ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

फूलको निर्यात घट्दो : करोडबाट झरेर लाखमा

Aug 20, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दुर्गा लामिछाने

काठमाडौं । आन्तरिक बजारमा बढेको मागका साथै नयाँ प्रविधिमा स्तरोन्नति गर्न नसक्दा फूलको विदेश निर्यात ठूलो मात्रामा घटेको छ । यो क्रमले ३ वर्षयता फूल तथा यस वर्गका वस्तुको निर्यातबाट हुने आम्दानीमा समेत निकै कमी ल्याएको छ ।  

आर्थिक वर्ष (आव) २०७४/७५ मा नेपालले रू. २६ लाख ८५ हजारको फूल तथा विभिन्न वनस्पति निर्यात गरेको थियो । जब कि आव २०७३/७४ मा ३६ लाख ४६ हजार रुपैयाँको निर्यात गरेकोे र त्यसभन्दा अघिका आवमा निर्यात एक करोड रुपैयाँभन्दा माथि रहेको फ्लोरिकल्चर एशोसिएशन नेपालले बताएको छ । 

नेपालबाट भारत, अमेरिका, कतार, बेलायत, नेदरल्यान्ड, कोरिया, जापान, न्यूजिल्यान्ड, अस्ट्रेलिया, सिंगापुर, चीन, थाइल्यान्ड, फिनल्यान्ड, जर्मनी, फ्रान्स लगायत देशमा फूल तथा विभिन्न वनस्पति निर्यात भएको छ । निर्यात हुनेमा फूल, कट फ्लावर, फूलका गाना, बिरुवा, बहुरंगी तथा एकरंगी पात, फूलका बिरुवा, झाङ तथा झाडीका बिरुवा, रूखका हाँगा, सुकेको फूल तथा फल, झ्याउ जस्ता वस्तु पर्छन् ।

पछिल्लो समय सबैजसो वस्तुको निर्यात घटेको छ । २०४७ सालदेखि फूलको गाना उत्पादन र निर्यात गर्दै आएकी वासन्ती प्रधान पछिल्ला वर्षहरूमा गानाको पनि निर्यात घटेको बताउँछिन् । लामो समयदेखि अमेरिका, बेलायत, जापान, हल्यान्ड, डेनमार्क जस्ता देशहरूमा गाना निर्यात गर्दै आएकी उनको वर्षको १ करोड रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको थियो । तर अहिले भने विक्री घटेको उनको भनाइ छ ।

समयानुकूल परिवर्तन भइरहेका प्रविधि अपनाउन नसक्दा विक्री घटेको उनको अनुभव छ । ‘अहिले गानालाई सजाएर बिना माटो, शोकेसभित्र पानीमा फूल फुलाउने नयाँ प्रविधि आइसक्यो,’ उनी भन्छिन्, ‘तर, यहाँबाट जाने गानामा नयाँ प्रविधि प्रयोग नभएको हुँदा आकर्षण कम भएको छ ।’ फूलका शौखिन मानिसहरूको व्यस्त जीवनशैलीका कारण विना स्याहार फुलाउन सकिने प्रविधितर्फ आकर्षण बढेको हो । 

अन्तरराष्ट्रिय बजारमा व्यापार गर्न नियमित निर्यात आवश्यक रहेको फ्लोरिकल्चर एशोसिएशन नेपालका निवर्तमान अध्यक्ष लोकनाथ गैरे बताउँछन् । ‘विदेशीहरू नियमित रूपमा निर्यात गर्न सक्नेसँग मात्रै लिन चाहन्छन्, त्यसका लागि उत्पादन तथा व्यवस्थापनमा ठूलै लगानी आवश्यक हुन्छ’ उनी भन्छन्, ‘त्यसनिम्ति उत्पादन लागत घटाउने तथा निर्यात प्रवर्द्धन गर्ने नीति सरकारले ल्याउनुपर्छ ।’ 

भारतले आफ्नो उत्पादन प्रवर्द्धनका लागि प्लेनबाट आयात हुने कट फ्लावरमा ६० प्रतिशत महसुल लगाउनुका साथै निश्चित नाकाबाट मात्रै भित्र्याउन पाउने व्यवस्था गरेको छ । नेपाल सरकारले मल, बीउ तथा उपकरणमा पर्याप्त अनुदान तथा निकासी प्रवर्द्धन गर्न सके निर्यात बढ्ने व्यवसायीहरू बताउँछन् । 

विविधतायुक्त हावापानी रहेको नेपालमा करीब ४५० प्रजातिका फूल पाइन्छन् । त्यसमध्ये १० प्रजातिका फूल र १२ प्रजातिका कलमी बिरुवा निर्यात हुने गरेको पुष्प विकास केन्द्रले जानकारी दिएको छ । गुणस्तर सुधार गरी थप प्रजातिका फूल, बिरुवाका साथै वनस्पतिजन्य विविध वस्तुको निर्यात गर्न सकिने विज्ञहरू बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)