धनगढी । माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको निर्माण आगामी कात्तिकदेखि शुरू हुने भएको छ । आयोजना निर्माणका लागि कानूनी प्रक्रियाहरू सम्पन्न भइसकेकोले अब लगानीका लागि बैंकहरूसँग आवश्यक छलफल भरहेको निर्माण कम्पनी अपि हाइड्रो पावरका निर्देशक महेन्द्र न्यौपानेले बताए ।
दार्चुलास्थित ४० मेगावाटको उक्त आयोजनाको गत फागुन १५ मा पीपीए (विद्युत् खरीद–विक्री) सम्झौता भएको थियो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र अपिका कार्यकारी सञ्चालक सञ्जीव न्यौपानेले पीपीएका लागि हस्ताक्षर गरेका थिए । जलविद्युत्को पीपीएपछि निर्माणको प्रक्रिया अघि बढेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार ग्रीडलाइन जडानका लागि यसअघि नै प्राधिकरणसँग सम्झौता भइसकेको छ ।
दार्चुलामै यसअघि उक्त कम्पनीले ८ मेगावाट क्षमताको नौगाड जलविद्युत् आयोजना तोकिएकै समयमा निर्माण सम्पन्न गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छ । थप ८ मेगावाटको अपर नौगाड दोस्रो जलविद्युत् आयोजनाको निर्माण पनि अन्तिम चरणमा पुगेको न्यौपानेले बताए ।
सो आयोजनाको निर्माण ९७ प्रतिशतभन्दा बढी भइसकेको छ । असोज÷कात्तिकभित्रै राष्ट्रिय प्रसारण लाइनमा जोडिसक्ने गरी काम भइरहेको कम्पनीले बताएको छ । ‘४० मेवाको माथिल्लो चमेलिया पनि दार्चुलामै निर्माण हुन लागेकाले हाम्रो यो जिल्लामा यो तेस्रो आयोजना हो,’ न्यौपानेले भने । माथिल्लो चमेलियाबाट वार्षिक २६ दशमलव ४१ करोड युनिट विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ । आयोजनाको लागत प्रतिमेगावाट १८ करोडको हिसाबले आयोजनाको कुल लागत ७ अर्ब २० करोड रुपैयाँ लाग्ने अनुमान कम्पनीको छ ।
विद्युत् प्राधिकरण आफैले निर्माण गरेको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको निर्माण लागत प्रतिमेगावाट झन्डै ५३ करोड रुपैयाँ पुगेको थियो । माथिल्लो चमेलिया आयोजनाको निर्माणपछि सुदूरपश्चिम प्रदेशमा विद्युत् आपूर्ति बढ्ने र भारतबाट विद्युत् आयात अन्त्य हुने अपेक्षा गरिएको छ । दार्चुलामै २० मेगावाटको तल्लो चमेलिया जलविद्युत् निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रिपरिषद् स्तरीय निर्णय गरेर कार्यान्वयनका लागि संघीय सरकारसँग सहमतिका लागि पत्राचार गरिएको प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बताए ।