पर्वत । कुश्मा नगरपालिकाले जिल्लाको कुश्माबजारमा बसपार्क निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको छ । नगरप्रमुख रामचन्द्र जोशीले रू. २ करोडको लागतमा डीपीआर तयार भएको जानकारी दिए ।
कुश्मामा तीन दशकअघि पक्की सडक बने पनि बसपार्क भने व्यवस्थित छैन । बसपार्क नहुँदा सडकमै यात्रु चढाउने र ओराल्ने गरिँदै आइएको छ । नगरपालिकाले गत वर्षदेखि बसपार्क निर्माणको योजना बनाएको थियो । ‘यो वर्ष नीति तथा कार्यक्रममै बसपार्क निर्माणलाई प्राथमिकतामा राखेका छौं,’ उनले भने, ‘यो वर्ष निर्माणको काम थालनी हुन्छ ।’
बसपार्क निर्माणको योजना बनाएको नगरपालिकाले सबै तयारी गरेर सरकारसँग बजेट माग गरेको छ । बसपार्कसँगै सिटीहल बनाउने योजना समेत रहेको नगरका प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनीले जानकारी दिए । त्यसका लागि बान्दे्रबिँडी चौरमा रहेको सार्वजनिक जग्गा छनोट भएको उनले बताए ।
बागलुङ, म्याग्दी र मुस्ताङको प्रवेशद्वार भएकाले कुश्मामा सवारीचाप अत्यधिक छ । तर, बसपार्क नहुँदा ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुँदै आएको छ । पर्वत हुँदै बागलुङ, म्याग्दी र मुस्ताङसम्म दैनिक २ हजार बढी सानाठूला सवारी चल्ने ट्राफिक कार्यालयले जानकारी दिएको छ । बसपार्क बनाउन २०६५ सालदेखि नै प्रयास हुँदै आएको थियो । तर बजेट जुट्न नसक्दा योजना सफल हुने सकेको थिएन ।
शिवालय धार्मिक विकास समितिकी तत्कालीन अध्यक्ष मानकुमारी गिरीका अनुसार २०६५ सालमा गुठीको १७ रोपनीमध्ये १२ रोपनी जग्गा बसपार्कका लागि छुट्याइएको थियो । जिविसले २०६६ सालतिर जग्गा व्यवस्थित गरी बसपार्क बनाउन १ करोड ५९ लाखको लागत इस्टिमेट तयार गरेको थियो ।
२०६५ सालमै डेढ करोडको अनुमान गरेर बजेट माग्दा जिविसले रू. १३ लाख मात्रै दिएको थियो । त्यसबाट बसपार्कसम्म जाने कच्ची सडक, ग्याबिन पर्खाल निर्माण र जग्गा सम्याउने काम भयो । त्यसपछि काम अगाडि बढ्न सकेको थिएन । अहिले नगरपालिकाले काम अगाडि बढाएपछि तीन दशकदेखिको पहल सफल हुने जनविश्वास छ ।