भदौ ४, पर्वत । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा रोकिएको काम पुनः सुचारु भएको छ । बर्षाका कारण समस्या भएको भन्दै असार पहिलो सातादेखि रोकिएको काम मंगलवारबाट पुनः शुरु भएको लोकमार्ग आयोजना कार्यालय पर्वतले जानकारी दिएको छ ।
लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख आशिष थापा मगरले पूर्व वेतनीदेखि १०५ जना कामदारमार्फत कामको शुरुवात गरेको जानकारी दिए । बुधवारबाट थप ४० जना कामदार थपिने र स्तरउन्नतीको काम दू्रत गतिमा अगाडी बढ्ने मगरले बताए । निर्माण कम्पनीले अहिले ५ ओटा डोजर प्रयोग गरी भीरबाट खसेको माटो पन्छाउने र सडकका खाल्टाहरु पुर्ने काम शुरु गरेको आयोजना कार्यालयले बताएको छ । आयोजना प्रमुख मगरले भने, ‘अब काम नरोकिने प्रतिबद्धता निर्माण कम्पनीले दिएको छ ।’ लामा कन्ट्रक्शन प्रालिले पर्वत खण्डमा पर्ने २४ किलोमीटरको स्तरउन्नतीको जिम्मा लिएको छ । कम्पनीले ८३ करोड ९८ लाख रुपैयाँमा पर्वत खण्ड स्तरोन्नतिको कामको ठेक्का लिएको थियो ।
पर्वत खण्डको २४ किलोमीटर स्तरउन्नती गर्ने योजना छ । अहिलेसम्म ५५ प्रतिशत भौतिक प्रगति भएको र अब कालोपत्रे गर्न मात्रै बाँकी रहेको आयोजना कार्यालयले जानकारी दिएको छ । कार्यालय प्रमुख थापा मगरले भने, ‘कालोपत्रेका लागि सबै स्ट्रक्चर तयार भैसकेको छ, अब धमाधम काम अगाडि बढ्छ ।’
यस सडकको गत आर्थिक वर्षको अन्त्यसम्म ७० प्रतिशत काम गर्ने लक्ष्य लिएको भएपनि सोचे अनुसारको प्रगति हुन सकेन । सदरमुकाम कुश्मा बजारको ४ किलोमीटर सडकखण्डमा भने काम शुरु नै हुन सकेको छैन । कुश्मा बजारको खरेया–चिलाउने चौतारासम्म ४ लेनको सडक बनाउने कार्ययोजना छ । बजार क्षेत्रमा खानेपानीको पाईप र विद्युतका पोल हटाउन समस्या भएका कारण बजार क्षेत्रमा सडक विस्तारको काम शुरु नभएको भन्दै लामा कन्ट्रक्शनका प्रतिनिधी गोविन्द भुसालले कुश्मा खानेपानी उपभोक्ता संस्था र नेपाल विद्युत प्राधिकरणको अवरोधले काम शुरु हुन नसकेको जानकारी दिए । ‘संरचना हटाउन सम्बन्धित निकायलाई पटक–पटक भनेका छौं,’ भुसालले भने, ‘जति सक्दो चाँडो संरचना हट्छन् त्यति चाँडो काम सम्पन्न हुन्छ, तर, अटेरी हुँदा काम नै शुरु हुन पाएको छैन ।’
लोकमार्ग आयोजना कार्यालयले विद्युत र खानेपानीका संरचना पुनस्र्थापनाका लागि लाग्ने सबै खर्च दिने सहमति समेत गरिसकेको छ । २ वर्ष अगाडी नै बजार क्षेत्रका टहरा भने हटाईसकिएको छ ।