धनगढी । एशियाली विकास बैंक (एडीबी)को मिशन टोली, क्षेत्रीय शहरी विकास आयोजना र धनगढी उपमहानगरपालिकाबीच सोमवार छलफल भएको छ । धनगढीमा लागू भएको क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन विषयमा तीनै पक्षबीच छलफल भएको हो । एडीबीको टोली कार्यप्रगति हेर्न र बुभ्mन छलफलमा सहभागी भएको बताइएको छ ।
क्षेत्रीय शहरी विकास आयोजना र त्यसको आन्तरिक कार्यप्रगतिको विषयमा समीक्षा भएको उपमहानगरपालिकाले बताएको छ । ‘कार्यक्रममा कार्यप्रगतिको समीक्षाका साथै चालू आर्थिक वर्षमा काम कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा समेत छलफल भयो,’ धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर बडले भने ।
धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टका अनुसार कार्यक्रममा परियोजना कार्यान्वयनका जटिलता समाधानका लागि आवश्यक सहकार्य र समन्वयको खाँचो समेत औंल्याइएको थियो । यसअघि धनगढी उपमहानगरपालिकाभित्र ४२ किलोमिटर सडक विस्तारका लागि १ अर्ब ३५ करोड छुट्ट्याइएको थियो । तर अहिलेसम्म फोहोरमैला व्यवस्थापनका लागि जग्गाको टुंगो नै लागेको छैन । यसले धनगढीमा यो आयोजना नै असफल हुने हो कि भन्ने चिन्ता नगरवासीमा छ ।
क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत धनगढी उपमहानगरपालिकामा हाल सामाजिक तथा पूर्वाधार विकासका क्षेत्रमा काम भइरहेको छ । यो आयोजना अन्तर्गत धनगढीमा विभिन्न आकारका २३ सडक निर्माण हुँदै छन्, जसमध्ये पहिलो चरणमा ७ सडक निर्माण गरिनेछ ।
दोस्रो चरणमा बाँकी सडक निर्माण हुने बताइएको छ । क्षेत्रीय शहरी विकास आयोजना, कैलालीको धनगढीसहित गोदावरी नगरपालिका (अत्तरिया) तथा कञ्चनपुरको भीमदत्त र शुक्लाफाँटा नगरपालिकामा लागू भएको छ । यद्यपि अपेक्षित प्रगति नदेखिएको अधिकारीहरू बताउँछन् ।