ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आईकाओको ५६औं डीजी सम्मेलन काठमाडौंमा : उड्डयन क्षेत्रका समस्या र कार्ययोजनामा छलफल हुँदै

Aug 19, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । एशिया तथा प्यासिफिक क्षेत्रको नागरिक उड्डयनका महानिर्देशकहरूको ५६औं सम्मेलन सोमवारदेखि काठमाडौंमा शुरू हुने भएको छ । सम्मेलनमा उड्डयन क्षेत्रका समस्या र भावी कार्ययोजनामाथि छलफल गरिने भएको छ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तय भएको छ ।

अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को वार्षिक कार्यक्रमअनुसार सम्मेलन आयोजना हुन लागेको हो । सम्मेलनमा एशिया तथा प्यासिफिक क्षेत्रको एयर नेभिगेसन, हवाई सुरक्षा तथा सहजीकरण, हवाई यातायात क्षेत्रको आर्थिक विकास, उड्डयन वातावरण, क्षेत्रीय सहकार्य र आईकाओ अपडेटलगायत १२ एजेन्डामा ५ दिनसम्म छलफल हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । 
सम्मेलनमा वर्षभरि आआफ्नो देशले हवाई क्षेत्रमा गरेका कार्यहरूको मूल्यांकन गरी भावी दिनमा गर्नुपर्ने सुधार तथा नीतिगत व्यवस्थामा छलफल हुने भएको छ । ‘क्षमताको सीमितता सम्बोधनको लागि साझा प्रयास’ भन्ने नारासहित भदौ २ देखि ६ गतेसम्म चल्ने सम्मेलनमा एशिया तथा प्यासिफिक क्षेत्रका ४६ राष्ट्रमध्ये ३४ राष्ट्रका प्रतिनिधि सहभागी हुनेछन् । 

आईकाओले हरेक वर्ष उसका क्षेत्रहरूमा नागरिक उड्डयनका महानिर्देशकको सम्मेलन गर्ने गर्दछ । सोहीअनुसार यो पटक नेपालले एशिया तथा प्यासिफिक क्षेत्रको प्रतिनिधित्व गरी कार्यक्रम आयोजना गरेको हो । यस्तो कार्यक्रम नेपालमा तेस्रोपटक आयोजना हुन लागेको हो । नेपालले यसअघि सन् १९७८ मा १४औं र १९९८ मा ३४औं सम्मेलन आयोजना गरेको थियो । यसअघि ५५औं सम्मेलन फिजीमा आयोजना भएको थियो भने ५७औं सम्मेलन बंगलादेशमा आयोजना हुने प्राधिकरणले जानकारी दिएको छ । 

यो सम्मेलनमा अघिल्लो वर्ष भएका छलफलको कार्यान्वयनको अवस्था मूल्यांकन, आईकाओबाट नीतिगत रूपमा हुने काममा सुझाव र यसको लागि विभिन्न राष्ट्रबीच आ–आफ्नो एजेन्डाका विषयमा छलफल गरिनेछ । सम्मेलनमा १६ ओटा उड्डयनसँग सम्बन्धित विदेशी संगठन करीब ४ सय विदेशी प्रतिनिधि र ३३ ओटा नेपाली संगठनका प्रतिनिधि गरी करीब ५ सय जना सहभागी हुने प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए । सम्मेलनमा १२ एजेन्डामा ५४ कार्यपत्र र ४८ जानकारी पत्र प्रस्तुत हुनेछन् । यस्तै, नेपालले नागरिक उड्डयन सुरक्षामा बढ्दो चुनौती लगायतका तीनओटा कार्यपत्र प्रस्तुत गर्ने पोखरेलले बताए ।

यस सम्मेलनमा छलफल गरी तय भएका विषयहरूलाई आगामी अक्टोबरमा थाइल्यान्डको बैंककमा हुने महासभा सम्मेलनमा पेश गरिनेछ । महासभामा आईकाओसँग आबद्ध १९३ मुलुकका प्रतिनिधि सहभागी हुन्छन् । आईकाओले विश्वमा सुरक्षित, नियमित र प्रभावकारी नागरिक उड्डयनका लागि उड्डयन सम्बन्धी नियम, मापदण्ड, सिफारिश, मार्गदर्शन र सर्कुलर आदि जारी गर्ने गर्दछ । यसकै आधारमा सदस्य राष्ट्रहरूले नागरिक उड्डयनसम्बन्धी नियम, कानून, निर्देशिका तथा कार्यविधि तर्जुमा गरी लागू गर्छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)