ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीमालेख धितोमा ३१ अर्ब कर्जा प्रवाह

२ अर्ब ७१ करोड रुपैयाँ ब्याज आम्दानी

Aug 26, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । गत आर्थिक बर्षमा देशका १५ जीवन बीमा कम्पनीहरूले बीमालेख धितो राखेर बीमितहरूलाई रू. ३० अर्ब ७३ करोड कर्जा प्रवाह गरेका छन् । अघिल्लो आवको तुलनामा यो ३५ दशमलव ७३ प्रतिशतको वृद्धि हो । आव २०७४/७५ मा यस्तो कर्जा रू. २२ अर्ब ६४ करोड र आव २०७३/७४ मा रू. १२ अर्ब रहेको थियो । 

यसले यस्तो कर्जाको माग पछिल्ला वर्षहरूमा बढ्दै गएको पुष्टि गर्छ । साथै, कम्पनीहरूका लागि आम्दानीको नयाँ माध्यम पनि बनेको देखाउँछ । गत आवमा त्यस्तो कर्जाबाट उक्त कम्पनीहरूले रू. २ अर्ब ७१ करोड ४६ लाख ब्याज आम्दानी गरेका थिए ।

कम्पनीहरूले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासको वित्तीय विवरणअनुसार सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले रू. ११ अर्ब ८८ करोड ९८ लाख कर्जा प्रवाह गरेको छ । यसैगरी बीमालेख धितो राखेर धेरै कर्जा प्रवाह गर्ने कम्पनीहरूमा एलआईसी नेपाल, नेशनल लाइफ, एशियन लाइफ र राष्ट्रिय बीमा संस्थान पनि छन् । उनीहरू प्रत्येकले रू. एक अर्बभन्दा बढी कर्जा प्रवाह गरेको देखिन्छ । 

अहिले जीवन बीमा कम्पनीको संख्या बढ्नुका साथै ठूलो बीमांकमा बीमा गर्नेहरूको संख्या पनि बिस्तार हुँदै छ । त्यसको फलस्वरूप बीमालेख धितो राखेर प्रवाह हुने कर्जा बढ्दै गएको नेपाल लाइफ इन्स्योरेन्सका सहायक महाप्रबन्धक दिग्विजय सिंघलले बताए । उनले भने, ‘नेपाल लाइफबाट एउटा व्यक्तिले ४ करोड रुपैयाँभन्दा बढीसम्म यस्तो कर्जा लिएका छन् ।’

हाल नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालनमा छन् । तीमध्ये महालक्ष्मी लाइफ, प्रभु लाइफ, रिलायवल नेपाल र सानिमा लाइफ इन्स्योरेन्सले भने अहिलेसम्म यस्तो कर्जा प्रवाह गरेका छैनन् ।

बीमितले बीमा गरेको दुई बर्षपछि सम्बन्धित कम्पनीबाट यस्तो सुविधा उपभोग गर्न पाउने व्यवस्था छ । यस सुविधा अन्तर्गत बीमितले ‘सरेन्डर भ्यालु’ (समर्पण मूल्य) को ९० प्रतिशतसम्म कर्जा पाउन सक्ने प्रावधान छ । बीमितले सो अवधिसम्म भुक्तानी गरेको बीमाशुल्क, आर्जित बोनस, बाँकी बीमा अवधि लगायतका निर्धारित सुत्र प्रयोग गरेर ‘सरेन्डर भ्यालु’ निकालिन्छ । 

सामान्यतया कम्पनीहरूले सातदेखि १० प्रतिशतसम्मको व्याजदरमा यस्तो कर्जा प्रवाह गर्ने गरेका छन् । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले यस्तो कर्जाले बीमितलाई भैपरी आउने आर्थिक संकट समाधान गर्न सहज भएको बताए ।

यसका अतिरिक्त यस्तो कर्जाले बीमितहरूलाई साना तथा घरेलु व्यवसाय शुरू गर्न पनि सहज बनाएको बीमा कम्पनीको दावी छ । कतिपय बीमितले यस्तो कर्जा लिएर व्यवसाय शुरू गरेको र त्यसबाट हुने आम्दानीले बीमाशुल्क र कर्जाको किस्ता पनि तिर्ने गरेको कम्पनीहरू बताउँछन् । एक कम्पनीका प्रमुख कार्यकारी अधिकृत भन्छन्, ‘तर यस्तो कर्जाको मात्रा सानो हुने भएकाले ठूला व्यवसायमा लगानी गर्न सम्भव छैन । भैपरी आउने आर्थिक संकट र साना व्यवसायका लागि यस्तो कर्जा उपयुक्त हुन्छ ।’

यस्ता फाइदाका बीचमा यस्तो कर्जाका कारण बीमा पोलिसीहरू नबीकरण नहुने (ल्याप्स) समस्या भने देखिएको छ । कम्पनीहरूका अनुसार धितोमा राखेकामध्ये दुई प्रतिशत बीमालेख ल्याप्स हुने गरेका छन् । प्राइम लाइफ इन्स्यारेन्सका सीईओ मनोजकुमार भट्टराईले भने, ‘कर्जा लिएपछि बीमितलाई त्यसको किस्ता र बीमाशुल्क एकैपटक तिर्न गा¥हो हुन्छ । त्यसको कारणले पनि ल्याप्स हुने बीमालेखको संख्या बढ्दै गएको छ ।’

बीमालेख धितोमा कर्जा प्रवाह हुनु बीमाको सिद्धान्त अनुसार नै नभए पनि यस्तो व्यवस्थाले बीमितलाई बीमा गर्न हौस्याएको उनले बताए । ‘हामीले बीमितको बीमाशुल्क तिर्ने क्षमता अनुसार निजको बीमा गर्छाै । साथै, बीमा गर्नुको मुख्य उद्देश्य बीमितको भविष्यको आर्थिक सुरक्षणका लागि हो,’ भट्टराईले भने, ‘तर बीमितले शुरू बर्षहरूमा कर्जा लिएर किस्ता नतिर्दा पोलिसी नै ल्याप्स भएको छ । र, उनीहरू पनि बीमा सेवाबाट बञ्चित हुनुपरेको छ ।’

यस्तो अवस्थामा बीमालेख धितोमा प्रवाह हुने कर्जा व्यवस्थित बनाउनुपर्ने तर्क बीमा विज्ञहरूको छ । दुई बर्षमै यस्तो कर्जा लिन पाउने व्यवस्थाले कम्पनीसँगै बीमितलाई पनि नोक्सानी हुने भएकाले कर्जा लिन पाउने न्यूनतम अवधि बढाउन आवश्यक रहेको उनीहरू बताउँछन् ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)