पर्वत । मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा रोकिएको काम पुनः सुचारु भएको छ । असार पहिलो सातादेखि रोकिएको काम मंगलवारदेखि पुनः शुरू भएको लोकमार्ग आयोजना कार्यालय, पर्वतले जानकारी दिएको छ ।
जिल्लाको पूर्ववेतनीबाट १०५ जना कामदारले काम थालेको लोकमार्ग आयोजना कार्यालय, पर्वतका प्रमुख आशिष थापामगरले बताए । बुधवारदेखि ४० जना कामदार थपिएकाले स्तरोन्नतिको काम दू्रतगतिमा अगाडि बढ्ने उनको भनाइ छ । निर्माण कम्पनी लामा कन्स्ट्रक्शन प्रालिले अहिले पाँचओटा डोजर प्रयोग गरी भीरबाट खसेको माटो पन्छाउने र सडकका खाल्डा पुर्ने काम गरेको आयोजना कार्यालयले बताएको छ । ‘अब काम नरोकिने प्रतिबद्धता निर्माण कम्पनीले गरेको छ,’ उनले भने ।
कम्पनीले पर्वत खण्डमा पर्ने २४ किलोमिटर स्तरोन्नतिका लागि रू. ८३ करोड ९८ लाखमा ठेक्का पाएको थियो । अहिलेसम्म ५५ प्रतिशत भौतिक प्रगति भएको आयोजना कार्यालयले बताएको छ । गत आवको अन्त्यसम्म सडकको ७० प्रतिशत काम सक्ने लक्ष्य लिइए पनि पूरा हुन सकेन । ‘कालोपत्रका लागि सबै संरचना तयार भइसकेको छ,’ थापामगरले भने, ‘अब छिट्टै यसको काम शुरू हुन्छ ।’
सदरमुकाम कुश्मा बजारको ४ किलोमिटर सडक खण्डमा काम अगाडि बढेको छैन । कुश्मा बजारको खरेया–चिलाउने चौतारासम्म ४ लेनको सडक बनाउने कार्ययोजना छ । बजार क्षेत्रमा खानेपानीको पाइप र विद्युत्का पोल हटाउन समस्या भएकाले सडक विस्तारको काम शुरू नभएको कम्पनीका प्रतिनिधि गोविन्द भुसालले बताए । ‘संरचना हटाउन सम्बन्धित निकायलाई पटक पटक भनेका छौं,’ उनले भने, ‘जति सक्दो चाँडो संरचना हट्छन्, त्यति चाँडो काम सम्पन्न हुन्छ ।’
लोकमार्ग आयोजना कार्यालयले विद्युत् र खानेपानीका संरचना पुनःस्थापनाका लागि लाग्ने सबै खर्च दिने सहमतिसमेत गरिसकेको छ । बजार क्षेत्रका टहरा भने २ वर्षअगाडि नै हटाइसकिएको छ ।