ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रशोधितको नाममा कच्चा छाला निकासी

तीन कन्टेनर छाला कोलकातामा समातियो

Aug 25, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज  । बाराको एउटा छाला उद्योगले झूटो विवरण पेश गरेर वीरगञ्जबाट निकासी गरेको छाला भारतको कोलकाता बन्दरगाहमा समातिएको छ । चिनियाँ लगानीको होङ हुई टेनरिज प्रालिले वीरगञ्जको सुक्खा बन्दरगाह भन्सारमा प्रशोधित छाला (क्रस्ट लेदर) घोषणा गरेर निकासी गरेको तीन कन्टेनर छाला कोलकाता बन्दरगाह भन्सारले नियन्त्रणमा लिएर कारबाही अघि बढाएपछि यस्तो रहस्य खुलेको हो । 

उद्योगले गत २१ जुनमा सुक्खा बन्दरगाह भन्सारमा पेश गरेको ‘कस्टम ट्रान्जिट डिक्लियरेन्स’ (सीटीडी) मा क्रस्ट लेदर उल्लेख गरेर कोलकाता हुँदै इन्डोनेशिया पठाउन लागेको छाला कोलकाता भन्सारले परीक्षण गराउँदा ‘र स्किन प्रोडक्ट’ (कच्चा छाला) भएको फेला परेको छ । कोलकातास्थित सेन्ट्रल लेदर रिसर्च इन्स्टिच्युटमा तीन ओटै कन्टेनरबाट छालाको नमूना परीक्षण गरिएको थियो । गलत घोषणामा निकासी गर्न लागेको थाहा पाएपछि कोलकाता भन्सारले कारबाही प्रक्रिया अघि बढाएको हो । 

उद्योगले ९७ हजार ५०० वर्गफीट (५९ हजार ३९० मेट्रिक टन) छाला पठाएको थियो । गलत सीटीडीबाट छाला निकासी गरेपछि सुक्खा बन्दरगाह भन्सार प्रशासन अप्ठ्यारोमा परेको छ । कोलकाता भन्सारले भारतीय महावाणिज्य दूतावास वीरगञ्जमार्फत बन्दरगाह भन्सारलाई पत्राचार गरेको छ । छाला फर्काउने सम्बन्धमा महावाणिज्य दूतावासले पत्र पठाएको सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले जानकारी दिए । 

भारतीय पक्षले नेपालका सरोकारवाला निकायलाई यसबारेमा लिखित जानकारी गराएको भन्सार स्रोतले बतायो । घोषणाभन्दा फरक गुणस्तरको छाला बरामद भएपछि त्यसलाई नेपाल फर्काउने वा जफत गर्ने प्रक्रियामा पहल थालेको हो । उद्योगले अर्धप्रशोधित (वेट ब्लु) क्रस्ट, तयारी छाला र त्यसको बाइप्रडक्ट उत्पादनको अनुमति लिएको छ । 

अनधिकृत व्यापार नियन्त्रण सम्बन्धी नेपाल र भारतबीचको सम्झौता अनुसार कोलकाता भन्सारले छाला रोेकेको बताइएको छ । सम्झौताको धारा २ मा कुनै पनि देशको निमयकानून उल्लंघनको रोकथाममा प्रभावकारी सहयोग, परामर्श, सोधपुछ र जानकारी आदानप्रदान गर्ने उल्लेख छ ।

बन्दरगाह भन्सारका कर्मचारी आफैले जाँचपास गरेर पठाएको छाला फिर्ता गर्ने कि नगर्ने भन्ने द्विविधामा छन् । भारतीय महावाणिज्य दूतावासमार्फत आएको जानकारी भन्सार विभागमा पठाइएको र विभागले नै यसबारेमा निर्णय गर्ने प्रमुख भन्सार अधिकृत श्रेष्ठले बताए । ‘हाम्रो तहबाट भइसकेको निर्णय काट्ने विभागले नै हो । त्यसैले यहाँबाट गइसकेको छाला फिर्ता ल्याउने कि नल्याउने भन्नेबारे विभागबाटै निर्णय हुन्छ,’ श्रेष्ठले आर्थिक अभियानसित भने । 

तर, भन्सार ऐन २०६४ को दफा ५७ (८) मा निकासीकर्ताले मालवस्तुको विवरण फरक पारी घोषणा गरेमा त्यस्तो मालवस्तु जफत गरी भन्सार अधिकृतले त्यस्तो निकासीकर्तालाई बिगोबमोजिम जरीवाना गर्नसक्ने व्यवस्था छ । उपदफा १० मा महसुल वा राजस्वमा हानिनोक्सानी पुर्‍याएमा वा प्रयास गरेमा त्यो रकमको २०० प्रतिशतसम्म जरीवाना वा ६ महीनादेखि १ वर्षसम्म कैद वा दुवै सजाय हुने उल्लेख छ । 

सरकारले निर्यात प्रवद्र्धनका लागि क्रस्ट छाला निकासीमा मूल्यको ५ प्रतिशत नगद अनुदान दिएको छ । गलत विवरण पेश गरेर उद्योगले यो सुविधा दुरुपयोगको प्रयास गरेको छ । छाला उद्योगले वेट ब्लु निकासीका लागि ३० प्रतिशत क्रस्ट र तयारी छाला निर्यात गर्नु पर्दछ । तर, कच्चा छालालाई क्रस्ट घोषणा गरेर त्यही निकासी परिमाणका आधारमा वेट ब्लु निर्यातको योजना बनाएको भेटिएको छ । 

उद्योगले वीरगञ्जको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयबाट क्रस्ट छालाको निकासी अनुमति लिएको छ । यही विवरणका आधारमा वीरगञ्ज उद्योग वाणिज्य संघले उत्पत्तिको प्रमाणपत्र दिएको देखिन्छ । निकासीमा पेश भएका कागजातमात्र हेरिने भएकाले उद्योगले झुक्याएको भन्सार अधिकारीहरूको दाबी छ । छाला निकासीको कागजातलाई भारतीय सीमावर्ती रक्सौल भन्सारले पनि प्रमाणित गरेर पठाएको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)