काठमाडौं । ७२ दशमलव ५ किलोमीटर लामो काठमाडौं–तराई/मधेश द्रुतमार्ग’ साढे ३ वर्षसम्ममा सम्पन्न गरिने नेपाली सेनाले घोषणा गरेको छ । बहुप्रतीक्षित द्रुतमार्ग आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) र प्रस्थानविन्दु खोकनाको रेखांकनमा देखिएको समस्या समाधान गर्न समय लागेपछि समयावधि पनि थप भई २०७९ को मध्यसम्म पुगेको हो ।
सेनाले बुधवार आयोजित पत्रकार सम्मेलनमा नयाँ डीपीआरबारे जानकारी दिँदै उक्त अवधिमा निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाउने दाबी गरेको हो । सरकारले २०७४ साउनमा आयोजना सेनालाई हस्तान्तरण गर्दै ४ वर्षभित्र अर्थात् २०७८ साउनसम्ममा सम्पन्न गर्न निर्देशन दिएको थियो । उक्त सडक आयोजनाका प्रमुख तथा प्राविधिकतर्फका सहायक रथी शरदलाल श्रेष्ठले मूल्य अभिवृद्धि कर (भ्याट)बाहेक रू. १ खर्ब ५५ अर्बमा द्रूतमार्ग बन्ने जानकारी दिए ।
अघिल्लो डीपीआरको प्रारम्भिक लागतभन्दा नयाँ डीपीआरमा आयोजनाको लागत बढेको छ । पत्रकार सम्मेलनमा श्रेष्ठले भने, ‘पहिला एउटा मात्रै सुरुङमार्ग, मुआब्जा दिनु नपर्ने स्थिति र बीमाको पक्षलाई नसमेट्दा लागत कम थियो ।’ नयाँ डीपीआरमा पुल, दुई थप सुरुङमार्ग र मुआब्जा दिनुपर्ने स्थितिका साथै मूल्यवृद्धिका कारण पनि आयोजनाको लागत बढेको हो ।
सेनाका एक अधिकारीका अनुसार द्रुतमार्गसँगसँगै त्यही मार्गको छेउछेउ भएर पेट्रोलियम पाइप लाइन, अप्टिकल फाइबर, खानेपानी, विद्युत् प्रसारण लाइनजस्ता पूर्वाधारहरू ल्याउने योजना बनाइएको छ । नेपाल आयल निगम, नेपाल टेलिकमका अधिकारीले भने प्राविधिक र आर्थिक रूपमा सम्भव भएसम्म त्यही द्रुतमार्ग प्रयोग गर्दै यस्ता संरचना निर्माणका लागि प्रारम्भिक छलफल भइरहेको अभियानलाई बताए ।
डीपीआरले प्रारम्भिक लागत रू. १ खर्ब ५५ अर्ब तोकेको भए पनि निर्माणको क्रममा आवश्यक लागत बढ्न सक्ने सेनाले बताएको छ । डीपीआर स्वीकृत भइसकेपछि सेनाले पहिलो चरणमा उक्त आयोजनामा टेवा पर्खाल लगायत सामान्य काम गर्ने र दोस्रो चरणमा सडक कालोपत्र, १६ ओटा विशेष पुल र ३ ओटा सुरुङमार्ग निर्माण गरिने श्रेष्ठले बताए ।
सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले डीपीआरमा सबै संरचना समेटेको बताए । रक्षा मन्त्रालयका उपसचिव मनोज आचार्यले अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेकाले आयोजनाको काम तोकिएकै समयमै सम्पन्न हुने दाबी गरे ।
चार लेनको हुने द्रुततमार्गमा एशियाली विकास बैंक (एडीबी)ले पहिला गरेको अध्ययन अनुसार एउटा मात्रै सुरुङमार्ग र जग्गाको मुआब्जा, बीमाका विषयहरू नसमेट्दा आयोजनाको लागत रू. १ खर्ब १२ अर्ब थियो । यस्तै उक्त डीपीआर बनाउनका लागि सेनाले रू. ७ करोड ४५ लाख खर्च गरेको छ । डीपीआर कोरियन परामर्शदाता सुसुङ इन्जिनीयरिङ एन्ड कन्सल्टेन्सीले बनाएको थियो ।
द्रुतमार्गको प्रस्थान विन्दु खोकना नै हुने भए पनि नयाँ डीपीआरले त्यहाँ भएको सांस्कृतिक तथा ऐतिहासिक सम्पदा जोगाउँदै त्यसैको दक्षिणपट्टि १५० मीटरबाट यसको प्रस्थान विन्दु बनाउने भएको छ । यस्तै सुरुङमार्ग बन्ने लेनडाँडामा पनि केही रेखांकन परिवर्तन गरिएको सेनाले बताएको छ ।
यसैगरी उक्त द्रुतमार्गमा प्रवेश गर्न तीनओटा टोल प्लाजा (खोकना, बुदुने र निजगढ) तोकिएको छ । यस्तै अन्य संरचनाहरूमा प्यासेन्जर अन्डरपास १२, भेहिकल अन्डर पास ५, प्यासेन्जर ओभर पास १, भेहिकल ओभर पास ४ र बक्स/पाइप कल्भर्टस् १४१ ओटा निर्माण हुनेछन् । उक्त दूरी पार गर्न १ घण्टा २ मिनेट लाग्ने उक्त द्रुतमार्गमा ११ ओटा बेलिब्रिज बन्ने भएका छन् ।