ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुनको मूल्य बढ्दै, कारोबार घट्दै : ५० केजी गहना बिक्ने सिजनमा ५ केजी मात्र विक्री

Aug 27, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । सुनको मूल्य बढेर प्रतितोला ७३ हजार ५०० रुपैयाँ पुगेको छ भने कारोबार चाहिँ घट्दै गएको छ । सुनका गरगहना प्रशस्त विक्री हुने तीजको मुखमा पनि अघिल्ला वर्षको तुलनामा १० प्रतिशत मात्र कारोबार भइरहेको छ । उल्टो, ग्राहकहरू नै गरगहना फिर्ता गर्न (बेच्न) पसल धाइरहेका छन् ।

अन्तरराष्ट्रिय बजारमा नै सुनको मूल्य बढेपछि नेपालमा पनि यसको मूल्य बढेको हो । सोमवार नेपाली बजारमा प्रतितोला सुनको मूल्य ७३ हजार ५०० रुपैयाँ पुगेको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला ८६० रुपैयाँ पुगेको छ । नेपालमा सुनको मूल्य अन्तरराष्ट्रिय बजार अनुसार नै निर्धारण हुन्छ । अमेरिका र चीनबीच जारी व्यापार युद्ध लगायतका कारण विश्व अर्थतन्त्र तथा शेयर बजारमा ह्रास आएको छ । 

हालै चीनले अमेरिकादेखि आउने सामानमा भन्सार दर बढाएको छ । यसले दुई देशबीचको व्यापार युद्धलाई चर्काउँदै लगेको छ । यस अवस्थामा लगानीकर्ताहरूले लगानी सुरक्षित गर्न सुन किनेर होल्ड गर्ने गरेका छन्, जसका कारणले विश्व बजारमा नै सुनको मूल्य बढेको छ । 

मुलुकभर २२ हजारभन्दा बढी सुनचाँदी पसल छन् । तीजको समयमा ती पसलहरू मार्फत दैनिक ५० केजीभन्दा बढी सुनका गरगहना विक्री हुने गथ्र्यो । तर, अहिले मुस्किलले दैनिक ५ केजी मात्र सुन खपत हुने गरेको छ । गरगहना विक्री हुने सिजनमा पनि सुनको कारोबार नराम्ररी खस्किँदै गएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष तेजरत्न शाक्यले बताए । 

यस्तो अवस्थामा उल्टै गरगहना फिर्ता गर्न आउने ग्राहकले गर्दा व्यवसायीहरू थप हैरान भएका छन् । मूल्य बढेको अवस्थामा नाफा हुने भएपछि ग्राहकहरू गरगहना फिर्ता गर्न आउनु स्वाभाविक नै हो । तर, यसले व्यवसायीहरूलाई भने अप्ठ्यारो पारेको छ । ‘गरगहना फिर्ता नलिऊँ भने ग्राहक भड्किने डर छ । फिर्ता लिऊँ भने पनि विक्री हुने होइन,’ राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका अध्यक्ष गणेश लकान्द्रीले भने, ‘ग्राहक जोगाउन ऋण लिएर भए पनि गरगहना फिर्ता लिन बाध्य छौं ।’ 

यस्तै, महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले सुनको कारोबार घट्दै जाँदा क्यापिटल क्रन्च (पूँजी अभाव) को सम्भावना रहेको बताए । ‘कारोबार दिनदिनै घट्दै गएको छ । गरगहना फिर्ता गर्ने ग्राहक पनि आइरहेका छन्,’ उनले भने, ‘बजारको यस्तो ट्रेन्ड भएको अवस्थामा क्यापिटल क्रन्चको एकदमै उच्च छ ।’ घरभाडा र कर्मचारीलाई तलब दिन पुग्ने आम्दानी पनि नभएको उनको भनाइ छ । 

पहिले काठमाडौं लगायतका मुख्य शहरका सुनचाँदी पसलमा पहिले निकै चलपहल हुने गथ्र्यो । तर, हिजोआज सुनचाँदी पसलहरू सुनसान बन्दै गएका छन् । ग्राहकसँग बोल्न फुर्सद नपाउने पसलका कर्मचारी पनि अहिले फुर्सदिला भएका छन् भने गरगहना बनाउने कर्मचारीहरू छुट्टीमा छन् । न्यूरोडस्थित बराह ज्वेलरीका सञ्चालक समिति सदस्य विकास लामगादेले भने, ‘पहिलो यो समयमा पसलमा गरगहना किन्ने ग्राहकको भीड हुने गथ्र्यो । तर, अहिले सुनसानजस्तै छ ।’

बैंकहरूमा ६३६ केजी सुन
बजारमा सुन खपत हुन छोडेपछि बैंकहरूमा ६३६ केही सुन थन्किएको छ । असार मसान्तसम्म बैंकहरूमा ७४५ केजी सुन थियो, जसबाट साउन १ गतेयता १०९ केजी सुन व्यवसायीहरूले किनेका छन् । नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले भने, ‘सामान्य अवस्थामा व्यवसायीहरूले बैंकबाट मासिक ६०० केजी सुन लिने गर्थे । अहिले मुश्किलले सय केजी सुन किनेका छन् ।’ विक्री हुन छोडेपछि बैंकहरूले सुन आयात गर्न पनि केही समयका लागि बन्द गरेको उनले बताए ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)