ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चीन उड्ने तयारीमा हिमालय एयरलाइन्स  

५ हप्ताभित्र नयाँ एअरबस ल्याइने

Aug 25, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । हिमालय एयरलाइन्सले सेप्टेम्बर अन्तसम्ममा एअरबस ३१९ ल्याएर अक्टोबरदेखि चीनका चार शहरमा सीधा उडान गर्ने तयारी गरेको छ । राजधानी पेचिङसहित चाङसी, नाङचाङ, र गुयाङमा उडान गर्न लागिएको एयरलाइन्सले जानकारी दिएको हो ।

चिनियाँ राजधानीमा गत साउन ९ र १० गते भएको द्विपक्षीय वार्तामा दुवै देशका वायुसेवा कम्पनीले सातामा ७० उडान गर्न पाउने प्रावधानलाई बढाएर ९८ पुर्‍याइएकोे थियो । चीनले यसअघिका सात विमानस्थललाई यथावत् राखी अन्य आठ विमानस्थलमा नेपाली कम्पनीले रोजेको गन्तव्यलाई अनुमति दिने प्रतिबद्धता व्यक्त गरेको थियो । सोहीअनुरूप हिमालयले पेचिङबाहेक चाङसी, नाङचाङ र गुयाङ रोजेको हो । 

हाल चीनबाट नेपालमा सातामा ५० भन्दा बढी उडान हुने गरे पनि नेपाली जहाजले चीनमा उडान गर्न पाएका छैनन् । उक्त वार्ताबाट थप गरिएका २८ उडानमा चिनियाँ जहाजले काठमाडौं बाहिर भैरहवा र पोखरामा उडान गर्ने सहमति भएको पर्यटन मन्त्रालयले बताएको छ । ‘अक्टोबरसम्ममा चीनका चारओटै शहरमा उडान गर्ने हाम्रो तयारीे छ । यसका लागि एयरलाइन्सले अक्टोबरअगावै एअरबस ३१९ ल्याउनेछ’, एयरलायन्सका उपाध्यक्ष विजय श्रेष्ठले आर्थिक अभियानसँग भने । हिमालयले हाल ढाका, दोहा, दुबई, आबुधाबी र दमाममा उडान गर्दै आएको छ ।

निगमको सेफ्टी अडिट बाँकी
नेपाल वायुसेवा निगमले पनि चीनमा उडानका लागि सिभिल एभिएशन एडमिनिस्ट्रेशन अफ चाइनासँग अनुमति माग गरेको छ । तर, निगमको सेफ्टी अडिट गर्नुपर्ने भन्दै उसले उडान अनुमति दिएको छैन । सेफ्टी अडिट गर्ने टोली चीनबाट जति छिटो आउँछ त्यति छिटोे चीनमा उडान शुरू गरिने निगमका कार्यकारी अध्यक्ष मदन खरेलले बताए । निगमले राजधानी पेचिङ तथा आर्थिक केन्द्रहरू क्वाङचाउ र साङ्हाइमा उडान गर्ने योजना बनाएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)