ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘नीतिगत निर्देशनको पालनामा लघुवित्त सफल’

Aug 21, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ममता थापा

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंकले जारी गरेका अधिकांश निर्देशन पालना गरेको निष्कर्ष केन्द्रीय बैंकको प्रतिवेदनले निकालेको छ । वित्तीय स्रोत संकलन, कर्जा वर्गीकरण तथा नोक्सानी व्यवस्था, लगानीसम्बन्धी व्यवस्था, कर्जा निक्षेप अनुपात र वैधानिक तरलता अनुपात लगायतका विषयका निर्देशनहरू लघुवित्त संस्थाहरूले पालना गरेको लघुवित्तसम्बन्धी नेपाल राष्ट्र बैंकको पहिलो प्रतिवेदनले देखाएको हो । 

राष्ट्र बैंकको लघुवित्त प्रवर्द्धन तथा सुपरिवेक्षण विभागले मंगलवार सार्वजनिक गरेको सो प्रतिवेदन पहिलो प्रयास भएकाले आर्थिक वर्ष २०७४/७५ को तथ्यांकमा आधारित छ । प्रतिवेदनले लघुवित्त वित्तीय संस्थाले कुल जोखिम भारित सम्पत्तिको न्यूनतम ४ प्रतिशत प्राथमिक पूँजी र ८ प्रतिशत पूँजीकोष कायम गर्नुपर्नेमा कतिपयले पालना नगरेको देखाएको छ । तोकिएको पूँजीकोष नपुर्‍याएका चार लघुवित्त वित्तीय संस्थाहरूलाई केन्द्रीय बैंकले शीघ्र सुधारात्मक कारवाहीसमेत गरेको थियो । 

स्याङ्जाको भीरकोटमा सञ्चालित आँधीखोला लघुवित्त वित्तीय संस्था, नुवाकोटको मदनपुरमा सञ्चालित आशा लघुवित्त, काभे्रपलाञ्चोकको उग्रतारामा सञ्चालित आरम्भ लघुवित्त र कैलालीको लम्कीचुहामा सञ्चालित किसान माइक्रोफाइनान्स वित्तीय संस्था यस्तो कारबाहीमा परेका थिए । कारबाहीमा परेका यी संस्थाले पूँजीकोष कायम गरेपछि मात्र शीघ्र सुधारात्मक कारबाही फुकुवा गरेको विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले बताए । धेरैको वित्तीय सूचकांक राम्रो भएको उनको दाबी छ । 

‘लघुवित्तहरूको संस्थागत सुशासन, सञ्चालनमा केही कमी कमजोरी देखिएको छ,’ उनले भने । साथै, एउटै ग्राहकले धेरैओटा लघुवित्तबाट कर्जा लिनेजस्ता बहुबैंकिङ कारोबारको समस्या भएको उनले जानकारी दिए । उनका अनुसार अब सबै ऋणीको विवरण कर्जा सूचना केन्द्रमा पठाउनु पर्ने अनिवार्य व्यवस्थाले एउटै व्यक्तिको दोहोरो कर्जा नियन्त्रण हुनेछ । 

प्रतिवेदनअनुसार प्राथमिक पूँजीको बढीमा ३० गुणासम्म वित्तीय स्रोत संकलन गर्न पाउने विद्यमान व्यवस्था सबै संस्थाहरूले पालना गरेका छन् । यस्तै, संस्थाहरूले आफूले लिएको कुल सापटीको शत प्रतिशत कर्जा प्रवाह नीति पनि पालना गरेको प्रतिवेदनले बताएको छ । आपूmले प्रदान गरेको कुल कर्जाको एक–तिहाइमा नबढ्ने गरी धितो लिई लघु उद्यम कर्जा प्रदान गर्न पाउने व्यवस्था छ । यसमा धितो कर्जा र कुल कर्जाको अनुपात ११ दशमलव ४८ प्रतिशत कायम रहेको प्रतिवेदनले बताएको छ । 

सर्वसाधारणबाट निक्षेप संकलन नगर्ने ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरूले आफ्नो कुल निक्षेप दायित्वको २ दशमलव ५ प्रतिशत तथा सर्वसाधारणबाट निक्षेप संकलन गर्ने ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरूले आफ्नो कुल निक्षेप दायित्वको ४ प्रतिशत वैधानिक तरलता अनुपात कायम गनुपर्ने व्यवस्था छ । प्रतिवेदनअनुसार लघुवित्तहरूले यो व्यवस्था पालना गरेको देखिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)