ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गत आवमा जीवन बीमा कारोबार : बीमाशुल्क बापत ७० अर्ब २१ करोड संकलन

Aug 20, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

 काठमाडौं । निजीक्षेत्रका १८ जीवन बीमा कम्पनीले गत आर्थिक वर्ष (आव) २०७५/७६ मा बीमाशुल्क बापत ७० अर्ब २१ करोड रुपैयाँ संकलन गरेका छन् । उक्त कारोबारबाट उनीहरूले ३ अर्ब ६ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । कम्पनीको बीमांकीय मूल्यांकनपछि खुद नाफा अरू बढ्नेछ । अघिल्लो आव (२०७४/७५) मा उनीहरूले रू. ४७ अर्ब ८५ करोड बीमाशुल्क उठाएका थिए । आव २०७५/७६ मा बीमाशुल्क संकलन ४६ दशमलव ७३ प्रतिशतले बढेको हो । 

अहिले नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालनमा छन् । हालसम्म सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानबाहेक १८ कम्पनीले गत आवकोे वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त विवरण अनुसार अघिल्लो आवको तुलनामा गत आवमा बीमा कम्पनीहरूले २२ अर्ब ३६ करोड बढी बीमाशुल्क उठाए पनि नाफा कम देखिएको छ । अघिल्लो आवमा खुद नाफा रू. ४ अर्ब ५६ करोड ४६ लाख थियो । नेपाल लाइफ इन्स्योरेन्सका सहायक महाप्रबन्धक दिग्विजय सिंघल भन्छन्, ‘अघिल्लो आवको नाफा बीमांकीय मूल्यांकन पछिको हो । गत आवको बीमांकीय मूल्यांकन हुन बाँकी छ । त्यसपछि नाफा बढ्नेछ ।’ 

गत आवमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी रू. २३ अर्ब ११ करोड ५३ लाख बीमाशुल्क संकलन गरेको छ भने खुद नाफा पनि सबैभन्दा बढी रू. ५२ करोड ३२ लाख ५९ हजार कमाएको छ ।  

२ वर्षको इतिहास बोकेको नेपालको बीमा क्षेत्रले लामो समयसम्म गति लिन सकेको थिएन । तर, २ वर्षअगाडि १० जीवन बीमा कम्पनी थपिएपछि बजारमा प्रतिस्पर्धा बढेको छ । त्यसपछि पुराना कम्पनीहरू पनि सक्रिय हुन थालेका छन् । यसका अलावा बीमा समितिले पनि निरीक्षण, नियमन, सुपरिवेक्षणलाई सक्रिय बनाउँदै नीतिगत सुधारमा जोड दिँदै आएको छ । 

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, ‘अहिले बीमा कम्पनीहरूको शाखा सबै जिल्लामा पुगेको छ । साथै, आम मानिसमा बीमाप्रतिको विश्वास पनि बढ्दै गएको छ । त्यसैको फलस्वरूप बीमा बजारको व्यावसायिक गतिविधि उत्साहजनक रूपमा अगाडि बढेको हो ।’

नयाँ बीमा कम्पनी बीमाशुल्कमा युनियन बलियो
नेपाली जीवन बीमा बजारमा अहिले १० ओटा नयाँ कम्पनी सञ्चालनमा छन् । उक्त कम्पनीहरूलाई एक आपसमा तुलना गर्दा बीमाशुल्क संकलनमा युनियन लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ । उक्त कम्पनीले बीमाशुल्क संकलन गर्ने कार्यमा तीनओटा पुराना कम्पनी (प्राइम लाइफ, सूर्या लाइफ र र गुराँस लाइफ) लाई पछि पारेको छ । युनियनले गत आव मा रू. ३ अर्ब ६ करोड ४७ लाख बीमाशुल्क संकलन गरेको छ ।

नाफा कमाउने विषयमा भने रिलायबल नेपाल लाइफ इन्स्योरेन्स बलियो देखिएको छ । कम्पनीले गत आवमा रू. १९ करोड ५७ लाख नाफा कमाएको छ । उक्त कम्पनीले नाफा कमाउने सिलसिलामा पुराना तीन कम्पनी (एशियन, गुराँस र एलआईसी नेपाल) लाई समेत पछि पारेको छ । 

नयाँ कम्पनीहरूको व्यवसाय पनि उत्साहजनक नै रहेको छ । गत आवमा नयाँ कम्पनीहरूले मात्र रू. ९ अर्ब ७८ करोड ७१ लाख बीमाशुल्क संकलन गरी रू. १ अर्ब ६ करोड ४१ लाख खुद नाफा कमाएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)