ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोलकातामा सीएफएसको उद्घाटन भदौ दोस्रो साता

Aug 25, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । समुद्रपार व्यापारलाई सहज बनाउन भारतको कोलकाता बन्दरगाहमा नेपालले निर्माण गरेको कन्टेनर राख्ने आफ्नो बेग्लै थलो (कन्टेनर फ्रेट स्टेशन÷सीएफएस) को उद्घाटन यही भदौ १२ गते हुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उक्त सीएफएसको उद्घाटन गर्ने कार्यक्रम तय भएको नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीका कोलकाता कार्यालय प्रमुख लक्ष्मण खड्काले जानकारी दिए । 

उनका अनुसार ४ हजार ८७२ वर्गमीटरको उक्त सीएफएसमा तेस्रो मुलुकबाट समुद्रीमार्ग हुँदै कोलकाता आइपुगेका कन्टेनर राख्न सकिनेछ । यसबाट कन्टेनर राखे बापत भारतीय सीएफएसलाई तिर्नुपर्ने भाडा र जरीवानाको ठूलो रकम जोगिने भएको छ । ‘आयातकर्ताले समुद्रपारबाट मगाएका कार्गो यो सीएफएसमा कम खर्चमै राख्न सक्नेछन्,’ कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले आर्थिक अभियानसित भने, ‘यसबाट व्यापारको समग्र लागत घटाउन महत्त्वपूर्ण योगदान पुग्नेछ ।’

भारु २२ लाख खर्च गरेर बनाइएको सीएफएसमा ५०० कन्टेनर अटाउन सक्छन् । कोलकाता बन्दरगाहमा नेपालका लागि दैनिक २५० को हाराहारीमा कन्टेनर आउँछन् । सीएफएस नेपाल सरकारले भारतसँग साढे चार दशक अघिदेखि लीजमा लिएर भाडा मात्र तिर्दै आएको जग्गामा निर्माण गरिएको हो । हाल सो जग्गाको मासिक भाडा मासिक भारु ५५ हजार ७ सय रहेको छ ।

सन् १९७३ मा लिइएको उक्त जग्गाको २५ वर्षे करार १९९८ मा सकिएपछि नवीकरण हुन सन् २००९ सम्म पर्खिनुपरेको थियो । नवीकरणबाट थपिएको म्याद सन् २०२३ मा सकिनेछ । सन् २०१२ मा सीएफएस सञ्चालनको निक्र्यौलमा पुगेको सरकारले बन्दरगाह प्रशासन, भन्सार र कोलकाता महानगरमा निर्माणको प्रक्रिया र विवाद मिलाउन पाँच वर्ष लगायो । 

हाल कोलकातामा नेपाली आयातकर्ताले एक मेट्रिक टन मालसामानमा भारतीय सीएफएसको भाडा प्रतिदिन भारु ४५ देखि ६५ तिर्छन् । त्यसकोे तुलनामा अब उनीहरूले लगभग आधा दरमा भण्डारण गर्न पाउने भएका छन् । लक्ष्मण खड्काले भने, ‘यो सीएफएस नाफा कमाउन नभएर व्यापार सहजीकरणका लागि सञ्चालन गर्न लागिएको हो ।’

कोलकाताबाट डेढ सय किलोमीटर टाढाको हल्दिया बन्दरगाहमा पनि सरकारले सन् १९८४ देखि ६ हजार ९ सय ८५ वर्गमीटर जग्गा लिजमा लिएको छ । यसका लागि प्रतिमहीना बेग्लै २ लाख २३ हजार ९१० रुपैयाँ भाडा तिरिरहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)