ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निक्षेप संकलन र कर्जा प्रवाहमा एनआईसी एशिया अगाडि

Aug 26, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ममता थापा

काठमाडौं । लगानीयोग्य पूँजी अभावका कारण वाणिज्य बैंकहरूले आक्रामक रणनीति अख्तियार गर्दा गत आवमा मात्र २८ बैंकको नाफा रू. ४२५ अर्बले तथा कर्जा प्रवाह ३८२ अर्बले बढेको छ । बाणिज्य बैंकहरूको अपरिष्कृत वित्तीय प्रतिवेदनअनुसार निक्षेप संकलन र कर्जा प्रवाह दुबैमा एनआईसी एशिया बैंक सबैभन्दा अगाडि देखिएको छ ।

लगानीयोग्य पूँजीका लागि निक्षेप संकलनको प्रतिष्पर्धा गत आवमा यतिसम्म भयो कि बैंकहरूबीच ब्याज नबढाउने भद्र सहमति पटक पटक तोडियो । पूँजी अभावको समस्यालाई सम्बोधन गर्न राष्ट्र बैंकले गत आवमा वाणिज्य वैंकहरूलाई परिवत्र्य विदेशी मुद्रामा ऋण लिन पाउने नीतिगत व्यवस्था पनि ल्यायो । 

‘गत आवमा तरलताको अभाव हुदाँ वाणिज्य बैंकहरूले कर्जा प्रवाहमा ठूलो समस्या झेल्नु पर्‍यो, केहीले कर्जा प्रवाह नै रोके,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल बताउँछन्, ‘तरलता अभावका कारण गत आवमा बैैंकिङ क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा पनि बढ्यो । तोकिएकोभन्दा बढी व्याज दिने, राष्ट्र बैंकको निर्देशन तोड्नेजस्ता गतिविधि पनि भए । तर, कतिपय बैंकले भने नयाँ प्रडक्ट ल्याएर ग्राहकलाई आकर्षण गर्दै निक्षेप संकलनमा स्वस्थ प्रतिस्पर्धा गरेको पनि देखिन्छ ।’

पछिल्लो समय आक्रामक निक्षेप संकलनमा जोड दिएको एनआईसीको गत आवमा मात्रै निक्षेप संकलन रू. ३४ अर्ब १३ करोडले बढायो भने कर्जा प्रवाह पनि रू. २९ अर्ब ४ करोडले बढ्यो । त्यस्तै, कर्जाको ब्याजदर आम्दानी गर्नेमा समेत यो बैंक अग्र स्थानमा रह्यो । बैंकले गत आवमा मात्रै कर्जाको ब्याजदर आम्दानीबापत रू. ५ अर्ब ७९ करोड कमायो । 

गत आवमा खुद नाफामा अग्रपंक्तिमा रहेको राष्ट्रिय वाणिज्य बैंक निक्षेप संकलन र कर्जा प्रवाहमा भने दोस्रो स्थानमा छ । सरकारी स्वामित्वको यस बैंकको गत आवमा निक्षेप रू. २८ अर्ब ४८ करोडले बढ्यो भने कर्जा रू. २७ अर्ब ५४ करोडले बृद्धि भयो । त्यस्तै, निक्षेप संकलनमा नबिल बैक र कर्जा प्रवाहमा सिद्धार्थ बैंक तेस्रो स्थानमा रहे । 

एनआईसीले गत आवमा मुद्दती निक्षेप संकलनमा जोड दिँदै प्रतिस्पर्धी बजारमा आकर्षक ब्याजदर दिएको थियो भने शाखा विस्तारलाई तीव्र बनाएको थियो ।

बैंकका जनसम्पर्क प्रमुख अर्जुनराज खनियाँले गत आव असार मसान्तसम्म २८८ ओटा शाखा विस्तार भैसकेको र त्यसका कारण धेरै निक्षेप संकलन गर्न सफल भएको बताए । वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी शाखा अहिले एनआईसी एशियाकै छ । 

एनआईसीले गत आवमा ५० वर्षे घर कर्जा र र १५ बर्षे सवारी कर्जाजस्ता आकर्षक योजना ल्याएर ग्राहकलाई आफूतिर आकर्षित गरेको थियो । साथै, ऋणीले ऋण पाउँछन् कि पाउँदैनन् भनेर छिटो निर्णय गर्ने प्रणाली बनाएकोले पनि कर्जाको माग बढेको खनियाँको दाबी छ । 
 
‘गत वर्ष हामीले घर कर्जाको भुक्तानी अवधि ५० वर्षसम्म राखेका थियौं । साथै, घर कर्जा लिनेले सवारी कर्जा लिँदा थप १० वर्ष भुक्तानी अवधि थप्न पाउने स्किम ल्याएका थियौं । अहिले यस्तो योजना छैन तर यस्तो योजनाले कर्जा प्रवाह बढाउन मद्दत ग¥यो,’ खनियाले भने, ‘बजारमा कर्जाको माग धेरै छ । यसलाई पूरा गर्न स्रोतको कमी छ । अहिलेको चुनौती भनेकै निक्षेप जुटाउनु हो ।’

सरकारले स्थानीय तहमा पठाएको वजेटलाई सञ्चित खाता अर्थात ‘ग’ खातामा राखिएको रकमको ५० प्रतिशत निक्षेपको रूपमा चलाउन पाएकाले गत आवमा निक्षेप बढेको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए । त्यस्तै, बैंकले स्थानीय तहमा शाखा विस्तार गर्दा पनि त्यसको सकारात्मक प्रभाव निक्षेप संकलनमा परेको उनको भनाइ छ । ‘स्थानीय तहमा गएको रकम निक्षेपको रूपमा लिन पाएकाले निक्षेप वृद्धि भएको हो,’ उनले भने । 

यसैगरी, ग्लोवल आईएमई बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले निक्षेप संकलन अपेक्षा गरेअनुसार हुन नसके पनि बैंकले बोनस शेयर (१६ प्रतिशत) दिएकोले पूँजी बढ्न गएको र सो पूँजीलाई निक्षेपको रूपमा चलाउन सहज भएको बताए । बजारमा लगानीयोग्य पूँजी भएको अवस्थामा यसैबाट समेत कर्जा प्रवाह गरिएकोले वृद्धि भएको उनको तर्क छ । 

बैंकहरूले पछिल्लो समय आक्रामक रूपमा शाखा विस्तार गरेका कारण निक्षेप संकलन बढ्न गएको पूर्व बैंकर शशिन जोशीले औंल्याए । बैंकहरूको कूल निक्षेपको वृद्धिदर अझै १९–२० प्रतिशतको हाराहारीमा सीमित भएकाले कर्जा विस्तार चाहेअनुसार बढाउन नसकेको उनले बताए । ‘हाम्रो आन्तरिक स्रोतबाट योभन्दा बढी निक्षेप वृद्धि हुने अवस्था छैन । कर्जा प्रवाहको लागि थप स्रोत जुटाउन जरुरी छ । अब देशभित्रबाट सम्भव नहुने भएकाले बाह्य स्रोत जुटाउन जोड दिनु पर्‍यो । यसका लागि विदेशी लगानी भित्र्याउनु पर्‍यो,’ उनले भने । 

नेपाल राष्ट्र बैङ्कका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बैंकहरूले आफ्नो निक्षेप बढाउन दीर्घकालीन नीति ल्याउनु पर्ने बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)