बताए ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)