काठमाडौ । वर्षौंदेखि सम्पन्न हुन नसकेका सानाठूला ३८ परियोजना गत आर्थिक वर्ष २०७५/७६ मा सम्पन्न गरेसँगै नेपाल विद्युत् प्राधिकरणले अब बहुआयामिक महत्वका ‘गेम चेन्जर’ (मुलुकमा ठूलो प्रभाव पार्न सक्ने) परियोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । आइतवार राजधानीमा आयोजित प्राधिकरणको ३४औं वार्षिकोत्सव समारोहमा बोल्दै कार्यकारी निर्देशक कुलमान घिसिङले अब गेम चेन्जर परियोजना सम्पन्न हुने बताए । प्राधिकरणको मेहनतका कारण चमेलिया, कुलेखानी तेस्रो, माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत्का साथै काबेली कोरिडोर प्रसारण आयोजना जस्ता वर्षौंदेखि थलिएका सानाठूला ३८ आयोजना गत आवमा सम्पन्न भएका छन् । उक्त आयोजनाहरूको निर्माणले मुलुकमा ठूलो परिवर्तन ल्याउन सक्ने विद्युत् उत्पादन, प्रसारण तथा वितरण सम्बन्धी थप आयोजनाहरू सम्पन्न गर्न मद्दत मिल्ने प्राधिकरणको विश्वास छ ।
‘वर्षौंदेखि थलिएर रहेका सानातिना परियोजनाको पछि लाग्दा ठूला तथा प्रभावकारी परियोजनामा ध्यान दिन भ्याइएको थिएन,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘तिनिहरूलाई पार लगाएपछि अब देशको विद्युत् क्षमता तथा आर्थिक समृद्धिलाई सघाउ पु¥याउने परियोजनामा ध्यान दिन पाइने भएको छ ।’ यस्ता परियोजनामा माथिल्लो तामाकोशी, अपर अरुण पिकिङ र दूधकोशी जलाशययुक्त जस्ता जलविद्युत् आयोजना, बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन तथा देशभित्रैका ४०० र २०० केभी प्रसारण लाइन रहेको घिसिङले बताए ।
त्यसमध्ये चालु आवभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको प्राधिकरण अन्तर्गतको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना (४५६ मेवा)लाई एक प्रमुख गेम चेन्जर परियोजनाका रूपमा लिइएको छ । हालसम्म उपभोक्ताको माग धान्न बर्खामा समेत विद्युत् आयात गरिरहेको प्राधिकरण माथिल्लो तामाकोशी सञ्चालनमा आएपछि बर्खामा विद्युत् खपत वृद्धि गर्ने वा निर्यात गर्न सक्षम हुनेछ । यसकारण उक्त आयोजना प्राधिकरणको एक प्रमुख गेम चेन्जर आयोजना हुने निश्चित छ ।
यसबाहेक, निर्माणाधीन पूर्व–पश्चिम ४०० केभी प्रसारण लाइन पनि चालु आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याउने गरी काम भइरहेको प्राधिकरणले जानकारी दिएको छ । आन्तरिक विद्युत् प्रणाली बलियो बनाउन उच्च क्षमताको यो प्रसारण लाइन अगाडि बढाइएको हो । यो प्रसारण लाइन सञ्चालनमा आएपछि उत्तर–दक्षिण विभिन्न नदी कोरिडोर हुँदै निर्माण भइरहेका २२० र ४०० केभी प्रसारण लाइनबाट आउने विद्युत् सहजै प्रवाह हुनेछ ।
त्यसैगरी, भारतसँगको दोस्रो अन्तरदेशीय प्रसारण लाइनका रूपमा विकास गर्न लागिएको बुटवल–गोरखपुर प्रसारण लाइनले नेपालको विद्युत् प्रणाली ‘स्टेबल’ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने प्राधिकरणले बताएको छ ।
चार वर्षभित्र देशैभरि बिजुली
हाल राष्ट्रिय प्रणालीबाट ७८ प्रतिशत उपभोक्तामाझ विद्युत् पुर्याइरहेको प्राधिकरणले आगामी ४ वर्षभित्र शत प्रतिशत उपभोक्तामा विद्युत् पु¥याउने लक्ष्य लिएको छ । प्राधिकरण बाहेक वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र मार्फत् विकास गरिएका सोलार तथा लघु जलविद्युत् आयोजना जस्ता परियोजनाबाट थप १२ प्रतिशत उपभोक्ता माझ प्रणाली बाहिरको (अफ ग्रिड) विद्युत् पुगेको छ ।
सरकारले सन् २०२३ सम्ममा देशका प्रत्येक घर धुरीमा पर्याप्त विद्युत् वितरण सञ्जाल पुर्याउन प्राधिकरणलाई निर्देशन दिएको छ । स्थानीय रूपमै विद्युत् उत्पादन हुने तथा देशभर गुणस्तरीय विद्युत् प्रसारण तथा वितरण प्रणाली विस्तारले आगामी ४ वर्षमा शत प्रतिशत उपभोक्तामा विद्युत् पु¥याउन सकिने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए ।