ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धौबादी फलाम खानीबाट व्यावसायिक उत्पादन : १० अर्ब पूँजीको कम्पनी खोल्न स्वीकृति

४५ प्रतिशत स्वामित्व निजीक्षेत्रको हुने

Aug 23, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । धौबादी फलाम खानीबाट व्यावसायिक रूपमा फलाम उत्पादनका निम्ति कम्पनी स्थापना गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई यस्तो स्वीकृति दिएको हो । मन्त्रालयले उक्त खानीबाट उत्खनन हुने कच्चा फलामको व्यावसायिक उत्पादनका लागि कम्पनी खोल्न केही महीनाअघि मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो । प्रस्ताव स्वीकृत भएलगत्तै फलाम खानीको उपयोग, उत्खनन, टेन्डर, कारखाना स्थापना र फलाम उत्पादन लगायतका विषयगत प्रक्रिया अघि बढाउन छुट्टै कम्पनी दर्ता हुने भएको छ । मन्त्रालयले ३ देखि ४ महीनाभित्र नै कम्पनी स्थापना गर्ने तयारी गरेको छ । 

खानी तथा भूगर्भ विभागले उक्त खानीमा रहेको कच्चा फलामलाई अन्वेषण तथा परीक्षण गर्दा व्यावसायिक उत्पादन हुने निक्र्योल गरिसकेको छ । मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलले जारी पूँजी रू. ४ अर्ब र अधिकृत पूँजी रू. ६ अर्ब गरी कुल रू. १० अर्ब पूँजीको कम्पनी स्थापना गर्न स्वीकृति प्राप्त भएको जानकारी दिए । यससँगै नेपालमा फलामको व्यावसायिक उत्पादनका लागि कम्पनी स्थापना हुने बाटो खुलेको छ । 
उक्त कम्पनीमा सरकारको ५५ प्रतिशत स्वामित्व रहनेछ भने निजीक्षेत्रको ४५ प्रतिशत स्वामित्व रहने मन्त्रालयले जानकारी दिएको छ । विभाग स्रोतका अनुसार उक्त ४५ प्रतिशत स्वामित्वका लागि आन्तरिक र बाह्य कम्पनी ल्याउन बोलपत्र आह्वान गरिनेछ । यसबाट स्वतन्त्र प्रतिस्पर्धा हुने र छनोटमा परेका कम्पनीलाई लिएर कम्पनी गठन हुने बताइएको छ । 

उक्त कम्पनी तथा फलाम उत्पादन प्रक्रियामा सहभागी हुन हाल शंकर ग्रूपको जगदम्बा स्टील र अम्बे ग्रूपको अम्बे स्टील लगायत निजीक्षेत्रका चार ओटा फलामे छड उत्पादक कम्पनीले चासो राखेको स्रोतले जानकारी दिएको छ ।

धौबादीमा रहेको फलामको ‘डिपोजिट’लाई उपयोगमा ल्याउन सरकार र निजीक्षेत्रको साझेदारी खोजिएको हो । कम्पनी स्थापनासँगै नेपालका अन्य क्षेत्रमा रहेका फलाम खानीबाट उत्पादन हुने फलामको व्यावसायिक उत्पादन गर्न थप सहज हुने उल्लेख गरिएको छ । 

खानीमा फलामे छड बनाउन सकिने गुणस्तरको फलाम देखिएकाले त्यसको आधिकारिक पुष्टि गर्न विभागले पाँच टन फलाम चीन पठाइसकेको र मंसिरसम्ममा प्रतिवेदन आउने विभागका एक अधिकारीले जानकारी दिए । पूर्वी नवलपरासीको कावासोतीबाट उत्तरतर्फ हुप्सकोट गाउँपालिका ५ मा पर्ने धौबादीमा १० किलोमीटर लामो फलामखानी (फलामको मात्रा धेरै रहेको पहाड) रहेको छ । 

धौबादीको फलाम खानी १० किलोमीटर लम्बाइ, १५ देखि ३० मीटर चौडाइ र १०० मीटर गहिराइमा अवस्थित छ । देशको सबैभन्दा ठूलो उक्त फलाम खानीमा १० करोड मेट्रिक टन कच्चा फलाम रहेको अध्ययनबाट देखिएको छ । धौबादीको फलाम खानीमा २०६७/६८ देखि नै अन्वेषण थालिएको थियो । सरकारले चालू आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यमा समेत फलामको व्यवसायिक उत्पादनका लागि प्रक्रिया अघि बढाउने उल्लेख गरिसकेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)