भदौ २, काठमाडौं । अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को हवाई महानिर्देशकको ५६औं सम्मेलन सोमवारदेखि काठमाडौंमा शुरु भएको छ । उद्घाटन सत्रमा उड्डयन क्षेत्रका विज्ञहरुले हवाई सुरक्षा, पूर्वाधार विकास तथा क्षेत्रीय समन्वयमा जोड दिएका छन् । पाँच दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले सोल्टी होटलमा उद्घाटन गर्नुभएको हो ।
‘क्षमताको सीमितता सम्बोधनको लागि साझा प्रयास’ भन्ने नारासहित शुरु भएको सम्मेलनमा एशिया प्रशान्त क्षेत्रका ४६ देशका हवाई महानिर्देशकहरूको सहभागिता छ । यस्तै सम्मेलनमा ३५० विदेशी तथा करीब १५० स्वदेशी गरी ५०० जना प्रतिनिधिहरुको सहभागिता छ । सम्मेलनमा वर्षभरि आ–आफ्नो देशले हवाई क्षेत्रमा गरेका कार्यहरूको मूल्यांकन गरी भावी दिनमा गर्नुपर्ने सुधार तथा नीतिगत व्यवस्थामा छलफल हुने बताइएको छ । सम्मेलनमा १२ एजेन्डामा ५४ कार्यपत्र र ४८ जानकारी पत्र प्रस्तुत हुनेछन् । नेपालले नागरिक उड्डयन सुरक्षामा बढ्दो चुनौती लगायतका तीनओटा कार्यपत्र प्रस्तुत गर्ने प्राधिकरणका महानिर्देशक पोखरेलले जानकारी दिए । यस सम्मेलनमा छलफल गरी तय भएका विषयहरूलाई आगामी अक्टोबरमा थाइल्यान्डको बैंककमा हुने महासभा सम्मेलनमा पेश गरिनेछ । महासभामा आईकाओसँग आबद्ध १९३ मुलुकका प्रतिनिधि सहभागी हुनेछन् ।
सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालले हवाई सुरक्षका विषयमा आईकाओका मापदण्डहरुको पूर्ण परिपालनामा जोड दिएको बताउनुभयो । उहाँले नेपालको भौगिोलिक अवस्थाको कारण नेपालको हवाई क्षेत्र चुनौतीपूर्ण रहेपनि हवाई सुरक्षा र गुणस्तरीय सेवाको लागि सरकार तथा सम्बद्ध निकायले काम गरिरहको बताउनुभयो । ‘नेपाल आईकाओ तथा अन्य अन्तरराष्ट्रिय निकायका चासो र सुझावहरुलाई गहन रुपमा लिई सोही अनुसारको हवाई सुरक्षा चासोहरू सम्बोधन गर्न प्रयत्नशिल छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नेपाली आकाश सुरक्षित र भरपर्दो बनाउन हाम्रो सबै प्रयास जारी छन् र यसमा नेपाल सधैं अन्तरराष्ट्रिय नियामकहरूसँगको सहकार्यमा प्रतिवद्ध छ ।’
कार्यक्रममा आईकाओका अध्यक्ष डा. अलुमुयिया बर्नाड अल्यूले विश्वको आर्थिक वृद्धिमा हवाई उद्योग क्षेत्रको ठूलो योगदान रहेको चर्चा गर्दै हवाई सुरक्षा तथा क्षेत्रीय सहकार्य अहिलेको आवश्यकता भएको बताए । उनले हवाई चाप व्यवस्थापन तथा क्षमता अभिवृद्धिमा मिलेर काम गर्नुपर्ने बताए ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालले हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन आईकाओको मापदण्ड परिपालनामा जोड दिएको बताए । उनले त्यसको लागि नेपालले नीतिगत र अन्य पूर्वाधार विकासमा जोड दिइरहको बताए ।
आईकाओका क्षेत्रीय निर्देशक अरुण मिश्रले विश्वभरी नै हवाई यातायात बढ्दो गतिमा रहेको अवस्थामा एशिया प्रशान्त क्षेत्र विश्वमै सबैभन्दा छिटो वृद्धि भइरहेको क्षेत्र भएको बताए । यो अवस्थामा हवाई सुरक्षाको विषय गम्भीर चासोको विषय भएको उनको भनाइ छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले नेपालले आफ्नो हवाई सुरक्षा तथा क्षमता अभिवृद्धिको लागि हवाई सुरक्षा रणनीति सन् २०१८–२०२० लागू गरी काम गरिरहको बताए ।
नेपालले यसअघि सन् १९७८ मा १४औं र १९९८ मा ३४औं सम्मेलन आयोजना गरेको थियो । यसअघि ५५औं सम्मेलन फिजीमा आयोजना भएको थियो भने ५७ औं सम्मेलन बंगलादेशमा आयोजना हुने छ ।
आईकाओले विश्वमा सुरक्षित, नियमित र प्रभावकारी नागरिक उड्डयनका लागि उड्डयन सम्बन्धी नियम, मापदण्ड, सिफारिस, मार्गदर्शन र सर्कुलर आदि जारी गर्ने गर्दछ । यसकै आधारमा सदस्य राष्ट्रहरूले नागरिक उड्डयनसम्बन्धी नियम, कानून, निर्देशिका तथा कार्यविधि तर्जुमा गरी लागू गर्दछन् ।