ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गत आवमा निर्जीवन बीमा व्यवसाय

२४ अर्ब बीमाशुल्क, ४ अर्ब नाफा

Aug 25, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । १८ निर्जीवन बीमा कम्पनीले आर्थिक वर्ष (आव) २०७५/७६ मा बीमाशुल्क बापत रू. २३ अर्ब ९१ करोड २५ लाख संकलन गरेका छन् । साथै, उनीहरूले सोही आवको कारोबारबाट रू. ३ अर्ब ९७ करोड २५ लाख खुद नाफा कमाएका छन् । 

अघिल्लो आवमा उक्त बीमा कम्पनीहरूले रू. २० अर्ब ३१ करोड १५ लाख बीमाशुल्क उठाएका थिए, जसअनुसार गत आवमा कम्पनीहरूको बीमाशुल्क संकलन १७ दशमलव ७९ प्रतिशतले बढेको देखिन्छ । यसैगरी उनीहरूकोे खुद नाफा पनि ८ दशमलव ६० प्रतिशतले बढेको छ । अघिल्लो आवमा ती कम्पनीले रू. ३ अर्ब ६५ करोड ७७ लाख खुद नाफा कमाएका थिए । 

निर्जीवन बीमा कम्पनीहरूले हालै सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । हाल नेपालमा २० ओटा निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । 

त्यसमध्ये भारतीय स्वामित्वमा रहेका ओरिएन्टल र नेशनल इन्स्योरेन्सले अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गरेका छैनन् । बजारमा सबैभन्दा बढी कारोबार गर्ने कम्पनीमध्येमा यी कम्पनी पनि पर्छन्, जसअनुसार उनीहरूको वित्तीय विवरण सार्वजनिक भएमा निर्जीवन बीमा कम्पनीहरूको बीमाशुल्क र नाफा ठूलो मात्रामा बढ्ने देखिन्छ ।

१८ कम्पनीमध्ये शिखर इन्स्योरेन्सले सबैभन्दा बढी रू. ३ अर्ब ५१ करोड ९३ लाख बीमाशुल्क उठाएको छ । सबैभन्दा बढी नाफा कमाउनेमा भने सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी छ । उक्त कम्पनीले गत आवमा रू. ७८ करोड १३ लाख नाफा कमाएको तथ्यांकमा उल्लेख छ । 

तथ्यांक अनुसार निर्जीवन बीमाको व्यवसाय बर्षेनि बढ्दै गएको छ । तर, सोचेअनुरूप अभैm विस्तार हुन नसकेको युनाइटेड इन्स्योरेन्सका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बताए । उनले भने, ‘अहिले जीवन बीमा बजारको व्यवसाय ४६ प्रतिशतले बढेको छ । हामी भने १७ प्रतिशतको हारहारीमा अल्झिरहेका छौं ।’ जीवन बीमाबजारको तुलनामा निर्जीवन बीमा बजार एकदमै सुस्त गतिमा विस्तार भएको उनको टिप्पणी छ ।

निर्जीवन बीमासम्बन्धी प्रचार प्रसार आवश्यक मात्रामा हुन नसक्दा यसको व्यवसाय बढ्न नसकेको उनको भनाइ छ । ‘भूकम्प, बाढी आउँदा मानिसहरूलाई बीमा गर्नुपर्ने रहेछ भन्ने लाग्छ । तर, अवस्था सामान्य भएपछि बीमालाई बिर्सिन्छन्’, उनले भने, ‘यस्तो अवस्थामा बीमा कम्पनीहरूले चाहेर मात्र व्यवसाय बढ्दैन । सम्बद्ध निकायले पनि सहजीकरण गर्न आवश्यक छ ।’

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल पनि निर्जीवन बीमाको व्यवसाय सोचेअनुरूप विस्तार नभएको स्वीकार्छन् । ‘निर्जीवन बीमा कम्पनीहरूबीच अस्वस्थ प्रतिस्पर्धा पनि छ । साथै, यो आपैmमा एक जटिल व्यवसाय हो,’ उनले भने, ‘त्यसैले गर्दा निर्जीवन बीमा व्यवसायको विस्तार सुस्त देखिएको हो ।’ 

यद्यपि, निर्जीवन बीमाको व्यवसायलाई विस्तार गर्न विषयमा समिति सकारात्मक भएको उनको भनाइ छ । ‘पहिलेको भन्दा ६७ प्रतिशत सस्तोमा घर, व्यावसायिक भवन तथा उद्योगको बीमा गर्न सकिने गरी एकीकृत सम्पत्ति बीमा निर्देशिका लागू गरेका छौं । साथै, निर्जीवन बीमासम्बन्धी नयाँ प्रडक्ट ल्याउने योजना पनि छ,’ उनले भने, ‘यसका अतिरिक्त प्रचार प्रसारलाई पनि चुस्त बनाउने योजनामा छ । त्यसपछि यसको व्यवसाय बढ्ने विश्वास छ ।’

नयाँ कम्पनी 
२०७५ असारदेखि सञ्चालनमा आएका सानिमा जनरल, अजोड र जनरल इन्स्योरेन्सको व्यावसायिक गतिविधि पनि उत्साहजनक देखिएको छ । गत आवमा उक्त कम्पनीहरूले रू. ९४ करोड २८ लाख बीमाशुल्क संकलन गरी रू. १० करोड २७ लाख नाफा कमाएका छन् । 

नयाँ कम्पनीमध्येमा अजोड इन्स्योरेन्स सबैभन्दा बलियो देखिएको छ । गत आवमा उक्त कम्पनीले रू. ४१ करोड ४५ लाख बीमाशुल्क र रू. ३ करोड ६७ लाख नाफा कमाएको छ, जुन अन्य दुई नयाँ कम्पनीको भन्दा बढी हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)