ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निगमको वाइडबडी भदौ १२ गतेदेखि ओशाका उड्ने निश्चित

नारिता विमानस्थलमा पुसदेखि उडान गर्ने निगमको तयारी

Aug 21, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
मंगलवार आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी अध्यक्ष मदन खरेल (बीचमा) । तस्वीर : आर्थिक अभियान
author avatar टीपी भुसाल

काठमाडौं । नेपाल वायुसेवा निगमले अन्ततः भदौ १२ गतेदेखि जापानको ओशाकामा सीधा उडान गर्ने भएको छ । पर्याप्त यात्रु नहुँदा निर्धारित समयमा ओशाका उडान तालिका करीब २ महीना पर सारेको निगमले उडानको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

वाइडबडी विमान (एयरबस ३३०–२००) खरीदको १ वर्षपछि निगमले यसअघि असार १९ गतेदेखि जापानको ओसाका उडान गर्ने तालिका सार्वजनिक गरेको थियो । तर, यात्रु अभावमै निगमले निर्धारित समयमा जापान उडान गर्न सकेन । निगमले  १२ वर्षअघि विमानको अभाव देखाउँदै २०६४ सालदेखि उडान बन्द गरेको थियो ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ओशाकास्थित कान्साइ अन्तरराष्ट्रिय विमानस्थलमा मंगलवार, बिहीवार र शनिवार गरी साताको तीनओटा उडान गर्ने निगमको तालिका तय भएको निगममा मंगलवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकार सम्मेलनमा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले यात्रु अभावकै कारण स्थगित गरिएको ओसाका उडानको मिति अब नसर्ने बताए । उनले केही प्राविधिक कारण एकपटक स्थगित भएको विषयलाई सामान्यीकरण गर्न नहुने बताए । ‘हामी पूर्ण इमानदार भएर लागेका छौं । कुनै पनि गन्तव्यको कुनै पनि विमान कम्पनीको पहिलो उडानमा जहाज भरी नै यात्रु हुन्छन् भन्ने छैन । तर, हामी सकेसम्म बढी यात्रु उडाउने गरी प्रयासरत छौं ।’  उनले बिस्तारै यात्रु चाप बढ्ने अपेक्षासहित ओशाका उडानको मिति निर्धारण गरिएको सो अवसरमा जानकारी दिए । बजार अंश बढाउन विभिन्न ट्राभल एजेन्सीसँग सहकार्य गरेको बताउँदै खरेलले यसको परिणाम आउन त केही समय कुर्नैपर्ने बताए । 

उनले अहिले ५० प्रतिशतसम्म यात्रु पाए पनि १ वर्षभित्रै त्यसलाई ८० प्रतिशतभन्दा बढी पुर्‍याउने लक्ष्य रहेको बताए ।

जापान उडानका लागि ७० प्रतिशत अकुपेन्सी हुँदा खर्च धान्न सक्ने (ब्रेक इभन) अवस्था रहने सक्ने उनले बताए । २७४ सीट क्षमताको एयरबस ३३०–२०० मा १८ बिजनेश क्लास र २५६ इकोनोमी क्लासका सीट रहेका छन् ।

निगमका व्यापार निर्देशक टंक दाहालले भदौ असोजपछि पर्यटक सिजन शुरू हुने भएकाले यात्रु बढ्ने बताए । हाल पहिलो उडानका लागि १५० को हाराहारीमा टिकट बुकिङ भएको उनले जानकारी दिए । निगमले प्रमोशनल भाडादरका रूपमा शुरूको १ महीनाका लागि एकतर्फी ३६ हजार ९९९ र दुईतर्फी ७२ हजार ८१४ रुपैयाँ भाडा तय गरेको छ । निगमले काठमाडौंबाट ओशाका उडान ६ घण्टा ३० मिनेटको हुने जानकारी दिएको छ । काठमाडौंबाट बिहान २ बजेर ३० मिनेटमा ओशाकाका लागि उडेको विमान स्थानीय समयअनुसार दिनको ११ बजेर ५५ मिनेटमा ओशाका पुग्नेछ ।

ओशाकाबाट स्थानीय समय अनुसार १ बजेर ५५ मिनेटमा उडान गरी सोही दिन अपराह्न ६ बजे काठमाडौं आइपुग्नेछ । ओशाकाका सबै उडान वाइडबडी ए ३३०–२०० बाट हुने निगमले जानकारी दिएको छ । 

यस्तै निगमले पुस (जनवरी) देखि जापानकोे राजधानी टोकियोको नारिता विमानस्थलमा उडान गर्ने तयारी गरिरहेको कार्यकारी अध्यक्ष खरेलले जानकारी दिए । यसका लागि आवश्यक कामहरू भइरहेको उनले बताए । 

नेपाल र जापानबीच गत असारमा २५ वर्षपछि हवाई सेवा सम्झौता पुनरवलोकन भएको थियो । हवाई सम्झौतासँगै नेपाल र जापानबीच सातामा १४ ओटासम्म उडान गर्न पाउने सहमति छ । नयाँ सम्झौतामा जापानको हानेडा विमानस्थलबाहेक सबै विमानस्थलमा उडान गर्न पाउने उल्लेख छ । दुईओटा वाइडबडी विमान खरीद गरेर पनि निगमले पुरानै र छोटा दूरी अर्थात् नयाँदिल्ली, मुम्बई, बैंगलोर, क्वालालम्पुर, बैंकक, हङकङ, दोहा र दुबईमा उडान गर्दै आएको छ । जापान गन्तव्यपछि निगमका वाइडबडीले काम पाउने भएका छन् भने निगमको व्यापार बढ्ने निगमको अपेक्षा छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)